News

११, जेठ, चितवन । दुलर्भ एक सिंगे गैँडा लगायत बाघ, भालु र आहार प्रजाति जोगाउन चितवनमा पहिलोपटक सामुदायिक वनमा माटोको ढिस्को (तटबन्ध) निर्माण गरिएको छ । पर्यटकीय नगरी सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले बाढीको जोखिमबाट गैँडा जोगाउन वनका दुई स्थानमा माटोको ढिस्को बनाएको हो । वि.सं. २०७४ सालमा आएको बाढीमा बगेर १५ वटा गैँडा भारत पुगे । आहार प्रजाति बाढीमै परेर मरे । भारत पुगेका १५ मध्ये ११ वटा गैँडा सरकारले फिर्ता ल्यायो । उति बेला बगेका अन्य चार वटा गैँडाको अवस्था अझै अज्ञात छ । चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकार विगतको तुलनामा कम भए पनि संरक्षणमा नयाँ–नयाँ चुनौती देखिँदै छन् । मानव–वन्यजन्तुबीचको द्वन्द्व र बाढीको जोखिमले संरक्षणमा जटिलता बढ्दै जान थालेपछि यस्ता काम गर्नु परेको बाघमारा सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनु भयो । बाढी आउँदा वन्यजन्तुले ज्यान जोगाउने गरी सुरक्षित स्थान निर्माण गरिएको अध्यक्ष तामाङको भनाइ छ । सौराहा र आसपासका क्षेत्रमा बाढी आउँदा पानीको सतह पाँच फिटसम्म पुगेको यकिन गरी सात फिट अल्लो माटोको ढिस्को (तटबन्ध) बनाइएको तामाङले जानकारी दिनुभयो ।

 

गैँडाको मुख्य बासस्थान रहेको सामुदायिक वनको मुख्य भाग ठूलोचौर र बूढीराप्ती नदीकिनारको अंगरी दहमा एक–एकवटा माटोको ढिस्को निर्माण गरिएको छ । प्रति ढिस्को तीन कठ्ठा १५ धुरमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको छ । प्रति ढिस्कोमा दुई हजार घनमिटर माटो प्रयोग गरिएको छ । दुईवटा ढिस्को निर्माणका लागि करिब ११ लाख रूपैयाँ लगानी गरिएको छ । बाढीले बगाएर ल्याएको पाँगो माटोले पुरिएको सिमसार क्षेत्रबाट ढिस्को निर्माणका लागि माटो निकालिएको छ ।

सिमसार क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन पाँगो माटो निकालेर ढिस्को निर्माण गरिएको वनका अध्यक्ष तामाङले बताए । वन्यजन्तुको आहार व्यवस्थापनका हिसाबले सिमसार महत्वपूर्ण अङ्ग हो ।

वनले निर्माण गरेको ढिस्कोमा अहिले पनि वन्यजन्तु आराम गर्न थालेका छन् । भारतको काजीरंगा राष्ट्रिय निकुञ्ज र बर्दिया गुलरीयाको कृष्णसार संरक्षित क्षेत्रमा गरेको कामको अनुसरण गरी चितवनमा पहिलोपटक सामुदायिक वनको कोर क्षेत्रमा वन्यजन्तुका लागि सुरक्षित स्थान निर्माण गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

पर्यापर्यटनबाट राम्रो आम्दानी गर्दै आएको यस सामुदायिक वनले वन व्यवस्थापन, बासस्थान र घाँसे मैदान व्यवस्थापन, मानव–वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, गरिबी निवारण, बालीनाली राहत वितरणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । आधुनिक मेसिन प्रयोग गरी घाँसे मैदान व्यवस्थापन, दुईवटा सोलार पम्प र दुईवटा मोटर पम्पको प्रयोग गरी सिमसारमा पानी व्यवस्थापन गरिएको सामुदायिक वनका सचिव कृष्ण भट्टले जानकारी दिनुभयो ।

मानव–वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण, बालीनाली राहत, पशुचौपायाको बिमा, सुत्केरी भत्ता, मृत्यु हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा वार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमूलक तालिम दिँदै आएको छ ।

 

वार्षिक साढे दुई करोड आम्दानी गर्दै आएको सो सामुदायिक वनले उपभोक्तालाई वनप्रतिको निर्भरता हटाउन उपभोक्तामैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ । सो सामुदायिक वन गैँडा, बाघ, भालु, चितुवा, मृग प्रजाति, घडियाल र मगर गोहीको मुख्य बासस्थान हो । सौराहामा आउने अधिकांश पर्यटक सो वनमा हात्ती सफारी र डुङ्गा सयर गरेर रमाउने गरेका छन् । सामुदायिक वनले वन्यजन्तु जोगाउन माटोको ढिस्को निर्माणलाई निकुञ्जले सकारात्मकरुपमा लिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सामुदायिक वनले निर्माण गरेको माटोको ढिस्कोले डुबान हुने क्षेत्रमा वन्यजन्तु जोगाउने बताउनु भयो । ‘बाघमारा सामुदायिक वनले राम्रो योजना अघि सारेको र यो योजना संरक्षणका हिसाबले यो प्रभावकारी हुने तिवारीको भनाइ छ ।

११, जेठ, चितवन । जेठ १२ गतेदेखि १४ गतेसम्म हुने नेकपा (एमाले) चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जनाएको छ । ७६१ प्रतिनिधि सहभागी हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । भरतपुर महानगरपालिका ४ को ग्यालेक्सी रिसोर्टमा हुने उद्घाटन समारोहमा एमालेका केन्द्रीय नेताहरुको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले जानकारी दिए । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ । अधिवेशनमा जिल्लाका ७ पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् । एमाले चितवनका अध्यक्ष न्यौपानेले नयाँ नेतृत्व चयनमा अधिकत्तम सहमतिको प्रयास गरिने र सहमति हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेर जाने बताए । अध्यक्षका लागि वर्तमान अध्यक्ष न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले इच्छा जाहेर गरेका छन् । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समितिसहित विभिन्न उपसमिति बनाइएको छ । अधिवेशनको अवसरमा १२ गते बिहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएका छन् ।

 

चितवन, ११ जेठ । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा। तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा।रेवन्त भट्टराई, डा।सुविर सिंह, उपप्राध्यापक डा।अनन्त दाहाल र डा।विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो ।

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा रु।१६।५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर रु।१५।३३ पाउने गरेका छन् । लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । उहाँका अनुसार उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, उद्योग संघ चितवनका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, भरतपुर महानगरपालिका वडा नं। २ का अध्यक्ष मनोज रानाभाट, पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक बब्लु ठाकुर, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक इन्दु राय यादवको उपस्थितिमा छलफल गरिएको हो ।

यसैगरी नेपाल पोल्ट्री महासंघका महासचिव दिनेश मिश्र, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, नेपाल ह्याचरी उद्योग संघका बागमती प्रदेश अध्यक्ष ज्ञानु विसुराल लगायत सरोकार पक्षबीच छलफल भएको थियो ।

कार्यक्रममा डा। अनन्त दाहालले अण्डाको लागत मूल्य रु।१६।५६ हुनुका कारणबारे प्रकाश पार्नुभएको थियो । फर्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक व्याज, औषधि, मजदुर लगायतलाई समेटेर लागत मूल्य तय गरिएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा सहभागीहरुले अब पनि लागत मूल्यभन्दा कममा अण्डा बिक्री भएमा नेपालमा पोल्ट्री क्षेत्र समाप्त हुने भन्दै बजारीकरणमा जुट्न सुझाव दिएको संघका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले हालको अण्डाको बजारको अवस्था र उत्पादनको बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार यस अघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ ।

नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताउनुभयो । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उहाँको भनाई छ ।

Subcategories