News

चितवन, जेठ ३० । तस्विर कोमल चन्द्र भगत । 

चितवनको भरतपुरमा जिवित पशुपन्छी ढुवानी विरुद्धको दिवश मनाइने भएको छ । एनिमल नेपालको आयोजनामा यही जेठ ३२ गते विभिन्न कार्यक्रम गरी दिवश मनाउन लागिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

नेपालको कानुनमा उल्लेखित पशु निर्देशिका पालनाको दबाब स्वरुप भरतपुरको चौविसकोठीमा कालोपट्टी बाधेर विरोध जनाउनुको साथै सांस्कृतिक कार्यक्रम समेत गरिने एनिमल नेपाल फिल्ड कार्यालय चितवनका रामचन्द्र आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार ढुवानीको क्रममा पशुलाई शारीरिक तथा मानसिक रुपमा चरम यातना दिने गरिएको छ । सुदुरपश्चिमको महेन्द्रनगरबाट राजधानीसम्म ढुवानी गर्दा पशुलाई विश्राम गर्न नदिई यात्रा गराउने गरिएको उहाँले बताउनुभयो । पशु ढुवानी निर्देशिकामा आठ घण्टाको यात्रापछि पशुलाई ओरालेर दानापानी दिनुपर्ने विषय उल्लेख गरिएको छ । तर, २४ घण्टासम्म पनि निरन्तर यात्रा गराउने गरिएको आचार्यको जिकिर छ । पशु क्वारेन्टाइनका कर्मचारीले समेत पशु ढुवानी निर्देशिकालाई कार्यान्वयन नगरेको उहाँले बताउनुभयो । व्यवसायीको निर्देशनमा कर्मचारी लागेको उहाँको आरोप छ ।

 

जेठ २७, चितवन । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको अध्यक्ष भरतप्रसाद खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष खतिवडासहितको सत्र सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षहरु मुकुन्दप्रसाद गौतम, कृष्णप्रसाद संजेल, गिरिजापति गुप्ता, निर्मलप्रसाद बाँस्तोला, उमाकान्त ढुंगेल, बाबुराम भुषाल, महासचिवमा विनोदराज पाण्डे, सचिवमा कृष्णप्रसाद हुमागाई, सहसचिवमा सूर्यबहादुर भण्डारी र कोषाध्यक्षमा दिपक गिरी चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा पदमबहादुर थापा, हरिशरण अधिकारी, मोहम्मत याकुव, रतन महतरा, अमृतबाबु भट्टराई, रामप्रसाद कंडेल निर्वाचित भएका हुन् । त्यस्तै, गण्डकी प्रदेश संयोजकमा राजेन्द्र गिरी, कोशी प्रदेश संयोजकमा खगेन्द्र महतो, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिदत्त भट्ट, कर्णाली प्रदेश संयोजकमा कलबहादुर महतरा, बागमती प्रदेश संयोजकमा काशीराम सापकोटा, लुम्बिनी प्रदेश संयोजकमा अमृतबाबु भट्टराईलाई चयन गरिएको छ ।

२७ जेठ, चितवन ।
पश्चिम चितवनको पटिहानीमा ‘स्टोन पार्क’ सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका वडा नं. २२ मा राप्ती नदीको सीमा क्षेत्रमा पार्क निर्माण गरिएको हो। वडा नं. २२ को ५० लाख, महानगरपालिकाको ३० लाख र नारायणी नदी व्यवस्थापन आयोजनाको ४० लाख रुपैयाँ बजेटमा स्टोन पार्क तयार भएको हो।चितवन राष्ट्रिय निकुञ्ज नजिकै ढुंगाबाट आकर्षक संरचनाहरु निर्माण गरेर पार्क बनाइएको छ।

राप्ती नदी र केरुङ घोलले काटेको जमिनलाई उकासेर मनोरम पार्क निर्माण गरिएको भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

पश्चिम चितवनको पटिहानी क्षेत्रमा आउने पर्यटकहरुले डुंगा चढ्ने ठाउँ भएको र यहाँबाट चितवन निकुञ्जको जंगल, वन्यजन्तुसहितको प्राकृतिक मनोरम दृष्यको अवलोकन गर्न मिल्ने भएकाले ‘खेर गएको जमिनको उपयोग गरेर स्टोन पार्क बनाएको अध्यक्ष महतोले बताउनु भयो ।

आफुले दक्षिण कोरिया भ्रमणमा जाँदा स्टोन पार्कको अवलोकन गरेपछि आफ्नो ठाउँमा पनि ढुंगै ढुंगाको पार्क बनाउने परिकल्पना गरेको बताउनुभयो ।

पार्कमा पटिहानी उपभोक्ता समितिले एउटा भ्यु टावर बनाएको छ। ढुंगा छापेर वाकिङ ट्रेल, सेल्फी पोइन्टहरु बनाइएको छ। वडाध्यक्ष महतोले पार्कमार्फत हुने आम्दानी व्यवस्थापनमा खर्च गरेर बाँकीले बोटे समुदायको जीविकोपार्जनमा सहयोग गर्ने बताउनुभयो । पार्क नजिकको क्षेत्रमा बोटे समुदायको बसोबास रहेको छ। पार्कको उद्घाटनको अवसरमा रैथाने खाना महोत्सव पनि गरिएको थियो। उद्घाटन कार्यक्रममा मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ मनाइरहेको बेलामा नयाँ गन्तव्यको रुपमा स्टोन पार्क निर्माण गरि सञ्चालनमा ल्याउनुले पर्यटकिय हिसाबले गन्तव्य थपिएको बताउनु भयो ।
पटिहानीमा निर्माण गरिएको अम्रेला स्ट्रिट अहिले आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छन् ।

Subcategories