News

चितवन, असोज १ ।  तस्विर: कोमल चन्द्र भगत । 

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छ वटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोज भित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उहाँले बताउनुभयो । उहाँका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् । प्रमुख चौधरीले भन्नुभयो “एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।” यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् । विसं २०७९ मा ६ छावा जन्माएका थिए । बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने जनाइएको छ । उहाँका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, ध्रुवे र मकुनाका हुन् । खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उहाँले जानकारी दिनुभयो । जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।रासस

 

असोज १ , चितवन । भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो । जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन राखिएको अस्पतालका प्रमुख एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेले बताउनु भयो । स्क्रीन हरेर विरामीलाई समय कटाउन सहज हुने उहांको भनाइ छ ।

साथै सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते बिरामीको उपचारमा सहज हुने उहांले बताउनु भयो। यसअघि सिटि स्क्यान नहुँदा गम्भिर प्रकृतिका विरामीको सिटि गर्न बाहिर लैजानुपर्ने बाध्यता यसले हटाएको छ । त्यस्तै अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अनिल भट्टराईले अस्पतालमा सिटी स्क्यान जडान भए संगै ट्रमा सेन्टर पूर्ण भएको बताउनु भयो । यस मेशिनले चोटपटक र दुर्घटनाका बिरामीको उपचारमा सहज हुने उहांको भनाइ छ ।

 

 

रत्ननगर , भदौ २७ ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा महिला उद्यमीका लागि २ दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघमा आवद्ध महिलाहरुका लागि बिहिवारबाट तालिम सुरु भएको हो ।

शुक्रबार सम्म चल्ने तालिमको उद्‌घाटन सत्रमा बोल्दै रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा नेतृत्व गर्नको लागि सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको बताए। गिरीले महिलाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै उत्कृष्ट र उदाहरणीय बन्नको लागि आग्रह गरे ।

पत्रकार रामकान्त पौडेलले सहजीकरण गर्ने तालिमको उद्घाटन सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र आचार्य,रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी प्रवद्र्धन समितिका संयोजक लक्ष्मी श्रेष्ठ कर्माचार्य लगायतको उपस्थिती रहेको थियो ।

Subcategories