बैशाख २९, चितवन ।
तस्विर : कोमल चन्द्र भगत
चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीहरुले सौराहा भ्रमण गर्न कर्णाली प्रदेशबासीहरुलाई निन्ता दिएका छन् । स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवनको नेतृत्वमा सुरु भएको घुमौ सौराहा अभियान लिएर सुर्खेत पुगेको टोलीले हात्ती चढेर गैंडा हेर्न सौराहा आउन कर्णाली प्रदेशबासीलाई निम्ता दिएका हुन् । अभियानमा सहभागी टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल सहित सम्पूर्ण प्रदेशबासीलाई सौराहा भ्रमणको निम्ता दिइएको संघका महासचिव महेश खनालले जानकारी दिए । सौराहा सहित चितवनको पर्यटनसंग कर्णालीलाई जोडेर दुबै प्रदेशमा पर्यटन विकासको लागि प्रर्वद्धनात्मक कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा मुख्यमन्त्री यामलाल कंडेलले सौराहा र कर्णालीका पर्यटकीय स्थलहरुलाई जोड्न आग्रह गर्दै कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको बताए । कर्णालीका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा रहेको बताउदै सौराहा आउने पर्यटकलाई कर्णाली ल्याउने गरी संस्थागत सम्बन्ध स्थापित गर्न मुख्यमन्त्री कंडेलले प्रस्ताव गरे । उनले पर्यटन व्यवसायीहरुलाई कर्णालीमा व्यवसाय विस्तार गर्न आग्रह गर्दैै कर्णालीमा आउने लगानीकर्तालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा क्षेत्रीय होटल व्यवसायी संघ चितवन–सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले कोरोनापछिको समयमा स्वदेशी पर्यटकको संख्यामा आएको गिरावटले उद्योग प्रभावित भएको भन्दै सौराहाको प्रवद्र्धन गर्न यो अभियान सञ्चालन गरिएको बताए । सौराहा पर्यापर्यटन र साँस्कृतिक हिसाबले आकर्षक गन्तव्य रहेको बताउँदै अध्यक्ष पाण्डेले सौराहा घुम्नका लागि कर्णालीवासीलाई आग्रह गरे । उनले कर्णाली प्रदेशमा पनि पर्यटन अपार संभावना रहेको चर्चागर्दै सौराहा र कर्णालीलाई जोड्ने योजना बनाउने प्रतिबद्धता जनाए । अध्यक्ष पाण्डेले नेपाल आउने कुल पर्यटकमध्ये १० प्रतिशत मात्रै कर्णाली ल्याउन सके पनि कर्णालीको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने दाबीगरे । कर्णालीका पर्यटन व्यवसायीहरूसँग सहकार्य गर्दै काम गर्न आफूहरु तयार रहेको उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका पर्यटन व्यावसायीहरु अभियानको साथमा रहेको प्रतिबद्धता जनाए । उनले कर्णालीको प्रर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्न पनि आग्रह गरे । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले देशको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको सहभागिताबाट मात्रै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । पर्यटन तथा जलविद्युत क्षेत्रबाट आन्तरिक राजस्व संकलनमा सरकारलाई प्राथमिकता दिन आग्रह गरे । रेवान सौराहाका पूर्व अध्यक्ष राजन भट्टले आन्तरिक पर्यटनको विकासको लागि तीनै तहको सरकारले चासो दिनुपर्नेमा जोड दिए । क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका उपाध्यक्ष तथा अभियानका संयोजक गुणराज थपलियाले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मुख्य प्रवेशद्वार रहेको भन्दै सौराहामा हात्ती चढेर गैंडा हेर्न सकिने बताए ।
सौराहामा हाल १५० भन्दा बढी होटल, १०० वटा रेस्टुरेन्ट, ९ हजार बेड क्षमता, ठूलो संख्यामा जिप सफारी सेवा, सरकारी तथा निजी गरी ११६ वटा हात्ती र एक हजारदेखि २५०० क्षमताका सभाहलहरू रहेको उनले जानकारी दिए । बैशाख २५ गतेबाट सुरु भएको घुमौ सौराहाको अभियान तीन प्रदेशमा पुग्ने छ । पहिलो बद्रिया, दोस्रो दिन महेन्द्रनगर र तेस्रो दिन सुर्खेत पुगेर सौराहा भ्रमण गर्न आउन निम्ता दिएको हो । अभियान अन्तर्गत पश्चिम नेपालको यात्रा ३० गते सम्म जारी रहेको छ । वि।सं। २०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको घोषणा भएर २०३१ साल देखि चितवन, सौराहा र मेघौली क्षेत्रमा टेन्टबाट पर्यटन व्यवसाय विकास र प्रवद्र्धनको सुरुवात भएको इतिहास छ । सौराहामा थारु संस्कृति झल्कने कटेज शैलीका होटेलहरूको साथै पश्चिमी शैलीको होटल र रिसोर्टहरू, रेस्टुरेन्टहरू, इन्टरनेट क्याफेहरू, र उपहार पसलहरूले भरिएको सानो शान्त शहरमा परिणत हुँदै गएको छ । सौराहा संग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटे बाघ, दुर्लभ एक सिंगे गैंडा, भालु, चितुवा, मगर गोही, घडियाल गोही, गौर गाई, निलगाइ, जंगली हात्ती र बाँदरहरू र सयौं प्रजातिका चराहरू र पुतलीहरू छन् । सौराहामा पर्यटक भित्र्याउन हरेक बर्ष चितवन हात्ती तथा पर्यटक महोत्सव र सौराहा फुड फेस्टिबल आयोजना हुँदै आएको छ ।