सविना लामिछाने, वैशाख २८ , चितवन ।
गोरखा चितवन सम्पर्क समाजको आयोजनामा चितवनका ३० जना पत्रकारहरुको सहभागितामा एक दिने गोरखा जिल्ला भ्रमण कार्यक्रम सम्पन्न भएको छ । भ्रमणले गोरखाको ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय सम्भावनाको जगेर्ना गर्दै भ्रमण वर्ष २०८२ (सन् 2025) को प्रचार–प्रसारमा थप उर्जा थपेको छ ।
भ्रमणको सुरुवात गोरखाली जनआस्थाको केन्द्रविन्दु गोरखाकालिका मन्दिर दर्शन तथा पूजा–आराधनाबाट गरिएको थियो । मन्दिरको भ्रमण पश्चात टोलीले गोरखा नगरपालिका र नेपाल पत्रकार महासंघ गोरखा शाखासंग आयोजना गरीएको अनौपचारीक अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको थियो ।

अन्तरक्रियाका प्रमुख वक्ता गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय उपाध्याय तिवारीले गोरखा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै तयार गरीएका योजनाहरुको समग्र रुपरेखा प्रस्त गरेका थिए । उनले सौराहा, बन्दिपुर, पोखरा र अन्य दुई गरी देशका मुख्य पांच शहर (पर्यटकिय गन्तव्य) हरुसंग सहकार्य गर्दै गोरखाको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको सुनाए ।
प्रशासकिय अधिकृत तिवारीले चितवनको सौराहासंगको सहकार्यलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै पत्रकारहरुलाइ प्रचारकको भुमिकामा रहिदिन समेत आग्रह गरेका थिए । पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालले गोरखााको पत्रकारीता र पर्यटनबीचको अन्तरसम्बन्धबारे चर्चा गर्दै यस्ता भ्रमणहरुले पारस्परिक समझदारी बृद्धि गर्ने कुरा राखेका थिए । कार्यक्रममा भ्रमण टोलिको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाकि उपाध्यक्ष शान्ता अधिकारीले मन्तव्य राखेकी थिइन् । अधिकारीले आयोजक पक्षलाई धन्यवाद ज्ञापन गर्दै गोरखा भ्रमण वर्ष को सन्दर्भमा प्रचार प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

कार्यक्रम पश्चात टोलीले ऐतिहासिक महत्वको अर्को आकर्षणको केन्द्र लिगलिगकोटको अवलोकन भ्रमण गरेको थियो । नेपालमा गणतान्त्रिक अभ्यासको प्रारम्भिक इतिहास बोकेको लिगलिगकोटबाट गोरखाको सुन्दर भू–दृश्यको अवलोकन गर्दै पत्रकार टोलि रमाएको थियो । त्यहांबाट टोलि पालुङटार नगरपालिका मार्ग हुंदै सांझपख चितवन फर्किएको थियो ।

गोरखाको ऐतिहासिक, धार्मिक र पर्यटकिय पक्षप्रति पत्रकारहरुको सरोकार र समर्थनलाइ मूर्तरुप दिने उद्धेश्यले आयोजित भ्रमणले दुइ जिल्लाबीचको सहकार्य, सद्भाव र सम्भावना निर्माण गरेको भ्रमणमा सहभागी पत्रकारहरुले बताएका छन् ।