News


चितवन, जेठ ३ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताउनुभएको छ ।
बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उहाँले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताउनुभयो । भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएका छन् । ‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयो,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ । भरतपुर दूधमा अत्मनिर्भर छ ।’ महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गर्नुभयो । उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उहाँले भन्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताउनुभयो । साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उहाँको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो ।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उहाँको भनाई छ । प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।

 चितवन, जेठ २ –
राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसका अवसरमा जिल्ला कमिटी चितवनले खाद्यान्न वितरण तथा मदन आश्रित पार्क दासढुंगामा सरसफाइ गरेको छ ।

संघले भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको मञ्जुश्री आश्रय संरक्षण केन्द्रमा खाद्यान्न हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल चितवनका अध्यक्ष झलकराज भट्टले आश्रयकी उपाध्यक्ष धनु थापा मगरलाई खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

सामग्री प्राप्त गरेपछि आश्रयकी उपाध्यक्ष धनु थापा मगरले राष्ट्रिय युवा संघ नेपाल चितवनलाई धन्यवाद दिँदै युवासंघको प्रसंशा गरिन् ।

हस्तान्तरण कार्यक्रममा नकपा एमाले चितवनका उपाध्यक्ष कमल पाठक, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरे, नेकपा एमाले चितवनका उपसचिव एवम् प्रचार विभाग प्रमुख प्रकाश ढुंगाना, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज शंकर अधिकारी, युवा संघ पालिका कामिटीका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सोही दिन संघले मदन आश्रित स्मृति पार्कमा सरसफाइ गरेको छ । ३१ औं मदन आश्रित स्मृति दिवसका दिन यही जेठ ३ गते नेकपा एमाले चितवनले दासढुंगाको मदन आश्रित स्मृति पार्कमा स्मृति सभा गर्दैछ । सो कार्यक्रमको पूर्व सन्ध्यामा युवा संघले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सरसफाइ गरेको हो ।

चितवन जेठ २ ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले गरेको फैसला पूर्ण रुपमा उल्टिएको बताउंदै पराजुलीले भने, ‘सन्दीप लामिछानेले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’ जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको राय किताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए । ‘जिल्ला अदालतमा जस्तो फैसलाको संक्षिप्त आदेश भएन, अब यसबारेको विस्तृत विवरण पूर्णपाठ आएपछि मात्रै थाहा होला’, पराजुलीले भने । ५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।

उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्‍यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्यो ।

त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले । जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिर राज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।

नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दीपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए । पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो । यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेन । आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो । पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको छ । साथै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फकुवा गरेको हो । निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

Subcategories