News

असार , ६ चितवन ।  तस्वीर : कोमल चन्द्र भगत । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार ८२९ जनालाई सेवा दिएको छ । चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट यो सेवा प्रदान गरिएको हो । चिकित्सालयका प्रमुख डा.कोपिला अधिकारीका अनुसार बहिरंग चिकित्सा सेवा अन्तर्गत ३२ हजार ६७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार ८२९ जनालाई सेवा प्रदान गरिएको छ । यो संख्या चिकित्सालयमा आएका व्यक्तिको संख्या हो । उहाँका अनुसार एउटै व्यक्ति ६ पटकसम्म उपचारमा आएको तथ्यांक छ ।

चिकित्सालयले यसै अवधिमा ४ हजार १६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, ४ हजार ६४५ जनालाई जेष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपाई आमा तथा शिशु सेवा, ५ हजार २४० जनालाई नागरिक आरोग्य स्वाथ्स्य सेवा, ६ हजार २१० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा। अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ हजार ४७६ जनालाई अकुपञ्चर सेवा, ३ हजार ८९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा रहेको संस्थालाई हालै नाम परिवर्तन गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नामाकरण गरिएको हो । कार्यालयले आज सार्वजनिक सुनुवाई तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चिकित्सालयले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको छ ।

जिल्लामा १३ वटा सरकारी र २८ वटा गैरसरकारी आयुर्वेद संस्थाहरु रहेका छन् । ती मध्ये आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल ६ वटा, पोलिक्लिनिक एक र क्लिनिक २१ वटा रहेका छन् । चिकित्सालयको चितवनको सातै पालिका कार्य क्षेत्र रहेको छ ।

भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, डालेटार र मेघौली, माडी र राप्तीको वीरेन्द्रनगरमा आयुर्वेद औषधालय रहेका छन् । यस्तै कालिकाको सगुनटोल, खैरहनीको कुमरोज र इच्छाकामनाको चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र र भरतपुरको शिवनगरमा पिएचसि जीवनशैली सेवा रहेका छन् । चिकित्सालयले बिरामी परीक्षण एवं अत्यावश्यक आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशाला सेवा, भिडियो एक्सरे, फिजियोथेरापी, अकुपञ्चर, क्षरसूत्र, पञ्चकर्म, पूर्वकर्म सेवा दिंदै आएको छ । यस्तै दुखाई व्यवस्थापन अन्तर्गत अभ्यङ्ग÷ स्वेदन, जानुवस्ति÷कटिवस्ति÷ग्रिवावस्ति÷ मात्रावस्ति÷पत्रपिण्ड स्वेदन, तनाव व्यवस्थापन अन्तर्गत सर्वाङ्ग, अभ्यङ्ग÷स्वेदन, शिरोधारा, पिनास÷माईग्रेन अन्तर्गत नश्य सेवा दिंदै आएको छ ।

यस्तै आँखाको समस्या नेत्रतर्पण, थेराप्युटिक योग, जीवनशैली व्यवस्थापन, नियमित योग, प्राणायम, स्वस्थ आहार विहार, पथ्यापथ्य परामर्श, स्तनपायी आमालाई दुग्धबर्धक औषधि वितरण, जेष्ठ नागरिक स्वास्थ्य सेवा, सःशुल्क फार्मेसी सेवा पनि चिकित्सालयले दिंदै आएको छ । चिकित्सालयमा स्वीकृत स्थायी दरबन्दी १३ जना रहेकोमा करार र अस्थायी समेत गरी हाल १९ जना कार्यरत रहेका छन् । निकट भविष्यमै अन्तरंग सेवा सञ्चालनको तयारी गरेको चिकित्सालयमा नर्स लगायतका जनशक्तिको भने अभाव हुने देखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिर्फ आर्थिक वर्ष २०८०र०८१ को चैत मसान्तसम्म २५ लाख ७९ हजार ६०८ रुपैयाँ आम्दानी र १३ लाख ६५ हजार २५६ रुपैयाँ खर्च भएको छ भने १२ लाख६ हजार ३५२ रुपैयाँ मौज्दात रहेको प्रमुख डा. अधिकारीले बताउनुभयो ।

बि.सं. २०७८ सालदेखि फार्मेसी सञ्चालन गर्दै आएको चिकित्सालयमा ६९ प्रकारका औषधि रहेका छन् । फार्मेसीबाट वार्षिक ११ लाख १४ हजार ८९ रुपैयाँ आम्दानी र १० लाख ८८ हजार ९८२ रुपैयाँ खर्च हुँदै आएको छ । चिकित्सालयले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट पूजीगततर्फ दुई लाख विनियोजन भएकोमा एक लाख ८० हजार ४८३ रुपैयाँ खर्च भएको छ । यस्तै संघीय सरबारबाट प्राप्त ८१ हजार मध्ये ८१ हजार नै खर्च भएको छ । चालु खर्चतर्फ संघीय सरकारबाट ३५ लाख ४३ हजार विनियोजन भएकोमा ३० लाख ३४ हजार १३२ खर्च भएको छ भने प्रदेश सरकारबाट विनियोजित एक करोड ६९ लाख २१ हजार मध्ये एक करोड २७ लाख ४४ हजार ६५७ खर्च भएको डा।अधिकारीले जानकारी दिनुभयो । कार्यालयले समग्रमा ९० प्रतिशत भौतिक प्रगति र ७७।३२ प्रतिशत आर्थिक प्रगति हासिल गरेको डा. अधिकारीको भनाई छ । कार्यालयमा बेरुजु नभएको उहाँले जानकारी दिनुभयो । कार्यालयले एक जिल्ला एक जडिबुटी उद्यान निर्माण कार्यक्रमलाई मनसुनसँगै प्रक्रिया अघि बढाईने उहाँको भनाई छ । कार्यालयले निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, स्वस्थ जीवन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी क्षमता अभिबृद्धि तालिम कार्यक्रम, समन्वयात्मक समीक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, कर्मचारी पुनर्जाजगी योग अभ्यास कार्यक्रम यस अवधिमा सञ्चालन गरेको छ ।यसैगरी पत्रकारहरुसँग अन्तक्र्रिया, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, स्वास्थ्य जीवन प्रबद्र्धन कार्यक्रम, उच्च पदस्थ कर्मचारीहरुको तनाव व्यवस्थापन कार्यक्रम, होमस्टे, होटल तथा रिसोर्टका सञ्चालकहरुलाई योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण कार्यक्रम, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, राष्ट्रिय अन्तर्राष्ट्रिय योग दिवस, स्वर्णविन्दु प्राशन कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन गरिसकेको अधिकारीले बताउनुभयो । चिकित्सालयमा आउने मध्ये प्रमुख १० रोगमा अम्लपित्त, कास रोग, उदर रोग, संधिवात, उच्चरक्तचाप, अर्श, श्वास, आमवात, वातारक्त र मधुमेह रहेका छन् । डा. अधिकारीले संघीय सशर्त बजेटमा भारी कटौती भएकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा कठिनाई भएको बताउनुभयो । उहाँले स्थानीय सरकारको सहयोग भएमा सेवा केन्द्र सञ्चालनमा सहज हुने बताउनुभयो । यसैगरी निजी स्वास्थ्य संस्था नियमन गर्नका लागि स्थानीय सरकारले आवश्यक कानुन निर्माण गरी सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यालयले आगामी आर्थिक वर्षमा एमएसएस अनुसार सेवा प्रवाहको मूल्यांकन उच्च बनाउने, पञ्चकर्म, अकुपञ्चर, फिजियोथेरापी लगायतका सेवाहरु थप व्यवस्थित एवं फराकिलो बनाउने, प्रदेश आयुर्वेद चिकित्सालय सञ्चालनका लागि आवश्यक पहल गर्ने योजना अघि बसारेको छ ।

सो अवसरमा कार्यालय प्रमुख डा. अधिकारीले २५ शैयाको अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि आवश्यक सामग्रीभन्दा पनि जनशक्ति अभाव समस्या हुन सक्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

सो अवसरमा आयुर्वेद औषधि उत्पादन केन्द्रका प्रमुख डा.सुरेश महर्जनले ११७ वटा औषधि उत्पादन गर्ने लक्ष्य लिईएको बताउँदै चालु आर्थिक वर्षमा नै ११ वटा औषधि उत्पादन शुरु गर्ने बताउनुभयो । उहाँले किसानसँग सिधै जडिबुटी खरिद गर्न समस्या भएको भन्दै यसका लागि पहल भईरहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाले आयुर्वेदिक अस्पताल सञ्चालन गर्न विद्यालय नै सारिएको बताउनुभयो । चिकित्सालयलाई थप व्यवस्थित बनाउन आफूले सक्दो पहल गर्ने उहाँको भनाई थियो । पत्रकार रामकान्त पौडेलले सञ्चालन गर्नुभएका कार्यक्रममा डा.देवेन्द्रकुमार यादवले स्वागत गर्नुभएको थियो । सो अवसरमा उठेका प्रश्नहरुको प्रमुख डा. अधिकारी र डा. महर्जनले जवाफ दिनुभएको थियो ।

जेठ ३, चितवन । तस्विर :  अंकित भगत ।
चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोह बाट १ हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको कृषि, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान र वन विज्ञान संकायमा अध्ययनरत स्नातकोत्तर र स्नातक तह पूरा गरेका र विद्यावारिधि उपाधि प्राप्त गरेका विद्यार्थीलाई सोमबार एक कार्यक्रमका विच दीक्षित गरिएको हो ।

 

चितवनको रामपुर स्थित विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले देशले दक्ष र सीपयुक्त जनशक्ति प्राप्त गरेकाले दीक्षित विद्यार्थीलाई समग्र कृषि, वन क्षेत्रको विकासमा योगदान दिन आग्रह गर्नु भयो। विश्वविद्यालयमा सिकेको ज्ञान, सीपलाई किसानसँग बाँड्न आग्रह समेत गर्नु भयो ।
उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै नयाँ रोजगारीका अवसर सिर्जना गर्न सरकारले यस वर्ष नीति, कार्यक्रम र बजेटमा कृषि र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउंदै प्रधानमन्त्री दाहालले नेपालका लागि प्रमुख अर्थतन्त्रको आधार कृषि नै भएको दावी गर्नु भयो । कार्यक्रममा उहांले कृषिमा आधारित उद्योग स्थापना, उत्पादन र उत्पादकत्व वृद्धिका लागि विज्ञान र प्रविधिको प्रयोग आधारभुत आवश्यक भएको बताउनु भयो ।

दिक्षान्त समारोहका प्रमुख अतिथि सिक्किम स्किल युनिभर्सिटीका उपकुलपति प्रा.डा.अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्‍याएको चर्चा गर्दै दीक्षित विद्यार्थीलाई कृषि क्षेत्रको विकास र विस्तारमा सरिक हुन अनुरोध गर्नुभयो। समारोहमा एएफयूका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले दीक्षित विद्यार्थीलाई बधाई दिंदै विश्वविद्यालयबाट हासिल गरेको ज्ञानलाई कृषि क्षेत्र र किसानका लागि समर्पित गर्न आग्रह गर्नुभयो। विश्वविद्यालयका तीन संकाय सँगै नौ आंगिक कलेज र सम्बन्धन प्राप्त क्याम्पसमा गरी करीब चार हजार विद्यार्थी अध्ययनरत छन् । कृषि संकाय अन्तर्गत ६ र वन विज्ञान संकायबाट एक जनाले विद्यावारिधि प्राप्त गरेका छन्।

 


चितवन, असार २ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०र०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ ।
उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो ।
महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।
यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो ।
तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताउनुभयो । अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।

Subcategories