News

फागुन २२, चितवन । तस्विर कोमल चन्द्र भगत । आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धन गर्न आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ ।आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको आज पत्रकार सम्मेलन गरीजानकारी दिएको छ। महोत्सवमा तीन सय प्रदर्शनी कक्ष रहने छन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिनु भयो ।
आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको दुराको भनाइ छ । महोत्सवले भरतपुर भ्रमण वर्षको प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । महोत्सव अवधिमा दैनिकजसो १७ वटा जातीय सांस्कृतिक प्रदर्शनी हुनेछन् ।


तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचानमा समेत सहयोग पुग्ने उनको अपेक्षा छ । महोत्सव दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु एक करोडको कारोबार हुने लक्ष्य लिइएको छ ।
चितवनको कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको जनसङ्ख्या छ । चितवनमा थारू, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरूङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बराम लगायतका चितवनमा हाल ४० आदिवासी जनजाती समुदायको बसोबास रहेको छ ।
चितवनमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । चितवन र आसपासका क्षेत्रभित्रका सांस्कृतिक विविधताको संरक्षण गरी समग्र जिल्लाकै आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नको लागि पनि महोत्सवले मूख्य भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सव सम्पन्न गर्न करिब रु ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

 

फागुन २१, चितवन ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताउनुभएको छ । सहीद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा प्रचण्डले बामपन्थीहरुलाई एकठाँउमा ल्याउदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताउनुभएको हो । उहाले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गर्नुभयो । प्रतिक्रियावादीले आफुलाई प्रयोग गरे त्यसलाई चिर्न आफुले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफु अविश्वसनिय नभएको उहाले बताउनुभयो । आफुलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै प्रचण्डले आफु नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गर्नुभयो । माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदि भएको बताउनुभयो । उहाले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको धारणा राख्नुभयो । उहाले आफु नेतृत्वको सरकारले जनयुद्ध दिवसको घोषणा गरेको भन्दै छुटेका सहीदहरुलाई पनि राष्ट्रिय सहीद घोषणा गर्ने क्रममा रहेको बताउनुभयो ।

फागुन २०, चितवन । भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ। परिषदका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई जानकारी गराउन महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम लागिएको दुराले बताए । महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक प्रदर्शनी कक्ष रहने छ। कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउने गरी तयारी थालिएको भुजेले बताए।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ आदिवासी जनजाति समुदाय बसोबास गर्दछन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिए। प्रदर्शनीमा स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ । महोत्सवको लागि महासंघले स्टल बुकिङसमेत खुला गरिसकेको छ। भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा हुन गइरहेको यस महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ।

Subcategories