News

 

चैत १०, चितवन । चितवन चितवनको भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् । तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिट तर्फ सिन्धुपाल्चोक घर भएको सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिए ।

उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे। तेस्रो स्थान धादिङमा लक्ष्मण मल्ल प्राप्त गरे। उनले नगद ३० हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।
भरतपुरको पुन्यवती ताल गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिले ७ पटकसम्म परिक्रममा गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तै महिला ईलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गरिन्। काठमाडौाकी लक्ष्मीमगरले १ घण्टा १८ मिनेट २३ सकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो बनिन्। पाँचथरकी इन्द्रकला नेबाङ १ घण्टा २१ मिनेट ३७ सकेन्डमा निर्धारित दूरीपार गर्दै तेस्रो बन्न सफल भइन्।
दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ। पुरुष ईलिट तर्फ प्रथम सिन्धुपाल्चोकका सुरज राना मगर र महिला ईलिटतर्फ प्रथम काठमाडौँकी उषा खनाल मेलेसियामाल हुने एसियन प्रतियोगितामा सहभागी हुन अवसर समेत प्राप्त गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । साथै सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रतिष्ठानले दिएको थियो ।

यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सकेन्डमा पार गर्दै उपधि हात पारे । काठमाडौाका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल भए।

यसैगरी पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पारे। सुनसरीका सञ्जय राईले १ घण्टा १३ मिनेट ३७ सेकेन्डमा सो दूरी पार गरी दोस्रो बने भने मकवानपुरका राजिव ठाकुरले १ घण्टा २३ मिनेट २८ सेकेन्डमा पार गर्दै तेस्रो बने।

यसैगरी चितवन विशेष पुरुष तर्फ प्रमित थापा प्रथम, हेम चन्द्र सुनारदोस्रो र कष्ण घिमिरे तेस्रो बन्न सफल भए । यसैगरी चितवन विशेष महिला तर्फ सुधा तिमिल्सीना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठ तेस्रो बन्न सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताए ।
उनले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए । “साइक्लिङ प्रदूषणरहित यात्रा हो । यसले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ”, मुख्यमन्त्री जम्कट्टेलले भने । गाडीको विकल्पका रुपमा साइकलको प्रयोग गर्न सके मानव स्वास्थ्यलाई फाइदा हुने उनको भनाइ छ ।
मन्त्री जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताए । उनले भने, “ विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन गर्ने हो । त्यसलाई पूरा गर्नका लागि अविचलित भएर हामी लाग्नुपर्छ ।”

यस्तै प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताइन्।
भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरिन्। प्रतिष्ठानले आगामी वर्षदेखि अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानका अध्यक्ष रेनु दाहालले जानकारी दिइन्।
उनले साईकलमैत्री भरतपुर बनाउन प्रतियोगिता सफल भएको स्पष्ट पारिन् ।
कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भरतपुर भम्रण बर्ष २०२४ को अवसर पारेर साइकल सिटिको रूपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता सफल सावित बनेको दरैले जानकारी दिए ।
प्रतियोगितामा ९० जना बढी खेलाडीहरुको सहभागीता भएको थियो। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडाको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको थियो । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्बद्धकमा प्रतियोगिता सम्पन्न भएको थियो ।

चितवन, २६ फागुन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो । नेपाल औषधि उत्पादक संघ (एपोन) का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो दर्शकको उपस्थिति रहेको छ । अपेक्षाभन्दा धेरै दर्शक एक्स्पोमा बरालले बताउनु भयो । चितवन सहित बाहिरी जिल्लाबाट समेत दर्शक आउनु भएको बरालको भनाइ छ । आफूहरुले तीन दिनको अवधिमा २५ हजारले अवलोकन गर्ने अपेक्षा गरेकोमा यो संख्या बढ्ने उहाँको अनुमान छ । एक्स्पो अवलोकन गर्न आउनु भएका नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की आम सर्वसाधारण पनि एक्स्पोमा आउनु पर्ने बताउनुहुन्छ । आफू बिरामी हुँदा कस्तो औषधि खाईरहेका छौं , नेपाली औषधिको गुणस्तर कस्तो रहेछ, औषधि कसरी बन्दो रहेछ , औषधि बनाउन के के प्रविधिको प्रयोग हुँदो रहेछ भन्ने कुरा यहाँ आएपछि प्रष्ट हुने डा. कार्कीले बताउनुभयो ।

औषधि कसरी सुरक्षित र रोगलाई निको पार्ने बनाईन्छ भन्ने कुरा एक्स्पोबाट प्रष्ट हुने भन्दै डा. कार्कीले स्वदेशी औषधि उद्योगले विगत ५५ वर्षदेखि सेवा गरिरहेको बताउनु भयो । नेपालमा साधारण औषधिदेखि क्यान्सर लगायत जटिल रोगसम्मका औषधि बनेको भन्दै विश्व बजार र नेपाली उत्पादनमा फरक छ कि छैन भन्ने सुनिश्चित गर्न पनि एक्स्पो अवलोकन गर्नुपर्ने उहाँको भनाई छ । एक्स्पो अवलोकनपछि उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफू औषधिका विषयमा जानकार नभएपनि औषधि उद्योगका लागि आवश्यक पर्ने विचारदेखि लिएर व्यवहारसम्म र उद्योगदेखि उत्पादन हुँदै बजारीकरणसम्मको ज्ञान यहाँबाट पाईएको बताउनुभयो । उहाँले औषधि र औषधिजन्य उद्योग व्यवसायमा काम गर्ने सोच भएकाहरुलाई पनि एक्स्पो फलदायी हुने बताउनुभयो । एक्स्पो अत्यन्त व्यवस्थित र हार्दिकतापूर्ण आफूले पाएको बताउँदै चितवनमा गरिने हरेक प्रकारका मेला महोत्सव यही प्रदर्शनी केन्द्रमा गर्नुपर्ने सुझाव दिनुभयो । एक्स्पोमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । मेडिकल शिक्षासँग विज्ञानका विद्यर्थीहरुले एक्स्पो रुचिपूर्वक अवलोकन गरिरहेका थिए । कलेज तथा विद्यालयहरुले विद्यालयकै बसमा विद्यार्थी अवलोकनका लागि ल्याईरहेका छन् ।भोलिसम्म सञ्चालन हुने एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले औषधि उद्योगका लागि आवश्यक पर्ने मेसिन, उपकरण, प्रयोगशाला, कच्चापदार्थ, प्याकेजिङ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ । एक्स्पोका संयोजक प्रभात रुङ्गटाले यहाँ अवलोकन गरेर फर्किएका सर्वसाधारण नेपाली औषधिप्रति विश्वस्त भएर फर्किएको बताउनुभयो । नेपाली औषधि उद्योगले पनि विदेशी उद्योग सरह कच्चा पदार्थ, मेसिन र उपकरण प्रयोग गर्दा रहेछन् भन्ने कुरा छर्लङ भएको धेरै प्रतिक्रिया पाएको उहाँको भनाई छ ।

चितवन, २३ फागुन । चितवनमा फागुन २५ गतेबाट हुने नवौं फर्मा एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको एक्स्पोबारे आज भरतपुरमा पत्रकार सम्मेलनमार्फत् तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पो हामीले विदेशीबाट सिक्ने र विदेशीले हामीबाट सिक्ने ठाउँ भएको बताउनुभयो । उहाँले एक्स्पोमा विदेशी विज्ञ प्राविधिकहरु, उपकरण उत्पादक, सरकारी प्रतिनिधि लगायतका पाहुनाहरुको उपस्थिति रहने जानकारी दिंदै विदेशीहरुलाई नेपाली औषधि उद्योगको अवलोकन समेत गराईने बताउनुभयो । उहाँले नेपालको औषधिमा गुणस्तरमा कुनै कमी नरहेको बताउँदै विदेश समेत निर्यात हुँदै आएको जानकारी दिनुभयो । उहाँले यसै एक्स्पोमा समेत कतिपय देशबाट यहाँको औषधिका बारेमा चासो दिएर अवलोकनका लागि आउँदै गरेको जानकारी दिनुभयो । संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुनः फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको जनाउँदै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको उहाँको भनाई छ । सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्को उद्देश्य रहेको उहाँको भनाई छ । विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटो रहेको उहांले बताउनु भयो । काठमाण्डौंमै एक्स्पो गर्न दवाव भईरहेको समयमा आफूहरुले चितवनमा आयोजना गरेको भन्दै रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो गर्न चितवनमा प्रदर्शनी, होटल लगायतका सेवा सुविधा रहेको बताउनुभयो । उहाँले चितवनको पर्यटकीय क्षेत्रमा पनि ठूलो प्रभाव पार्ने बताउँदै चितवनवासीले एक्स्पोलाई माया गरेर सफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड–१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण नेपाली औषधि उद्योगको कारोबार घट्दै गएको संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोअर्डिनेटर सन्तोष बरालले बताउनुभयो । आर्थिक बर्ष २०७८÷०७९ नेपालमा नेपाली उद्योगीहरुको झण्डै रु। ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९÷०८० मा रु. २९ अर्ब ३६ करोड मात्र कारोबार गर्न पुगेको बरालले जानकारी दिनुभयो । सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्नलाई छुट्टै मापदण्ड नबाइदिने हो भने हाम्रो आकार आगामी दिनमा अझै घट्दै जाने उहांको भनाइ छ । पत्रकार सम्मेलनमा संघका महासचिव सुदर्शन खयागुलीले नेपाली औषधि गुणस्तरीय मात्रै नभएर असरदार पनि रहेको बताउनुभयो । समय समयमा गुणस्तरको प्रश्न उठ्ने गरेको भन्दै उहाँले विदेशी प्रविधि, कच्चा पदार्थ र डब्लुएचओको मापदण्ड अनुसार नै नेपाली औषधि उत्पादन भईरहेको बताउनुभयो । एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । नेपालका औषधी उद्योगको विकास लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल फर्मासिटिकल्स एसोसिएसन, नेपाल औषधि ब्यबसायी संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल फर्मासिटिकल्स डिलर एसोसिएसन र स्वास्थ्य पत्रकार मंच बीच समन्वय र सहकार्य गरिने आयोजकले जनाएको छ । नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् । नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको अवलोकन चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगी र सर्वसाधारण गरी करिव २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यस एक्स्पोले भरतपुर भ्रमण बर्षलाई थप उर्जा र सहयोग प्रदान गर्ने आयोजकको अपेक्षा रहेको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ता एक्स्पोमा आउने भन्दै यसले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउने आयोजकको भनाई छ । २५ गते बिहान ७ बजे चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम हुनेछ भने बिहान १०ः३० बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पो अवधिभर विभिन्न गोष्ठी, सेमिनार, तालिमहरु सञ्चालन हुनेछन् ।

 

Subcategories