News

फागुन २०, चितवन ।
रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको छ । गत फागुन १२ गते विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दबाब दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं लगिएको थियो ।

त्रिवि अस्पतालले आज पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको स्रोतले बतायो । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । तर, परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो ।

फागुन २०, चितवन ।


भरतपुर भ्रमण वर्ष २०२४ को उल्लासमय वातावरणमा उद्घाटनले आर्थिक क्षेत्र चलायमान हुने आशा जगाएको छ ।आर्थिक मन्दीले थलिएको व्यवसायलाई भ्रमण वर्षले केही राहत दिने अपेक्षा गरिएको छ । ५० हजारको सहभागितामा भ्रमण वर्षको उद्घाटन गर्ने भरतपुर महानगरको लक्ष्यलाई उल्लासमय उद्घाटनले पुष्टि गर्न सहयोग गरेको महानगर प्रमुख रेणु दाहालले बताइन् । कार्यक्रमको उद्घाटन पश्चात धन्यवाद ज्ञापन गर्न एक विज्ञप्ति प्रकाशित गरी प्रमुख दाहालले भरतपुर महानगरका सम्पूर्ण २९ वडाबाट हजारौँको सहभागी र शीर्ष नेताहरुको उपस्थितिले सबैमा सकारात्मक छाप छोडेको उल्लेख गरिएको छ । प्रमुख दाहालले अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

‘भ्रमण वर्षको उद्घाटनमा सोचेभन्दा बढी भरतपुरवासीको सहभागिताले बिहानीले दिनको संकेत गरे झैँ सानदार सुरूवातले आर्थिक गतिविधि चलायमान हुने देखिएको उल्लेख गरिएको छ ।’ प्रमुख दाहालका अनुसार वर्षभरि नै भ्रमणवर्षको उत्सव रहने अपेक्षा गरिएको छ । भ्रमण वर्षको लक्ष्य पूरा गर्न महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी, सेमिनार जस्ता गतिविधिहरु सञ्चालन हुने छ । भ्रमण वर्षले महानरपालिकाको पर्यटकीय एवम् आर्थिक गतिविधिमा संख्यात्मक तथा गुणात्मक बढोत्तरी हुने आशा भरतपुर महानगरले गरेको छ । महानगर प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भ्रमण वर्षको अभियानलाई सफल बनाउन सबैको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षासमेत गरिएको छ ।

 

फागुन २०, चितवन ।

मेघौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सवभएको छ  । २०५२ सालमा स्थापना भएको वनले आफ्नै वनक्षेत्रमा एक समारोहबीच रजत महोत्सव मनाउन लागेको हो । सामुदायिक वनले वैशाख ३ र ४ गते विभिन्न रचनात्मक तथा सृजनशील क्रियाकलापहरु गरेर रजत महोत्सव गर्ने उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए । रजत महोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्ने तयारी गरिएको बताउँदै उनले उक्त स्मारिकामा सामुदायिक वनमा विगत २५ वर्षमा भएका क्रियाकलापलाई समेट्ने बताए । उक्त अवसरमा केन्द्रीय सरकारका वनमन्त्रीलाई प्रमुखअतिथिको रुपमा निम्त्याउने तयारी गरिएको बताउँदै उनले भरतपुर महानगरपालिकाका मेयर, उपमेयर तथा चितवन राष्ट्रिय निकुञ्जका वार्डेनलगायतको उपस्थिति रहने बताए । महोत्सवमा समितिका पुर्व पदाधिकारीहरुलाई सम्मान गरिने भन्दै अध्यक्ष चौधरीले स्थानीय थारु, कुमाल, मगर तथा अन्य जातिहरुको परम्परागत संस्कृति प्रदर्शन महोत्सवको मुख्य आकर्षण रहने बताए । उनले समितिले मेघौली क्षेत्रभित्रका सामुदायिक वनहरुमा बासस्थान सुधार, पोखरी निर्माण, घाँसे मैदान व्यवस्थापन तथा द्वन्द्व न्यूनीकरणका लागि जनचेतना फैलाउने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखी काम गरेको बताए । संरक्षित क्षेत्रवरपर बढ्दो जनघनत्व, अव्यवस्थित भू–उपयोगका कारण बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु बासस्थान छोडी गाउँबस्तीमा पस्ने गरेका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको उनको भनाइ छ । चोरीसिकार नियन्त्रणमा युवा परिचालन अभियान, घाइते, अपाङ्ग, टुहुरा र समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माणका साथै मानव–वन्यजन्तु द्वन्द्व शून्य गर्न नसकिने भए पनि न्यूनीकरण गर्दै लैजानुपर्ने बताउँदै यो अभियानमा दृढ रहेको उनले बताए । मध्यवर्ती उपभोक्ता समूहबाट द्वन्द्व न्यूनीकरण र वन्यजन्तु संरक्षणका लागि जनचेतना फैलाउने काम भइरहेको उनले बताए । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरीसिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । २५ वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो । यससँगै स्थानीयको जीवनस्तर उकास्न राज्यले सहयोग गर्दै आएको छ भने स्थानीय त्यसको संरक्षणमा जुटेका छन् । २०५३ मङ्सिर १७ गते ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली’ राजपत्रमा प्रकाशित भएसँगै मध्यवर्तीको अवधारणा अघि बढेको हो । भरतपुर महानगरपालिका वडा नं–२७ र २८ मा पर्ने मेघौली क्षेत्रभित्रका नौवटा सामुदायिक वनहरुमा राधाकृष्ण, सदाबहार, हरियाली राप्ती तथा वेतरी, मालिका, राप्ती नियन्त्रित, नारायणी नियन्त्रित, बदार्हा–३, बदार्हा ४–६ र नकियादेवी सामुदायिक वन रहेका छन् । राप्ती र नारायणी नदीको सङ्गमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्दछन् । हात्ती चढेर जंगल डुल्न चाहने पर्यटकहरु मध्यवर्ती सामुदायिक वनहरुमा जाने गर्छन् ।

Subcategories