News

चितवन, वैशाख ३१ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटन मार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजस्व आम्दानी गरेको छ । चितवन राष्ट्रि निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तव्यसमेत हो । चितवन निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा एक लाख ६१ हजार ८२७ स्वदेशी, सार्क राष्ट्रका २६ हजार ४६१ र ८४ हजार ६५४ विदेशी गरी कुल दुई लाख ७२ हजार ९४२ जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । पर्यटक प्रवेश शुल्कबाट मात्रै २२ करोड ४३ हजार ५० रुपैयाँ राजस्व आम्दानी भएको संरक्षण अधिकृत तिवारीले जानकारी दिए । तिवारीले दिएको जानकारी अनुसार निकुञ्ज आउने पर्यटकले अनुभवी पथप्रर्दशक (नेचर गाइड) को सहयोगमा पैदलै जंगल घुम्ने, मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी गर्ने, निकुञ्ज या मध्यवर्ती वनमा जिप सफारी गर्ने, निकुञ्ज हुँदै बग्ने खोला र नदीहरूमा डुंगा सफारी गर्दछन् । ‘यी सबैखाले गतिविधि खास गरेर जिप सफारीबाट पनि राजस्व आम्दानी हुन्छ । चालु आर्थिक वर्षमा निकुञ्जले पर्या–पर्यटनबाट गरेको आम्दानी २६ करोड नाघिसकेको छ । निकुञ्जले विभिन्न पाँच शीर्षकमा राजस्व संकलन गर्दछ । चालु आर्थिक वर्षको १० महिनामा ३१ करोड ५७ लाख १३ हजार १७१ रुपैयाँ राजस्व आम्दानी भइसकेको सूचना अधिकारी तिवारीले बताए । जसमध्ये पर्या–पर्यटनबाट हुने राजस्व आम्दानीको हिस्सा अरु शीर्षकको भन्दा धेरै नै बढी रहेको छ । कोरोनाका कारण शिथिल हुँदै गएको पर्यटन व्यवसायमा सुधार हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

 

चितवन, वैशाख ३१ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् । चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा नेपालकै पहिलो सिग्नेचर पुलको शिलान्यास गरेका हुन् । प्रचण्डले जग पूजासंगै शिलालेख अनावरण गरेका थिए । सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको सिग्नेचर ब्रिज आकर्षक हुने बताइएको छ । अत्याधुनिक प्रविधिमा आधारित यो पुल केबलस्टेड ब्रिज शैलीमा आधारित रहेर बन्नेछ । अहिले रहेको नारायणी नदीको पुल भन्दा उत्तर तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । करिब १ अर्ब ६८ करोड नेपाली रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा श्री तुँदी कन्स्ट्रक्सन प्रा।लि। सँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने छ । हाल भएको नारायणी नदीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको छ । नारायणी नदी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो ।


बैशाख ३०, काठमाडौँ।  काठमाडौँमा रहनु हुने धरानेहरुको साझा संस्थाको रुपमा खोलिएको हामी धराने , काठमाडौंद्वारा बैसाख २९ गते शनिबार आयोजित धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम २०८१ च्वङ्गा गणेश थान परिसर , सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । बिहान ९ः०० बजेदेखि साँझ सम्म भएको कार्यक्रम रक्तदान कार्यक्रम बाट शुरु गरी रमाइलो नाचगान गर्दै सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ४२ जना धराने रक्तदाताहरुले रक्तदान गर्नु भएको थियोे ।

कार्यक्रममा धराने लाखे समुहले लाखे नाच प्रस्तुत गर्दा सबै धरानेहरुले धरानमै भएको अनुभूति गरे भने चन्द्र श्रेष्ठको फेस पेन्टिंग र स्केचिंगले कार्यक्रममा धेरै धरानेहरुले अनुहारमा धरान झल्काउने पेन्टिङरु गरेर वनभोजको माहौलमा थप रौनकता थपिएको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य माननीय अशोककुमार राईज्यूले कलशमा दियो बालेर गर्नुभएको थियो। कार्यक्रमको अन्य अतिथिहरुमा न्याय परिषद सदस्य रामकुमार श्रेष्ठ , खाद्य गुणस्तर नियन्त्रणका पूर्व महानिर्देशक जीवन प्रभा लामा, पूर्व सचिव तथा धरान सरोकार समाजका अध्यक्ष चन्द्र घिमिरे, वरिष्ठ गायिका मथुरा श्रेष्ठ , कन्सल्टेन्ट युरोलोजिष्ट डा. पुकार मास्के , पत्रकार तथा मकाउका लागि पर्यटन प्रवर्तक आनन्द श्रेष्ठ र सेवा निवृत्त शिक्षिका ललिता श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा आफ्नो जीवनको आधाभन्दा बढि समय शिक्षण पेशामा खर्चिनु भएकी ८४ वर्षिया शिक्षिका ललिता श्रेष्ठलाई प्रमुख अतिथि अशोक राई द्वारा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो भने अतिथि गण लगायत कार्यक्रम सफल बनाउन प्रायोजन तथा स्वयंसेवक गर्नुहुने महानुभावहरुलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रमपछि सबैको लोकप्रिय खेल हाउजी पनि खेलाइएको थियो । मनोरञ्जन नाचगान गरी कार्यक्रमको समापन गरिएको थियोे । हरेक बर्ष काठमाडौँमा रहनु हुने धरानेहरुको जमघट तथा नयाँ बर्षको शुभकामना आदान प्रदानका कार्यक्रम आयोजना गर्ने तथा काठमाडौँमा रहनु हुने धरानेहरुको हकहित संगै धरानको बिकासको लागि हर समय हामी धराने लागि पर्ने अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो।

Subcategories