News

बैशाख २९, रत्ननगर । सौराहा सहित चितवनको पर्यटन विकासको लागि समन्वय समिति बनाइएको छ । रत्ननगर नगरपालिकाले समग्र चितवनको पर्यटन विकासको लागि भेषराज दुवाडी संयोजक अध्यक्ष रहेको रत्ननगर पर्यटन विकास समन्वय समिति बनाएको हो ।

चितवन उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका दुवाडी पर्यटन व्यवसायको विकासको लागि अनुभवी व्यवसायी हुन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई केन्द्रीत गरेर चितवनको पर्यटन विकासको लागि अधिकार सम्पन्न समन्वय समिति बनाइएको हो । सो समितिलाई पूर्वी चितवनका चार पालिकाका पर्यटन व्यवसायी, संरक्षणकर्मीहरुलाई समाबेस गरी पूर्णता दिने तयारी गरिएको संयोजक दुवाडीले जानकारी दिए ।

पूर्वी चितवनको पर्यटन विकासको लागि सम्भावित पर्यटकीय क्षेत्रहरुलाई सौराहासंग जोड्ने र तीनै तहको सरकारको लगानीमा पूर्वाधार निर्माण गर्ने गरी योजना बनाइने उनले बताए । सौराहालाई केन्द्र बनाएर चितवनको चारवटै पालिकामा रहेका पर्यटकीय क्षेत्र जोड्न  उक्त स्थानमा विदेशी पर्यटक भित्र्याउने संयोजक दुवाडीले बताए । सौराहामा करिब ४ बर्ष अघि घोषणा गरेको घुमौं सौराहा अभियान कोरोना महामारीले प्रभावित भएको थियो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि घुमौ सौराहालाई निरन्तरता दिने अध्यक्ष दुवाडीले बताए ।

घुमौ सौराहालाई निरन्तरता दिन आफुले व्यवसायी र जनप्रतिनिधिहरुसंग छलफल गरेर योजना निर्माणको थालनी गरेको दुवाडीको भनाई छ । चितवनमा पर्यटक भित्र्याउन विद्युतिय बजारीकरणलाई  अबलम्बन गर्ने र बार्षिक ४ लाख पर्यटक भित्र्याउने गरी तयारी गरिने उनले बताए । समितिका संयोजक भेषराज दुवाडीले सौराहालाई सिरानी हालेर चितवनको पर्यटन विकासको लागि कार्ययोजना बनाएर देखिने गरी काम गर्ने भन्दै सौराहालाई पर्यटन क्षेत्र घोषणा, गुरुयोजना निर्माण र सुचना केन्द्र सञ्चालन, विद्युतिय बजारीकरण र अत्याधिक रुपमा सुचना प्रविधिको प्रयोग गरी घुमौ सौराहा अभियानलाई अगाडि बढाउने बताए ।

सौराहामा ध्वनि प्रदूषण, अव्यवस्थित पाकिङ, निकुञ्जको टिकटको समयाबधिको विषयमा स्थानीय सरकार र व्यवसायी बीच सहकार्य गरेर समस्या हल गर्न अर्थपूर्ण प्रयासको थालनी गरिने उनको भनाई छ ।

चितवन,२८ वैशाख ।

भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ । महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् । सडकमा ब्रुमर चलेको तस्बिरसहित प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्–निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ ।

चितवन,२८ वैशाख । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ । कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताउनुभयो । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे उल्लेख गर्नुभयो । पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।

Subcategories