News

भरतपुर,भदौ १५ ।

भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले जन्मदिनका अवसरमा रु १५ लाख बढी रकम समाजसेवामा खर्च गर्नुभएको छ । उहाँले वडाध्यक्ष भएबापत पाउने सबै सेवासुविधाको रकम सामाजिक काममा खर्च गर्नुभएको हो । जनप्रतिनिधि अनियमिततामा मुछिएका घटना बेलाबेलामा सुन्ने गरिएकामा पन्तले भने आफ्नो तलबभत्ता समेत समाजसेवामा खर्च गर्नुभएको छ । आज आफ्नो ६४औँ जन्मदिनका अवसरमा एक कार्यक्रम आयोजना गरी वडाध्यक्ष पन्तले रु १५ लाख बढीको सहयोग गर्नुभयो । “एक वर्षमा करिब रु पाँच लाख रकम आउँछ”, पन्तले भन्नुभयो, “त्यो सबै सामाजिक काममा खर्चिएको छु ।” उहाँले वडाका विपन्न, बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आएको बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अध्यक्ष पन्त असल जनप्रतिनिधिको रुपमा परिचित रहेको बताउनुभयो । “उहाँ उदाहरणीय जनप्रतिनिधि बन्नुभएको छ”, उहाँले भन्नुभयो, “पन्त सधैं सेवा भाव र सकरात्मक सोचका धनी हुनुहुन्छ ।” नगरप्रमख दाहालले पन्तले स्वच्छ जनप्रतिनिधिको रुपमा काम गर्नुभएको भन्दै यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । प्रमुख दाहालले जन्मदिन तथा चाडपर्व खर्चिलो र भड्किलो भन्दापनि संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सेवा भावका साथ मनाउन सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री विजय सुवेदीले धन मात्र भएर नहुने भन्दै पन्तसँग धन र मन दुवै भएकाले सामाजिक काममा सक्रिय भएर लागिरअनुभएको उल्लेख गर्नुभयो । उहाँले सबै जनप्रतिनिधिले आफ्नो क्षमता अनुसार सामाजिक सेवाका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पन्तले सहयोग रकम र सामग्री विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिलाई हस्तान्तरण गर्नुभयो । पन्तले भरतपुर–११ को नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयलाई रु एक लाख ११ हजार, शिव पञ्चायम मन्दिर भरतपुर–१२ लाई रु एक लाख ११ हजार, देवघाट रोटरी करुणालयलाई रु तीन लाख ११ हजार, धनेश्वर शिवालय मन्दिर धनगढालाई रु एक लाख १३ हजार, प्रकाश कार्कीको इन्सुरेन्सलाई रु एक लाख पाँच हजार, राधाकृष्ण मन्दिर भरतपुर–१२ लाई रु एक लाख ११ हजार र पुण्यश्वर शिवालय मन्दिर भरतपुर–१२ लाई रु ५१ हजार एक सय ११ सहयोग गर्नुभएको छ । साथै उहाँले वडाका विभिन्न आमा समूहलाई पनि सहयोग गर्नुभएको छ ।

बागलुङ जिल्लाको मूलपानी जन्मनुभएका पन्त चितवनका एकदर्जन बढी सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँले वडा कार्यालयमा पनि दानपेटीका राखेर सङ्कलन भएको रकमबाट नियमित रुपमा विपन्नलाई सहयोग गर्दै आउनुभएको छ । कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्ति अधिकारी, पोखरेली टोल आमा समूहका अध्यक्ष शोभा पण्डित, महिला अधिकारकर्मी मीना खरेललगायतको सहभागिता थियो । रासस

चितवन, भदौ ११ ।

अमेरिकी विकास सहयोग नियोग (युएसएड) को जल जङ्गल परियोजना (अमेरिकी जनता) को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरुमा तालिम सुरु गरिएको हो । इनोभेटिभ भिजन प्रालिले चितवन राष्ट्रिय निकुञ्जका सबै मध्यवर्ती सामुदायिक वनका र २४ सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई एक दिनका दरले यसै साताबाट तालिम दिन सुरु गरेको हो ।

तालिमको संयोजन गरिरहनु भएका वातावरण पत्रकार कोमलचन्द्र भगतका अनुसार इनोभेटिभ भिजन प्रा.लिका वातावरणविद् डा .नानीमैया सुजखु, सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. रविशर्मा अर्याल, केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका पूर्व महानिर्देशक फणिन्द्रराज खरेलले तयार गर्नुभएको कार्यपत्रका आधारमा स्थानीय स्रोत व्यक्तिले प्रस्तुतीकरण गरेर तालिम दिनुभएको छ ।

पत्रकार भगतका अनुसार एउटा कक्षामा ४० देखि ४५ जना सहभागी हुनेछन् । तीमध्ये आधा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । तालिम सेप्टेम्बर महिनाभित्रमा सम्पन्न गर्ने गरी भइरहेको भगतले जानकारी दिनुभयो । गएको आइतबार मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनबाट तालिम सुरु भएको हो । चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान मृगकुञ्जका अध्यक्ष एवं तालिमका सहजकर्ता वसन्त रानाका अनुसार तालिमले ऐन कानुनका विषयमा समेत उपभोक्ताहरुलाई पूर्णरुपमा जानकारी गराएर संरक्षणमा टेवा पु¥याइने जानकारी दिनु भयो । यो तालिम मार्फत चितवनमा ७ सय ५० गरी देशभरका १० हजार जनालाई वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना जगाउने लक्ष्य लिइएको छ ।रासस

 

भदौ ९, रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा भोली सोमबार हुने खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको राष्ट्रिय गोष्ठीमा खानेपानीमा कर लगाउने सरकारको तयारी र मुहान संरक्षणका विषयमा नीतिगत बहस हुने आयोजकले जनाएको छ । महासंघको २२औं स्थापना दिवसको अबसरमा आयोजना गरिएको गोष्ठीमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र सामधान विषयक गोष्ठीको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको हो । नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादबले उद्घाटन गर्ने सो कार्यक्रममा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी २५० बढीको सहभागिता रहने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए । स्थापना दिवसको अबसरमा खानेपानी र सरसफाईको क्षेत्रमा समाचार लेख्ने चार जना पत्रकारलाई महासंघले पत्रकारिता पुरस्कार प्रदान गर्नेछ ।

गोष्ठीमा अधिबक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइको कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत पैरवीका सवालहरु, खानेपानी तथा सरसफाइ विज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दीगो विकासको लक्ष्यको स्थानीयकरण, खानेपानी तथा सरसफाइ विज्ञ छबी गौडेलले अन्तर विश्लेषण, आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख निरन भट्टराईले खानेपानीमा कर नीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा महासंघका उपाध्यक्ष महासंघको संगठन र नीतिगत सवालबारे प्रस्तुतीकण गर्ने छन् । महासंघका अध्यक्ष अर्यालले खानेपानीमा आयकर लगाउने निर्णय सरकारको निर्णय फिर्ता हुनुपर्ने बताए । खानेपानी वितरणमा भोग्दै आएका अनेकौै समस्या सहित खानेपानीमा २५ प्रतिशत कर लगाउने विषयको औचित्यका बारेमा छलफल हुने बताए । खानेपानीको मुहान सुक्दै गइरहेको भन्दै उनले भविश्यमा हुने खानेपानीको अभावलाई मध्यनजर गरी अहिले नै नीतिगत सुधार गर्नुपर्ने बताए । खानेपानीको मुहान सुक्दै जादा खोला र भूमिगत पानी तानेर आपूर्ति गर्नुपर्ने अबस्था आउदै छ अध्यक्ष अर्यालले भने सरकारले विद्युत महसुल र इन्धनमा खानेपानी संस्थालाई सहुलीयत दिनुपर्छ । भावी पुस्काको लागि पानी जोगाउने दायित्व महासंघको काँधमा रहेको भन्दै उनले त्यसका लागि मुहान तथा स्रोतका संरक्षणका लागि कार्ययोजना सहित काम गर्ने बेला आएको बताए । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा खानेपानी महासंघ रत्ननगरका अध्यक्ष माधव अर्यालले खानेपानी संस्थालाई विद्युत महसुलमा ५० प्रतिशत छुट दिनुपर्ने बताए । खानेपानी वितरणलाई सहज बनाउन सरकारसंग छुट मागिरेहका बेला राज्यले आयकर लिने नीति दिनु गलत भएको बताए । मुलुकभर ४५ हजार वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रहेका छन् । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आयकर लिने सरकारको निर्णय व्यवहारिक नभएको तर्क गरे । उपभोक्ता संस्थाबाट सञ्चालिन खानेपानी संस्थाको सेवाक्षेत्र ८२ प्रतिशत र सरकारबाट सञ्चालित खानेपानी संस्थाको सेवा क्षेत्र १८ प्रतिशत रहेको महासंघले जनाएको छ । रत्ननगर खानेपानी सचिव प्रताप डल्लाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Subcategories