News

चैत २९, चितवन ।
इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) बिहिबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा बिहिबार बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ । एकअर्कालाई अंगालो हालेर ईद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन् । हिजरी संवतको रमजान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि जकात अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । ईदको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

चैत २९, काठमाडौं ।

तस्बिर : सुरेन्द्र थापा

विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उपाध्यायलाई सम्मान अर्पण गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी , रुद्राक्षरफूलको माला र टीका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा मिलापका सम्पादक कृष्ण भूसालले सम्मानित स्रष्टा डी।आर।को परिचय राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डा।उपाध्यायले आ(आफ्नो मन्तव्य राख्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्मान गरिएको कार्यक्रममा विशेष अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त बित्यासी, समालोचकहरू प्रमोद प्रधान र प्राडा गोविन्दमान सिंह कार्की, साहित्यकारहरू खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति थियो । कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी, गायक संगीतकार सागर अधिकारी ‘शरद’,लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले गर्नु भएको थियो । डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो । 

रत्ननगर, चैत्र २८ । रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरले स्वर्ण महोत्सव मनाउदै छ । मन्दिर संरक्षण समितिले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी स्थापनाको पचासौं बर्ष मनाउन थालेको हो । समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी चैत २९ गतेदेखि बैशाख ५ गते सम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउन थालेको जानकारी दिएको हो । २९ गते बुधबार मन्दिर, गुरुकुलम र धर्मशाला परिसर सरसफाई, ३० गते दीपप्रज्वलन, बैशाख १ गते विश्वशान्तिको कामना गर्दै रुद्राभिषेक, २ गते विद्यालय स्तरीय बक्तृत्वकला तथा कविता बाचन, ३ गते शंखध्वनी तथा खैजडी भजन प्रतियोगिता, ४ गते मुठीदाता,अक्षयकोष दाता भेला तथा सन्तमहन्तबाट धार्मिक प्रबचन र ५ गते स्वर्ण महोत्सब उद्घाटनसंगै स्वर्ण स्तम्भ अनाबरण, स्वर्ण स्मारिका विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरिएको संरक्षण समितिका अध्यक्ष नेमराम शर्मा पौडेलले जानकारी दिए । पूर्वी चितवनको धार्मिक धरोहरको रुपमा विकास भइरहेको सो मन्दिरको स्वर्ण महोत्सवलाई भब्य तयारी गरिएको मन्दिर संरक्षण समितिका बरिष्ठ उपाध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए । २०२८ सालमा स्थापना भएको सो मन्दिरले २०४९ सालबाट संस्कृत गुरुकुलम सञ्चालनमा ल्याएको छ । संस्कृति विद्याको संरक्षण र पण्डित उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो गुरुकुलममा अहिले ७० जना विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्म पढाई हुने सो विद्यालयको बार्षिक खर्च ७० लाख रहेको मन्दिर व्यवस्थापन समितिका सचिव सोमप्रसाद भट्टले जानकारी दिए । मुठीदान, महर्शी फाउण्डशेन, सरकारी अनुदानबाट सो विद्यालय सञ्चालनमा रहेको उनले जानकारी दिए । पछिल्लो समय हरिहर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न धर्मशाला निर्माण भइरहेको छ । सरकार र जनस्तरबाट सहयोग संकलन गरी धर्मशाला निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक शंकर गिरीले बताए । देश विदेशबाट आउने तिर्थालुहरुलाई आवासीय सुविधा सहित राख्न सकिने गरी सुविधा सम्पन्न धर्मशाला भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

 

Subcategories