News

मंसीर २३, रत्ननगर ।

रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । प्रतियोगिताको तयारी लगभग पुरा भएको र चितवन सहित मकवानपुर र नवलपरासी गरी तीन जिल्लाका १० वटा टिमको सहभागिता रहने क्लवका अध्यक्ष बसन्त रानाले बताए । राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष रानाले बताए । प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ५५ हजार ५५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७७७ रुपैया पुरस्कार सहित उपाधि प्रदान गरिने खेल संयोजक विवेक अम्गाईले जानकारी दिए । प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विधामा खेलाडीहरुलाई नगद पाँच हजारका दरले पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट खेलाडी, हाइस्कोर, उदयमान खेलाडीलाई पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले रत्नप्रिय क्लवले फुटबल प्रतियोगितासंगसंगै सामाजिक क्षेत्रमा समेत योगदान गरिरहेकाले स्थानीय सरकारले सहकार्य गरेको बताए । स्थानीय सरकारसंग सहकार्य गरेर क्लवले चेतनामुलक,सरससफाई जस्ता कार्यक्रम गरिरहेको भन्दै उनले युवाहरुको कामले आफु उत्साहित भएको उनले बताए । वडाध्यक्ष अधिकारीले रत्नप्रिय क्लवको प्रयासले टिकौलीचौर सुन्दर बनेको बताए । कार्यक्रम क्लवका सचिव विजय लामाले सञ्चालन गरेका थिए ।

मंसीर २२, चितवन ।


लायन्स क्लब अफ चितवन कालिका लेडिजको आयोजना, स्काप किड्स कसमस मन्टेश्वरीको संयोजन र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना एवं महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिविरमा १ सय जना महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको थियो । जस मध्ये ७० जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य २० जनालाई थप उपचारको लागि भरतपुरका विभिन्न अस्पतालहरुमा रिफर गरिएको छ । लायन्स क्लब अफ चितवन कालिका लेडिजकी अध्यक्ष शोभा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाकी उप प्रमुख बिमला तामाङ प्रमुख अतिथि रहनु भएको थियो । गाउं घरका महिलालाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य सचेतना कार्यक्रमले महिलाहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान सचेत गराएको क्लब कि अध्यक्ष शोभा लामिछानेले बताउनु भयो ।

आफु क्लबको अध्यक्ष भए देखि अति विपन्न परिवारलाई खाद्यन्न, लत्ताकपडा सहयोग, उपचार खर्च अभाव भएका विरामीलाई उपचार खर्च सहयोग र समुदाय लक्षित कार्यक्रमहरु क्लबले गर्दै आएको अध्यक्ष लामिछानेलले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि टिकाराम रेग्मी, लायन दिपेन्द्र खतिवडा, लायन योगेन्द्र नाथ अधिकारी, लायन, निरज श्रेष्ठ अतिथिहरु लायन मधुर नेपाल, लायन भिम बहादुर नेपाल, लायन्स क्लब अफ कालिकाका पुर्व अध्यक्ष सिपी अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि तामाङलाई लायन्सको पिन लगाएर मानार्थ सदस्यको रुपमा सम्मानित गरिएको थियो । विरुवामा जल राखी उद्धघाटन गरिएको कार्यक्रम लायन रिता भट्ट पाठकले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम क्लबकी अध्यक्ष एवं स्काप किडस कसमस मन्टश्वरीकी फाउण्डर प्रिन्सीपल शोभा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम स्काप किड्स कसमस मन्टेश्वरी कालिका ६ जमुनापुरमा आयोजना गरिएको थियो ।

मंसीर २२, चितवन ।
पर्यटकीय नगरी चितवनको सौराहामा यस वर्ष हात्ती महोत्सव हुने भएको छ । ४ वर्षदेखि रोकिएको हात्ती महोत्सव यो वर्षबाट फेरि सुरु गर्न लागिएको हो। पुस १० गतेदेखि १४ गतेसम्म क्षेत्रीय होटल संघ नेपाल सौराहाले १७ औं हात्ती तथा पर्यटन महोत्सवका रूपमा मनाउन तयारी गरेको छ। कोभिडको संक्रमणका कारण सन् १०१८ पछि हात्ती महोत्सव हुन सकेको थिएन। सौराहामा अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउनका लागि हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए । लामो समयदेखि रोकिएको हात्ती महोत्सव पर्यटक भित्र्याउने उद्देश्यले यस वर्ष देखि नयाँ ढंगले गर्न लागेको पाण्डेले बताए । विगतको भन्दा यस पटक संस्करणमा हात्ती महोत्सवलाई केही परिमार्जन गरिएको छ। हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरिने आयोजकले जनाएको छ। यसपटक हात्तीलाई दुःख नहुने खालका गतिविधि गरिँदैछ। पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौड यसपटक हुँदैन। यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गरिने भएको छ।

साथै डुंगा दौड, पर्यटकीय गोष्ठी र सेमिनार पनि हुने क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले बताए । ‘पशुअधिकारकर्मीले भनेका सुझावलाई मनन् गरेर हात्तीलाई दुःख नदिने खालका गतिविधि हुने थपलियाले बताए । हात्ती मात्रै होइन पर्यटन महोत्सवको स्वरूपमा परिमार्जन गरिएको पनि थपलियाले बताए । महोत्सव अवधिमा गोष्ठी र सेमिनारसहितको कार्यक्रम आयोजना गरिने थपलियको भनाइ छ ।

हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता हो। हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङन हात्तीको सुन्दरीको उपाधि दिइन्छ। त्यस्तै हात्तीको वनभोज अर्को आकर्षण हुनेछ। हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइन्छ। पशु चिकित्सक र प्राविधिकसहित सामूहिक वनभोज गराइन्छ। यसपटक ३० वटा निजीसहित ४० हात्ती सहभागी गराइँदैछ। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए। कोभिड महामारीको कारण सन् २०१८ देखि हात्ती महोत्सव रोकिएको थियो। यसपटक हात्ती महोत्सवको स्थान पनि परिवर्तन गरिएको छ। यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा गरिँदै आएको हात्ती महोत्सव यसपटक चित्रसारीको चौरमा गर्न लागिएको हो। महोत्सवले बाह्यसँगै आन्तरिक पर्यटक आउने क्षेत्रीय होटल संघ सौराहा कोषाध्यक्ष माधव दुवाडीले बताए। महोत्सव सफल बनाउन यस पटक प्रचार–प्रसारका लागि ट्राभल एजेन्सीसहित विदेशी मिडियालाई पनि लक्षित गरिएको दुवाडीले बताए ।

Subcategories