News

मंसीर १९, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको हो। परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा आयोजना गरिएको हात्ती पूजा आयोजक चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए। हिन्दु धार्मिक मान्यताअनुसार हात्तीलाई गणेश भगवानको प्रतिकका रूपमा मानिने भएकाले मंगलबार पारेर पूजा कार्यक्रम राखेका हौं उनले भने, पूजाका माध्यमबाट हात्ती मानवबीच आत्मीयता बढाउँदै दिगो संरक्षणमा टेवा पुग्ने हाम्रो बिस्वास छ। गुरुवाबाट हात्तीको पूजा गरिएको छ। गुरुवाले पूजा मार्फत जंगली हात्तीलाई जंगल बाहिर आउन नसक्ने गरी विधिपूर्वक झारफूक गरेर मन्त्रद्वारा बाधेको अध्यक्ष आचार्यको भनाइ छ। पूजा पश्चात हात्तीलाई फलफूल, उखु, मिष्ठान्न भोजन गराएको छ । निकुञ्जको आर्थिक सहयोगमा आयोजित हात्ती पूजा कार्यक्रममा संरक्षणका क्षेत्रमा कार्यरत एक दर्जन संस्थाहरूले सहकार्य गरेका छन्। हात्ती पूजा कार्यक्रम मार्फत पर्यापर्यटनलाई समेत सहजीकरण हुने अपेक्षा गरिएको छ ।

मंसीर १९, चितवन ।

मंसीर १९, चितवन
अमेरीकामा बसोबास गर्ने नेपालीहरुले सञ्चालन गरेको संस्था नेपाल जर्नी नामक संस्थाले चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ वडा कार्यालय संगैं रहेको खाली जग्गामा अपांगमैत्री विद्युतिय पुस्तकालय भवन निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका कार्यपालिकाको निर्णय अनुसार नेपाल जर्नी संस्थालाई भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय पश्चात भरतपुर महानगरपालिका, नेपाल जर्नी अमेरीका र नेपाल जर्नी चितवन बिच संयुक्त रुपमा सम्झौता भएको हो । अपांगमैत्री भवन निर्माणको लागि भरतपुर महानगरपालिकाले २ कठ्ठा १० धुर जग्गा नेपाल जर्नी संस्थालाई उपलब्ध गराएको छ । भित्री सजावट बाहेक ३ करोड २२ लाख रुपैंयाको लागतमा निर्माण हुन लागेको भवनको बिल्डकोन डिजाइन एण्ड डेभलपर्स प्रा.लि. भरतपुरले निर्माण सम्झौता गरेको छ । कन्ट्रयाक्टर र कन्सल्टेन्ट स्वयं रहेको प्रा.लि.ले यहि मंसीर १२ गते भवन निर्माण सम्झौता गरेको हो । कम्पनीले दुइ वर्ष भित्र अर्थात वि.सं. २०८२ जेठ २ गते सम्ममा निर्माण कार्य पुरा गरी संस्थालाई हस्तान्तरण गरिसक्नु पर्ने छ ।
शिक्षाबाट बञ्चित विपन्न परिवारका बालबालिकाहरुलाई लक्षित गरी उनीहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले संस्थाको स्थापना गरिएको नेपाल जर्नीका नेपाल शाखा अध्यक्ष कमलप्रसाद आचार्यले बताउनुभयो । अपांगमैत्री विद्युतीय पुस्तकालय निर्माणका लागि महानगर संग सम्झौता भए संगै निर्माण शुरु गर्न लागिएको अध्यक्ष आचार्यको भनाइ छ । यस परियोजना मार्फत निर्माण हुने भवनको काम यथाशिघ्र सम्पन्न गर्न भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उप प्रमुख चित्रसेन अधिकारीले सहजीकरण गर्नु भएको छ । यस संस्थाले यस अघि पनि विभिन्न ठाउंहरुमा विद्यालय निर्माण, विद्यालय पोशाक, शैक्षिक सामाग्री वितरण लगायतका कामहरु गरिरहेको छ ।

 

मंसीर १९, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो । कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै सौराहामै गत वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ । तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुईवर्ष अघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको अन्दाजी १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइको अन्दाजी १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन । चितवन निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । सोही ठाउँमा बाघ राख्नका लागि दुईवटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघ पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ । हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । ठाउँ, जनशक्ति र आहाराका कारण बाघको व्यवस्थापन कठिन बनेको हो । सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुईवटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

Subcategories