News

मंसीर २३, सौराहा । तस्विर कोमल चन्द्र भगत । 

चितवन नेपाल बार एशोसिएसनले मानवअधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गर्नुभएको हो । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् । सो अवसरमा न्यायाधीश आनन्दमोहन भट्टराईले न्यायलयको विश्वास कायम गर्न पारदर्शीताको मार्ग अपनाएको बताउनुभयो । जसको कारण न्यायलयको गरिमा बढाउन गोला प्रथा विधि अपनाएको स्पष्ट पार्नुभयो । उहाँले संकटमा बार र बेन्च एक ठाँउमा उभिएको सम्झिदै भट्टराईले न्यायलयको विश्वास गुम्न नदिएको दावी गर्नुभयो । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उहाँले भन्नुभयो, “इजरायलमा रहेका नेपालीलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ । इजरालयमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।” अहिले पनि विपिन जोशी हमासको कब्जामा रहेको र उहाँको रिहाइका लागि आवाज उठाइने उहाँले बताउनुभयो ।

सम्मेलनमा विश्वभरी घटेका घटना र नेपालमा मानव अधिकारको अवस्था र सरकारको कार्यशैली र उसको दायित्वको विषयमा छलफल भईरहेको छ । टिकटक बन्द गर्ने सरकारको कदमले प्रेस स्वतन्त्रता माथीको हस्तक्षेप भएको ठहर गर्दै बारले यसको विषयमा समेत संस्थागत रुपमा धारणा सार्वजनिक गर्ने नेपाल बार एशोशियन चितवनका अध्यक्ष खगराज कँडेलले जानकारी दिनुभयो ।


माडी, २४ मंसीर ।
माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका सुर्य अधिकारीको पनि दुखद् मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ४० बर्ष उमेरका, माडी न.पा.१, बरुवा बजार, चितवन निवासी नेपाली काँग्रेसका युवा नेता एवं सोमेश्वर माध्यमिक विद्यालय, माडी १, बरुवा, चितवनमा कार्यरत लेखापाल सुर्य अधिकारीको समेत मृत्यु भएको हो ।
दुर्घटनालगत्तै बघौंडा अस्पतालमा प्राथमिक उपचार भई थप उपचारका लागि भरतपुरस्थित सि.एम.सी. अस्पताल लगिएका अधिकारीको मध्यरात करीब १२ः४५ बजे मृत्यु भएको परिवार श्रोतले जनाएको छ । दिवंगत अधिकारीको हात र खुट्टा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
सोही दुर्घटनामा पर्नुभएका सिम्ता गाउँपालिका.३, आग्रीगाउँ, सुर्खेत निवासी शिक्षक बेगबहादुर खत्रीको उपचारका क्रममा बघौंडा अस्पतालमा शनिवार साँझ करीब ६ः३० बजे निधन भएको थियो । दुर्घटनामा परी घाइते हुनुभएका तेश्रो व्यक्ति (शिक्षक) भुवानी पौडेलको भरतपुरमै उपचार चलिरहेको छ ।
शनिवार साँझ करीब ६ बजे चितई पुलमाथि लु. २ च. २५०८ नम्बरको बोलेरो गाडीले शिक्षकहरू सवार बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो भयानक दुर्घटना भएको हो । दुर्घटनामा परेको बोलेरो गाडी र त्यसका चालक साथै दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।


रत्ननगर, मंसिर २४ । तस्विर कोमल चन्द्र भगत ।

चितवनको पर्यटकीय नगरी सौराहामा ुगोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धताु भन्ने मुल नाराका साथ गोही संरक्षण मेला भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा शनिवार मेला भएको हो । मेला संयोजक रञ्जना भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुन रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको बताए । उनले भने, गोही संगसंगै माछा पनि संरक्षण गर्नुपर्छ तब मात्र गोही पनि संरक्षण हुन्छ, माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्छन् । घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाईने हुनाले गोही भारतसम्म जाने भएकाले यस्को संख्यामा कमी देखिएको उनको भनाई छ । यसको संरक्षणमा सरकार, निकुञ्ज, संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय समुदाय एकजुट हुन जरुरी रहेको बताए ।मेला संयोजक रञ्जना भट्टले गोहीको संरक्षण गर्न नदिको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताईन् । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जथाभावी निकाल्नु, माछा मार्नु, माछा मार्न प्रयोग गरिने जालका कारण गोहीको संख्या घट्दै गएको बताईन् । समुदाय स्तरमा गोहीको संरक्षणको सचेतना फैलाउन मेला आयोजना गरिएको संयोजक भट्टले बताईन् । देशभर २५० को हाराहारीमा घडियाल पाइने उनले बताइन् । कार्यक्रममा रत्ननगर वडा नं। ७ का वडा अध्यक्ष सजना महतो, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता प्रमुख अनिल प्रसाई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पुष्पराज श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो । नदी प्रदुषण र माछा मार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटापन्न अबस्थामा छ ।

Subcategories