News

चितवन,१७ मंसिर। तस्विर कोमल चन्द्र भगत ।


चितवनका अधिकांश स्थानीय तहले लैङ्गिक समावेशीकरणको नीतिगत व्यवस्थामा मापदण्ड अनुरुप काम नगरेको पाइएको छ ।
स्थानीय तहले आफ्नो नीति तथा योजनामा पन्ध्रौँ वर्ष वर्षीय योजना अनुरुप नीतिगत व्यवस्थाको साथै लैङ्गिक समावेशीकरणका वार्षिक योजनाहरु बनाउनुपर्नेमा नबनाइएको पाइएको हो । चितवनमा सात वटा स्थानीय तह छन् । उनीहरुले मुख्य गरि भौतिक निर्माण तथा ठूलो मात्रामा आर्थिक क्रियाकलाप हुने विकास निर्माणका काममा नीतिगत व्यवस्था गरेपनि लैङ्गिक समावेशीकरण, हिंसा प्रभावितको पुर्नस्थापनालाई नीतिगत सम्बोधन लगायतका सामाजिक विकासका कामहरु नगरेको पाइएको हो । चितवनमा शनिबार चितवन सक्रिय महिला प्रतिष्ठान र मर्यादित महिनावारी पत्रकार, समूहले संयुक्त रुपमा गरेको जिल्लामा हिंसाको तथ्यगत अवस्था र नीतिगत व्यवस्था बारेको सार्वजनिक सुनुवाइमा सरोकारवालाहरुले सामाजिक विकासमा काम नगरेको तथ्य पेश गरेका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार प्रतिमा सिलवालले अझै पनि जिल्लाका पाँच वटा स्थानीय तहले न्यायीक सुनुवाईको लागि इजलासको व्यवस्था नगरेको पाइएको बताइन् । त्यसैगरि स्थानीय तहले लैङ्गिक हिंसा प्रभावितका लागि अल्पकालिन तथा दीर्घकालिन पुर्नस्थापना गृह लगायतका व्यवस्थाको लागि नीति तथा वार्षिक योजनामा चासो नदेखाएको कार्यपत्रमा उल्लेख गरिएको छ । 
भरतपुर, माडी तथा कालिका नगरपालिका लगायतका स्थानका महिला तथा अन्य सरोकारवालाहरुले पनि स्थानीय तहहरुले न्यायीक प्रकृयामा कमजोर भूमिका निभाएको बताएका थिए । हिंसा प्रभावित महिलाहरुको लागि अल्पकालिन आश्रयस्थल सञ्चालन गरिरहेकी मञ्जु खाँडले स्थानीय तहले पनि सेल्टर होमको व्यवस्था गर्नुपर्ने बताइन् ।
श्रमिक नेपालका अध्यक्ष साबित्री पौडेलले न्यायीक समिति र वडा तहको मेलमिलाप केन्द्र पीडित मैत्री नभएको गुनासो गरिन् । पत्रकार तथा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालले संचालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, जिल्ला प्रहरी कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी नीरिक्षक सरिता विश्वकर्मा, अधिवक्ता पवित्रा सुवेदी, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणी ज्ञवाली, माइती नेपालका संयोजक इश्वर गिरी लगायतले आफ्ना भनाइ तथा प्रश्न राखेका थिए । कार्यक्रमको आवश्यकता र प्रभावको विषयमा चितवन सक्रिय महिला प्रतिष्ठानको कार्यक्रम संयोजक सुजता वर्तौलाले जानकारी गराएकी थिईन् । सोही अवसरमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रतिवद्धता जनाउँदै सहभागीहरु हस्ताक्षर कार्यक्रममा पनि सहभागी भएका थिए ।

चितवन, मंसिर १६ ।

जलदेवी सामुदायिक बन उपभोक्ता समूहको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको सम्योजनामा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जलदेबी सामुदायिक वन उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष ऋषिकेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मानव बेचबिखन र उत्पिडनमा परेका महिलाहरुको हकहित र अधिकारका विषयकसंगै घरेलु हिंसामा परेका महिलाहरुको अवस्था र यसको निदानका लागि सामाजिक संघसंस्थाहरुले खेल्नुपर्ने भूमिका जस्ता विषयमा अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक शाहील बुढाथोकीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध नागरिक समाजका प्रतिनिधि, टोलसुधारका प्रतिनिधि र सामाजिक ब्यक्तित्वहरु र ५० जना महिलाहरुको सहभागीता रहेको थियो । जल देवि सामुदायिक वन उपभोक्ता समुह र भरतपुर महानगरपालिका वडा नं. २ का पुर्व अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो ।

मंसिर १४, चितवन ।

तस्विर ः कोमल चन्द्र भगत

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित पक्राउ परेका आठ जनालाई आज विहिबार सार्वजनिक गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तस्कर पक्राउ गर्न खटिएको थियो । गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट ६ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट २ जना पक्राउ परेका पत्रकार सम्मेलनमा जानाकारी दिएको छ । पक्राउ पर्नेहरूमा मकवापुर हेटौंडा ३ लेबर्ट बस्ने वर्ष ३३ का रमेश खाती, चितवन राप्ती नगरपालिका ११ थाकलटार बस्ने वर्ष ४२ का पासाङ भनिने आइते सिंह मोक्तान, मकवानपुर राक्सिराङ ९ घर भई हाल हेटौडा ४ बस्ने वर्ष ४४ का समसेर थिङ, मकवानपुर मनहरी ६ का वर्ष ५६ का थिङ बाजे भनिने सिताराम थिङ, रोल्पा सुनछहारी ६ फगाम घर भै हाल मकवानपुर हेटौंडा ५ बस्ने का वर्ष २८ का अर्जुन रोका, गोर्खा बारपाक घर भई हाल भरतपुर महानगरपालिका वडा नं. ११ लामा टोल बस्ने वर्ष ७७ का घले भनिने धन बहादुर गुरुङ र चितवनको कोराक घर भई हाल चितवनकै राप्ती नगरपालिका वडा नं. ११ थाकलटार बस्ने वर्ष ४० का उन बहादुर स्याङतान रहेका छन् । उनीहरुको साथबाट १८ इन्च गोलाई, ६ इन्च उचाइ भएको ४ सय ८० ग्राम र ११.८ इन्च गोलाई, २ इन्च उचाई भएको ६० ग्राम तौलको २ थान गैंडाको खाग, झोला, भरुवा बन्दुक, बञ्चरो, चक्कु १÷१ थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा ५ थान, गुलेली १ थान, टर्च लाइट १ थान, घरमा बनाएको झोला १ थान, डिक्ची १ थान, पटका बारुद ५ थान, ब्लाङकेट २ थान, ना २४ प ४२३४ को निलो कालो रंगको १८० सिसि को पल्सर मोटरसाइकल १ थानर ना ३६ प ५५०१ एनएस रातो रंगको १५० सिसिको पल्सर मोटरसाइकल १ थान बरामद गरिएको छ । गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगत रूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ । निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो ।

घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।  सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ गैँडा रहेका छन् । नेपालमा ७ सय ५२ गैँडा छन् ।

Subcategories