News

मंसीर २९, सौराहा । तस्विर: कोमल चन्द्र भगत  । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव गर्न लागेका हुन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गतेसम्म मैनाहा चौरमा महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी कोभिड–१९ को सङ्क्रमणका कारण चार बर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गर्न लागेको जानकारी दिएको हो । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलोपटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटन गतिविधि सुरु गरेका हुन् । साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । अधिकारकर्मीहरूले प्रश्व उठाउन थालेपछि व्यवसायीहरुले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग बि टु वी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्धनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए । महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाइमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उनको भनाइ छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

मंसीर २६, चितवन । 
रत्ननगर, मंसिर २६ । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्न प्रिय कप फुटबल अन्तर्गत मंगलवार भएको खेलमा खेलकुद विकाश समित रत्ननगर( १२ विजयी भएको छ । मिलिजुली युवा क्लब कालिकालाई १–० को गोल अन्तरले पराजित गर्दै खेलकुद विकाश समित रत्ननगर( १२ विजयी भएको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए । खेलकुद विकाश समित रत्ननगर( १२ का तर्फबाट सजिन थापा मगर जितको लागि निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा थापा मगर नै म्यान अफ दी म्याच घोषित भए । उनलाई बाघमारा बनका अध्यक्ष जितु तामाङ र सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले पुरस्कार हस्तान्तरण गरेका थिए । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । भोली बुधबारको खेल आयोजक रत्न प्रिय क्लब र हेटौँडा फुटबल एकाडेमी बीच हुने आयोजकले जनाएको छ । समेत गरिएको छ ।

मंसीर २६, चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को २० औ साधारणसभा तथा १४ औ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख अधिकारीले राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति घट्दै गएको बताउनु भयो । छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले सहकारी बिकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले अध्यक्षको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले सचिबको प्रतिवेदन र कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । त्यस्तै गोबिन्दप्रसाद पौडेलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाबुराम अधिकारीले ऋण उप समितिको प्रतिवेदन, देशबन्धु अधिकारीले शिक्षा उप समितिको प्रतिवेदन र प्रा .डा. होमनाथ सापकोटाले पदपूर्ति उप समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा भरतपुर १ का वडा अध्यक्ष केशव मर्हर्जन, चितवन उधोग संघका अध्यक्ष सुर्य न्यौपाने, जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष प्रेम नाथ दुवाडी, भरतपुर महानगरको सहकारी शाखा प्रमुख रोजि के .सि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा जेष्ठ शेयर सदस्य सुनिता देवि गौतमलाई जेष्ठ शेयर सदस्य सम्मान र अबिरल अधिकारीलाई खुत्रुके बचत सम्मानबाट सम्मानित गरिएको छ । त्यसै गरि उत्कृष्ट मासिक बचत, उत्कृष्ट मुद्दती बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट बचतकर्ताबाट केही शेयर सदस्यहरुलाइ सम्मान समेत गरिएको छ ।

Subcategories