News

बैशाख १०, चितवन । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रममा बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरेको हो । नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १, २४ र २७ लाई विपद् सामग्री हस्तान्तरण गरिएको हो । सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो । वन्यजन्तु, आगलागी, नदी डुबान र स्वास्थ्य सम्बन्धी विभिन्न २६ वटा विपद्का सामग्री प्रदान गरिएको हो । जसमा खोज तथा उद्दार सामग्रीहरु रहेका छन् । ९ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

 

बैशाख ९, रत्ननगर । बिकास पौडेल । 
चितवनको रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएको छ । कार्यपालिकाको बैशाख १ गतेको निर्णय र नगर शिक्षा ऐन २०७४ संशोधन सहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन नगरपालिकाले नगर भित्रका संस्थागत विद्यालयलाई पत्रचार गरेको हो । कुनै कक्षामा भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि शुल्क लिन नपाउने एनमा उल्लेख रहेका र उक्त ऐन पूर्णरुपमा लागू गराउन लागिएको नगर प्रमुख प्रलाद सापकोटाले बताए । नगर शिक्षा ऐन २०७४ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को दफा १४।१९२० ले समेत कक्षाको मासिक शुल्कको १ महिनाको शुल्क बराबर हुनेगरी १ पटक मात्र भर्ना शुल्क लिने व्यवस्था गरेकोमा विद्यालयमा १ पटक भर्ना शुल्क तिरी भर्ना भएको विद्यार्थीलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क लिन नपाईने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले वताए ।

 

बैशाख ९, रत्ननगर । 
रत्ननगर । चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । रत्ननगर वडा नं १ सौराहाचोकमा रहेको आनन्द होटलको सहयोगमा देवी अभियानले आयोजना गरेको सो कार्यक्रममा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको देवी अभियानको यो पाँचौं पटकको रक्तदान कार्यक्रम हो । रत्ननगरकी देवी अधिकारीले सञ्चालन गरेको अभियानले गरिव तथा सीमान्तकृत समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्यान्न, लत्ताा कपडा समेत सहयोग गर्दैै आएको छ । अभियानले रक्तदान कार्यक्रम देखि ह्विलचियर वितरण, विपन्नको उपचार, भोकालाई खाद्यान्न लगायतका कामहरु गर्दै आएको अभियानकी अध्यक्ष अधिकारीले बताइन् । चितवनमा रगतको अभाव भएको थाहा पाएपछि आनन्द होटलसंग सहकार्य गरी होटलकै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रममा देवी अभियानलाई निरन्तर सहयोग गर्ने होटलका सञ्चालक आनन्द क्षेत्रीलाई सम्मान समेत गरिएको छ ।

Subcategories