News

 

माघ २५, चितवन । तस्विर कोमल चन्द्र भगत । राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन चितवनको आदिवासी थारु जातिको बाहुल्यता रहेको पर्यटकीय क्षेत्र सौराहामा हुने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २७ र २८ गते महाधिवेशन गर्न लागेको जनाएको छ । संगठनलाई गति दिनका साथै महाधिवेशनले थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई पनि प्रवर्द्धन गर्ने मञ्चका अध्यक्ष विरबहादुर चौधरीले बताए । ‘पाँच वर्षअघि गठन भएको यो हाम्रो संगठन थारु कलाकारहरुको क्षमता बढाउन, पेशाको संरक्षण गर्न क्रियाशिल रहि थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको अध्यक्ष चौधरीले बताए ।

अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोक नाच, लोक गीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उनले बताए ।

दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा कर्‍या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।

 

थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताए । थारु समुदायमा प्राचिन लोकभाका र लोकगीतहरु हुर्डुङ्ग्वा, झुम्रा, संख्या, सज्ना, मैना, मांगर, धमरा, धुम्रु, मघौटा, छोक्रा, महोत्या, विरहैन, चाँचैर, बाह्रमासा, तीनमासा, दिन नचवा, अध्यरत्याहरु छन् । त्यसै गरी थरी थरीका लोकनृत्यहरु छन् ।

लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताए ।

अधिवेशनमा यस्ता मौलिक सिर्जना र साधनहरुका बारेमा परिचर्चाहरु हुने उनले बताए । त्यसै गरी थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु, अन्डीको भात, चिच्चर, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार लगायतका खाना अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।

थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पुर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रतगैंयाले जानकारी दिए । प्रत्येक जिल्लाबाट पाँचजना प्रतिनिधि र एकजना पर्यवेक्षक आउने छन् । अधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताए ।

 


माघ २५, रत्ननगर ।  तस्विर कोमल चन्द्र भगत । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलमा सिन्धुलीको लोभलाग्दो मगर बाजा सहित राष्ट्रिय कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् । यस बर्ष फेस्टिबलमा सिन्धुलीको कर्ने मगर बाजा ल्याइदैछ । याक्सिस व्याण्ड सहित द न्याटिभ व्याण्ड र नोटेसन व्याण्डको पनि प्रस्तुती रहने छ । पाँच फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिबलमा मेलिना राई, मिलन रेवार, रामेशराज भट्टराई, साहिमा श्रेष्ठ, खेम सेन्चुरी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, आर्जुन सापकोटा, प्रिती आले, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, शान्तिश्री परियार र चर्चित हास्य कलाकार पूर्खे बा को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक तथा रेवान सौराहाका महाुसचिव नवीन नेपालले जानकारी दिए । प्रणय दिबसको अबसरमा आयोजित सौराहा फूड फेस्टिबलमा सोही दिन याक्सिस व्याण्ड सहित खेम सेन्चुरी, रमेशराज भट्टराई, सम्झना भण्डारी र पूर्खे बा को प्रस्तुती रहने छ । फेस्टिवलमा स्थानीय कलाकार सहित रत्ननगर कला मन्दिरको समेत प्रस्तुती रहने छ । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोड्ने योजना रहेको गिरीले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए । फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

माघ २३, चितवन । । भरतपुर महानगरपालिकाको आयोजनामा सञ्चालन भएको नमुना नगर युवा सभा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र महानगरका जनप्रतिनिधिको उपस्थितिमा सहभागिहरुले नमुना नगर युवा सभाको प्रस्तुती दिएका थिए । नमुना नगर सभामा भरतपुर युवा सञ्जालका अध्यक्ष अञ्जान दवाडीले नगर अध्यक्ष र सहसचिव विभा पाण्डेले नगर उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । बाँकी सहभागिले नगर सभासदको भूमिका निर्वाह गरेका थिए ।
नमुना नगर सभाका लागि महानगर सभाहलमा संसदीय मामिलाका विज्ञ रमाकान्त पौडेलले ३ दिनको प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा महानगरका २९ वटा वडाबाट १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ३९ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिनुभयो  ।
युवा नेतृत्व, महानगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा गरिएको नमुना नगर सभा मध्ये अहिलेसम्मकै उत्कृष्ट नमुना सभा  भएको बताउनुभयो । प्रमुख दाहालले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । युवा सञ्जाल महानगरको एक निकाय भएकाले हरेक गतिविधिमा जिम्मेवार र उत्तरदायित्व भएर अगाडि बढ्न प्रमुख दाहालले अनुरोध पनि गर्नुभयो । भरतपुर महानगरपालिकाले युवाहरुको विकासका लागि वार्षिक रुपमा ठुलो रकम विनियोजन गर्दै आइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वागमती प्रदेशका युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, राष्ट्रिय युवा परिषदका उपसचिव कर्ण बहादुर कुँवर, नमुना नगर सभाका अध्यक्ष अञ्जान दवाडी, उपाध्य विभा पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । गत माघ १२ गते महानगरस्तरीय ११ सदस्यीय कार्य समिति गठन भएको थियो । वडा क्लब गठन तथा नमुना युवा संसद कार्याविधि २०७५ अनुसार प्रत्येक दुई दुई वर्षमा नमुना नगर सभा गर्नुपर्ने उल्लेख छ ।

Subcategories