News

११ फागुन, चितवन । एक सिजन मात्रै खेती हुने चितवनको हरैया क्षेत्रमा यसपटकदेखि भने चार सिजनसम्मै खेती लगाउन पाइने भएको छ । किनकी यहाँ भूमिगत पानीबाट सिँचाइ सुविधा पुगेको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना अन्तर्गत उपभोक्ता समितिमार्फत बनेको गौरवशील हरैया डिप ट्युबवेलको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बिहीबार उदघाटन गरेकी छन् । कार्यक्रममा गाउँलेहरुले पञ्चैबाजा बजाएर नाच्दै खुशियाली मनाए । छमछमी नाचेका भरतपुर महानगरपालिका–१७ का मानबहादुर बस्नेतले भने, ‘बर्खामा धान हुन्थ्यो त्यो पनि भदौतिर, त्यसपछि खासै खेती हुन्थेन, सुख्खा थियो, अब भने सबैतिर सिंचाइ गर्न सकिने डिप ट्युबवेल बन्यो, खेती उब्जाउ गर्न सजिलो हुने भयो । अब धेरै सुविस्ता हुने देखेँ ।’महानगर प्रमुख दाहालले बिहीबार भरतपुर–१७ मा बनेको २ वटा डीप ट्युबवेल र १८ स्यालो टयुबवेलको उद्घाटन गरेकी छन् । समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको २ करोड ९३ लाखको लागतमा वडा नं। १७ मा मात्रै २० वटा ट्युबवेल सञ्चालनमा आएका छन् । १ डीप ट्युबवेल निर्माणको चरणमा छ । १७० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने आयोजनाबाट ३ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा नं। १७ का ४÷५ सय बिघा बञ्जर जमिनमा सिँचाइ सुविधा पुगेको स्थानीय प्रकाश खड्काले बताए ।भरतपुर महानगरपालिकामा भूमिगत सिँचाइ कार्यालयबाट ५० वटा डीप ट्युबवेल र ३३० वटा स्यालो ट्युबवेल तथा महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ ।

अर्का स्थानीय बुद्धिबहादुर देवकोटाले गाउँघरमा डीप तथा स्यालो ट्युबवेल बनेपछि किसानहरूमा खुसीयाली छाएको बताए । उनका अनुसार निजी लगानीमा पहिला खनिएका साना बोरिङबाट किसानहरूले सिंचाइका लागि घण्टाको ४ सय रुपैयाँ तिर्नुपर्नेमा सरकारी तहबाट डीप ट्युबवेल बनेपछि पैसा बचत हुनेछ । डीप ट्युबवेलबाट २ घण्टामा नै ५÷६ विघा भिजाउन सकिने देवकोटा बताउँछन् । अर्का स्थानीय सूर्यहरि मरहट्टाले पहिले बर्खामा मात्रै धान खेती गर्ने किसानहरूले यसपटक चैते धान लगाउने तयारी गरेको बताए । डीप ट्युबवेल बनेपछि बेमौसमी तरकारी खेती र अन्य हिउँदे बाली लगाउन धेरै सजिलो भएको भन्दै किसानहरूले आफ्नो जमिनको अधिकतम सदुपयोग गर्न सक्ने मरहट्टाले बताए । स्थानीय विश्वनिधि पौडेल, जीवनराम महतो र खड्कबहादुर थापामगरले ट्युबवेलका लागि जग्गा दान गरेका थिए । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना प्रमुख देवकुमार स्याङ्बोले एक डीप ट्युबवेलबाट ४० बिघा र स्यालो ट्युबवेलबाट ४ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने बताए । उनले सुख्खा रहेको पश्चिम चितवनमा ६ महिना मात्रै खेती हुने र ६ महिना बाँझै बस्ने जमिनमा अहिले १२ महिना नै सिँचाइको सुविधा पुर्याउन सकिएको बताए । उनले विदेश जाने युवाहरूलाई स्वदेशमा नै व्यवसायिक कृषि तथा पशुपालन गरेर बस्न र मनग्य आम्दानी गर्न सिँचाइले ठूलो टेवा पुगेको आफूले पाएको बताए । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सतह सिँचाइ नभएको ठाउँमा महानगरपालिकाले भूमिगत सिँचाइको व्यवस्था गरेर किसानहरुको उर्वर जमिनलाई उत्पादनशील बनाएको बताए । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाइ कार्यालयबाट ५० वटा डीप ट्युबवेल र ३३० वटा स्यालो ट्युबवेल तथा महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । महानगर प्रमुख रेनु दाहालले महानगरपालिका भित्र मात्रै ७ हजार बिघामा भूमिगत सिँचाइ सुविधा उपलब्ध भैसकेको बताइन् । ‘देख्दा नै विरक्त लाग्ने, उराठ र तातो हावा चल्ने पश्चिम चितवनका ठूलठूला फाँटहरूमा अहिले सिँचाइ सुविधा पुगेको छ’, उनले भनिन्, ‘हिजोआज हरियाली थपिएको छ, माटोमा चिस्यान छ, किसानको मुहारमा खुसी थपिएको छ, वर्षमा चार बाली लगाउन सक्ने अवस्था आएको छ ।’ नारायणी लिफ्टलाई हिउँदमा समेत चलाउन नयाँ उपकरणहरु जडान गरिएको र परियोजना अन्तिम चरणमा पुगेको उनले बताइन् । भरतपुरमा भएका ट्युबवेलबाट किसानहरूले कुल ६ हजार १२० विघा क्षेत्रफलमा सिँचाइ सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाइ आयोजना र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत भरतपुरका कृषकले सिँचाइ सुविधा लिइरहेका छन् । झापा र चितवन जिल्लामा भूमिगत संयोजनात्मक जल सिँचाइका चार अर्ब रुपैयाँका परियोजना सञ्चालित छन् ।

 

 

 

फागुन १०, चितवन । चितवनको कालिका नगरपालिकामा निःशुल्क आंखा शिविर सम्पन्न भएको छ । आइ फोर क्याम्प चितवन, सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन, भरतपुर आंखा अस्पताल चितवन र नेपाल नेत्रज्योति संघको संयुक्त आयोजनामा निःशुल्क आंखा शिविर सम्पन्न भएको हो । चितवनका विभिन्न ६ ठाउंहरुमा आयोजना हुने ६ दिने निःशुल्क आंखा परिक्षण शिविर आज पहिलो दिन कालिका नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । शिविरमा ६ सय जनाले निःशुल्क आंखा जांचको सेवा लिएका छन् । आंखा जांच गराएका मध्य ३ सय ५६ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ भने ४ सय जनालाई निशुल्क औषधी वितरण गरीएको छ । त्यस्तै ३८ जनालाई मोतियाविन्दुको शल्यक्रियाका लागि आजै भरतपुर आंखा अस्पताल लगि शल्यक्रियाको प्रकृया मिलाइएको सपोर्ट एन केयरका संयोजक प्रकाश साहले जानकारी दिनु भयो । शिविरमा सबै उमेर समुहका मानिसहरुको आंखा जांच गरिएको थियो ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिकाकी उप प्रमुख विमला लामा, कालिका ४ का निवर्तमान अध्यक्ष कृष्णलाल श्रेष्ठ, कालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी, जर्मनी टिमका प्रतिनिधि बिग्रीट, काटीया, भरतपुर आंखा अस्पतालका बाह्यि कार्यक्रम संयोजक रमेश घिमिरे, भरतपुर आंखा अस्पतालका नेत्र अधिकृत विनोद पाण्डे, आइ क्याम्प फोर चितवनका संयोजक तथा सपोर्ट एन केयर पुर्नस्थापना केन्द्रका प्रतिनिधी प्रकाश साह, लियो जिल्ला परिषद ३२५ आर नेपालका अध्यक्ष लियो किरण लामिछाने विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य अधिकृत वासुदेव सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो । जर्मनी टिमको लगानी, सपोर्ट एन केयरको व्यवस्थापन र आइ फोर क्याम्प चितवन, भरतपुर आंखा अस्पताल, नेत्रज्योती संघ रत्ननगर, रत्ननगर नगरपालिका, कालिका नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा जर्मनी टिमका प्रतिनिधीहरु अतिथि रहेका थिए । कार्यक्रम कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

फागुन ९, काठमाण्डौं ।  काठमाडौँको नागार्जुन नगरपालिका–६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । 

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Subcategories