News

माघ २३, चितवन । 

श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी चितवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गरेको छ । प्रेस चौतारी चितवनले भरतपुर महानगरपालिका वडा नं. २८ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय अन्द्रौलीका ७७ जना बालबालिकाहरुलाई किताव कापी बोक्ने झोला, कापी, पेन्सिल, इरेजर, कटर, हात धुने सावुन, डेन्टल किट्सहरु वितरण गरेको हो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार महानगरको केन्द्रबाट टाढा रहेको विपन्न र गरीव समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उनीहरुलाई शैक्षिक सामाग्रीका साथैं स्वास्थ्य सम्वन्धी चेतना जगाउने कार्यक्रमसमेत गरिएको थियो । भरतपुरमा रहेको नेशनल सिटी अस्पतालका स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई, ओरल हेल्थ लगायतका विषयमा प्रस्तुतीकरणसहित सचेतना शिक्षा दिएका थिए । सिटी अस्पतालका कार्यकारी निर्देशक विकम अधिकारीले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा यस्ता कार्यक्रम गरिनु अति आवश्यक रहेकोले चौतारीको स्थापना दिवसका दिनमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

यस्तै, भरतपुरमा रहेको पपुलर यूनिसेक्स सैंलुनका सञ्चालक सुलभ सिग्देलसहितको टोलीले विद्यालयमा पढ्ने छात्रहरुलाई कपाल काटेका थिए । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस चौतारीले स्थापना दिवसका अवसरमा विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सम्झेर शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा खुसी लागेको बताए । सिमान्तकृत समुदाय, दलित तथा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयको छनौट गरी भरतपुरको केन्द्रदेखि पर आएर सहयोग गर्ने चौतारीको प्रयास सराहनीय रहेको उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले पत्रकारिता भन्दा फरक क्षेत्रमा फरक सोचका भविष्यका कर्णधार बालबालिकाहरुको शिक्षामा केही टेवा पुगोस् भन्ने उद्देश्यका साथ चौतारीले गरेको सहयोग सन्देशका हिसावले निकै महत्वपूर्ण रहेको बताए । राज्यले विद्यालय तहको शिक्षाका निशुल्क भने पनि ब्यवहारत यस्तो हुन नसकेको भन्दैं प्रचार विभाग प्रमुख ढुंगानाले सरकारी विद्यालयहरुको गुणस्तर सुधारमा समुदाय लाग्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताए । उनले चौतारी चितवनले देशकै पहिलो भवन भरतपुरमा बनाउँदै गरेकोमा खुसी ब्यक्त गर्दै सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

उनले महासंघका पछिल्लो तीन बर्षे कार्यकालमा प्रेस चौतारी चितवन लगायतका संघसंगठनहरुले सहयोग गरेकोमा आफू खुसी रहेको बताए । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारको काम समाचार लेख्ने भए पनि फरक ढंगको काममा प्रेस चौतारीले सधैं उभ्याउँदै आएको बताउँदै तीजमा देवघाटको सरकारी आश्रमका वृद्धवृद्धालाई दर खुवाउनेदेखि विद्यालय पढ्ने बालबालिकाहरुको शैक्षिक सामाग्री वितरणसम्म गर्ने कार्यमा जुटेको बताए । उनले चौतारीका विभिन्न अभियानमा सहयोग गर्ने, सक्रिय सहभागीता जनाउने सबैलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत र सचिव ध्रुवराज खनालले सञ्चालन गरेका थिए । प्रेस चौतारी चितवनले गत बर्ष स्थापना दिवसका अवसरमा पत्रकारहरुको वृहत स्वास्थ्य परीक्षण गराएको थियो ।


माघ २२, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । चितवनमा फागुन १९ गते महिला, पुरुप सहभागी रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको सो प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने छ । म्याराथुनमा ४०० बढी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । रोटरी क्लवले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिनी म्याराथुन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । यस अघि रोटरीले सन २०१९ मा पहिलो संस्करणको मिनी म्याराथुन प्रतियोगिता गरेको थियो । फागुन १९ गते हुने मिनी म्याराथुन दोस्रो संस्करण हो ।

भरतपुर भ्रमण बर्ष र समग्र जिल्लाको पर्यटन विकासको लागि म्याराथुन प्रतियोगिता आयोजना गरिएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा रोटरी मिनी म्याराथुन प्रतियोगिताका संयोजक विपिन पोखरेलले बताए । पुरुष धावकहरुलाई नारायणगढ देखि रत्ननगरको निपनी सम्म साढे १५ किलोमिटर र महिला धावकहरुलाई भरतपुरको सिमानादेखि रत्ननगरको निपनी सम्म पाँच किलोमिटर दुरी कायम गरिएको पोखरेलले बताए । कार्यक्रम नारायणी नदीको किनारमा उद्घाटन भएर रत्ननगरको निपनी स्थित होटर स्टार चितवनमा समापन गर्ने तयारी गरिएको प्रतियोगिताका संयोजक पोखरेलले जानकारी दिए । पुरुष तर्फ प्रथम हुनेलाई एकलाख नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई ५० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई २५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र, पाँचौं हुनेलाई पाँच हजार नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई तीन हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ समुदायका धावकहरुलाई जनही २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । महिला तर्फ प्रथम हुनेलाई २० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ हुनेलाई २ हजार ५०० नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई २ हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ महिलालाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । १५ किलोमिटरको दुरीमा हुने खुल्ला म्याराथुनमा राष्ट्रिय स्तरका धावकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सहभागिता जनाउने र सीमान्तकृत चेपाङ समुदायको प्रोत्सहानका लागि चेपाङ समुदायबाट प्रतिस्पर्धामा सहभागी गराउने योजना बनाइएको छ । रोटरी मिनी म्याराथुन प्रतियोगिता मार्फत समग्र जिल्लाको पर्यटन प्रर्वद्धन र जिल्लाको पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताका संयोजक पोखरेलले बताए । पत्रकार सम्मेलनमा रोटरीका असिस्टेन गर्भनर सुरेन्द्रनाथ रेग्मीले समाज रुपान्तरणको लागि रोटरीले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।


माघ २०, सौराहा । तस्विर कोमल चन्द्र भगत ।

 

चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले आयोजना गरिदै आएको फूड फेस्टिवलले जिल्लाको समग्र पर्यटन विकासमा योगदान दिँदै आएको उनको भनाई छ । फेस्टिवलमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले कालन्तर सम्म पर्यटक भित्र्याउन टेवा पुग्ने अध्यक्ष गिरीले बताए । विगत देखि नै विभिन्न खालका विषम परिस्थितिमा पनि फेस्टिबललाई निरन्तरता दिंदै आइरहेका भन्दै उनले देशमा भएको सशस्त्र द्घन्द, बन्द हडताल, भुकम्पको महामारी र अघोषित नाकावन्दी जस्ता असहज परिस्थितिहरुमा यस क्षेत्रमा रहेका पर्यटन व्यवसायमा आवद्ध संघसंस्थाहरु तथा स्थानीय जनसमुदायको साथ र सहयोगले फेस्टिबलले अपेक्षाकृत सफलता हासिल गर्दैै आएको उनले बताए । कोराना महामारी पछि सौराहा सहित चितवनको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७९।८० मा करिव तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् । चालु आवमा करिव एक लाख पचास हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको तथ्याङ्क छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको फेस्टिबका संयोजक सुर्यबहादुर रिमालले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उनले जानकारी दिए । पाँच दिन सम्म चल्ने फेस्टिबलमा बहु जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहने छ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष सुवासचन्द्र गौतममले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको कार्यक्रम रेवानका महासचिव नविन नेपालले सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनमा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी, पूर्व वडाध्यक्ष तथा रेवानका पूर्वअध्यक्षहरु वलराम दाहाल, राजन भट्ट, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी लगायत लगायतको सहभागिता रहेको थियो ।

Subcategories