News


माघ २८, सौराहा । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० सौराहा चितवनको आयोजना गरेको सो फेस्टिवलको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् । सो अबसरमा उनले सौराहाको पर्यटन विकासमा सरकारले ध्यान नदिएको बताएका छन् । सांसद ढकालले सौराहाको पर्यटनलाई उद्योगको मान्यता र पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेको बताए । उनले राज्य सौराहाप्रति जिम्मेवार नभएको बताए । कार्यक्रमान बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामो समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासको खाडल बढ्दै गएको बताए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा निकुञ्ज ऐनको चपेटामा परेको बताए । रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगको मान्यता दिन सरकारसंग माग गरे ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेको भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएको जानकारी दिए । उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयोजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राख्दै फेस्टिबलको उद्देश्यका वारेका थिए । बसबार्क जाने सडकको दक्षित तर्फको खाली जमिनमा सुरु भएको फेस्टिबल फागुन तीन गते सम्म चल्ने रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको गिरीले बताए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए । फेस्टिबलमा विभिन्न जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहेकोे छ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए ।

फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहने छन् । फेस्टिबल उद्घाटन पूर्व विहान सौराहामा भब्य शोभायात्रा निकालिएको थियो । रेवानका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतले मन्तब्य राखेका थिए ।


माघ २६, भरतपुर । । 
वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गर्नुभएको छ । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड ७९ लाखको काम सुरु भएको बताउनुभयो ।
‘घटिघटावबाट अब रु १ करोड ८० लाख रुपैयाँ छ,उहाँले भन्नुभयो,‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेण्डर खुल्छ । मेषजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौ।’
प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताउनुभयो । यी वडा मध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको प्रष्ट पार्नुभयो ।
वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भएपनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले पश्चिम चितवनवासीको माग अनुसार मेघौली विमानस्थलको स्तरोन्तीको कार्य पनि सुरु भइसकेको र विमानस्थलको क्रमिक रुपमा व्यवस्थापनको कार्य अगाडि बढाइने बताउनुभयो ।
मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार सरचालिस रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो।
मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेषजाली निर्माण गरिने ईन्जिनियर आचार्यले जानकारी दिनुभयो।
गोले सनसाईन जेभि सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ ।
पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी ठुलो जनधनको क्षति पुराउदै आएको छ ।

 

माघ २५, चितवन । तस्विर कोमल चन्द्र भगत । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ । भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् । भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुनुहुन्छ । घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उहाँले सबै जिम्मेवारी थेग्न सक्नुभएन र उहाँलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो । गीताले भन्नुभयो, “श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।” सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । “पहिला केही काम गर्न मन नलाग्ने, काम गरे पनि सफलता नहँुदा निकै निरास भएको थिएँ । अहिले घरमा बाख्रा, भैँसी पाल्नुका साथै किसानी गरेर परिवारको खर्च बचत गरेको छु ।”

गीताले श्रीमानलाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गरे यहीँ पनि हुनेरहेछ । श्रीमानलाई अब बोलाएर गाउँमा मिल खोल्ने योजना बुनेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । मलाई त यस कार्यक्रममा जाँदा माइत गएको जस्तो अनुभव हुन्छ ।”

त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उहाँको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थाले ।

अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय हुनुहुन्छ । उहाँले घरखर्च आफँैले कमाएर चलाउनुभएको छ । उहाँले भन्नुभयो, “आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।” उहाँ आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आउनुभएको छ ।

विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताउनुभयो ।

भरतपुर–१६ कै सङ्गीता रेग्मी भट्टले पहिला–पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताउनुभयो । घरम निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर हुनुभएको उहाँ अहिले त्यस्तो नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामी परियोजनामार्फत बचत गर्ने र आफूले पनि केही गर्नुपर्छ भन्ने भएपछि अहिले त्यस्तो समस्या छैन ।” बचत गर्ने बानीको विकास र मानसिकरूपमा हुने समस्या समाधानका लागि मनोपरामर्श तालिम आवश्यक रहेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाउनुभएकी भरतपुर–२५ की राधा खाती अहिले मानासिक र शारीरिकरूपमा स्वस्थ हुनुहुन्छ । श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उहाँलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उहाँले गुनासो गर्दैगर्दा उहाँ निकै भावुक बन्नुभयो ।

यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताउनुभयो । सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उहाँले सुनाउनुभयो । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उहाँहरूको परिवारमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।

भरतपुर–१७ की चन्द्रमाया दुरा अब वैदेशिक रोजगारमा रहनुभएका श्रीमान्लाई नेपालमा बोलाएर व्यवसाय गर्ने सोचमा हुनुहुन्छ । विगत सात वर्षदेखि वैदेशिक रोजगारका क्रममा कतारमा रहनुभएका उहाँका श्रीमान्लाई बोलाएर यही काम गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । श्रीमान विदेशमा हुँदा कमाएको पैसा केही वचत गरेर अहिले थोरै कुखुरा पालेको बताउँदै उहाँले अब श्रीमानलाई विदेश नपठाउने बताउनुभयो । उहाँले भन्नुभयो “परिवारको जिम्मेवारी उठाउने श्रीमान नहुँदा मानसिक रुपमा समस्या हुँदो रहेछ ।”

भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबा छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ । 

Subcategories