News

भरतपुर, १९ फागुन ।
भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको रनिङ ट्रफी अर्किड स्कुलले हात परेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो । भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए । रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो ।अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको उपाधिमात्र जितेन विधागत पुरस्कारतर्फ पनि एकलौटी कब्जा गर्‍यो । फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन लिएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए । उनै मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका कारण बेस्ट बलर पनि भए ।त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए । खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए । उनको नाममा १४ विकेट पनि रहयो । प्रतियोगिताका विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रनिङ ट्रफीका साथै प्रमणपत्र वितरण गरिन् । प्रतियोगिताका २० टिम सामेल गराएर नकआउट चरणबाट १० टिम लिग चरणका लागि छनौट भएका थिए । फागुन ४ गतेबाट प्रतियोगिताको लिग चरणका खेल सुरु भएका थिए । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले लिग खेल्ने १० विद्यालयलाई जर्सी प्रदान गरेको थियो । त्यसैगरी एक्स्पर्टले प्रतियोगितामा सहभागी १० सामुदायिक विद्यालयलाई पनि क्रिकेट किट सहयोग गरेको थियो । एक्स्पर्टले विजेता टिमलाई ६० हजार रुपैयाँ र उपविजेता टिमलाई ३० हजार रुपैयाँ बराबरका क्रिकेट खेलकुद सामग्री पनि दिएको छ । प्रतियोगिताको सहआयोजकमा चितवन जिल्ला क्रिकेट संघ रहेको थियो । विद्यालयमा हुने खेलकुद गतिविधिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण अवसर दिने भएकाले महानगरले क्रिकेटका साथै फुटबल प्रतियोगिता पनि गर्ने मेयर रेनु दाहालको भनाइ छ ।

फागुन २९, चितवन । तस्विर कोमल चन्द्र भगत । चितवनमा शनिबार आयोजना गरिएको रोटरी म्याराथुनको उपाधि त्रिभूवन आर्मी क्लवका मुकेश बहादुर पालले जितेका छन् । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको खुल्ला तर्फको दौड निर्धारित दुरी ४६ मिटर ३८ सेकेण्डमा पार गर्दै पालले उपाधि जितेका हुन । खुल्ला तर्फ नारायणी नदी किनारबाट रत्ननगरको निपनी सम्म १५ दशमलब ४ किलोमिटरको दुरी कायम गरिएको थियो । महिला तर्फको म्याराधुनको उपाधि सशस्त्र प्रहरी बलकी फुलमति रानाले जितेकी छन् । निर्धारित दुरी १८ मिनेट १६ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेकी हुन । महिला तर्फ टिकौली जंगलको बीच भागबाट निपनी सम्म ५ किलाेिमटर दुरी कायम गरिएको थियो । खुल्ला तर्फ त्रिभुवन आर्मीकै संजय श्रेष्ठ दितीय, जुम्लाका दुर्गाबहादुर बुढा तृतीय, त्रिभुवन आर्मीका टंक कार्की चौथौं, आर्मीकै सुवास कार्की पाँचौं, नेपाल प्रहरीका नागेश्वर अइर छैठौं, दाङका प्रेमबहादुर बस्नेत सातौं, सशस्त्र प्रहरीका राजेन्द्र तामाङ आठौं, सशस्त्रकै खिम बहादुर खत्री नवौं र स्याङजाका धनु मानन्धर दसौं भएका छन् ।

खुल्लातर्फ प्रथम पुरस्कार १ लाख नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय पुरस्कार ५० हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय पुरस्कार २५ हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, पाँचौँ पुरस्कार पाँच हजार नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँ स्थानसम्म ३ हजारसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङलाई दुई हजार नगद प्रदान गरिएको छ । महिला तर्फ सुनसरी रोकाया द्धितीय, आशा रावत तृतीय, सिमा चौधरी चौथो, समिता बुढा पाँचौ, अस्मिता भुजेल छैंठौं, नम्रता गुरूङ सातौं, वर्षा ओली आठौं, सन्ध्या अधिकारी नवौं र लक्षीमा डागी दसौं भएका छन् । महिलातर्फ प्रथम पुरस्कार २० हजार नगदसहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्वितीय पुरस्कार १० हजार नगदसहित चाँदीको तक्मा एवं प्रमाणपत्र, तृतीय पुरस्कार पाँच हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार तीन हजार नगदसहित प्रमाणपत्र, पाँचौँ पुरस्कार दुई हजार पाँच सय नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँ स्थानसम्म दुई हजार नगदसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई एक हजार नगद प्रदान गरिएको छ । प्रतियोगितामा चेपाङ समुदायबाट १२२ जनाले सहभागिता जनाएका छन् । खुल्ला तर्फको प्रतियोगितामा सहभागी भएका चेपाङ समुदायका ६६ जना पुरुष मध्ये ३२ जनाले दुरी पार गरेको छन् भने महिला तर्फ सोही समुदायबाट ५६ जनाले सहभागिता जनाएका मध्ये १४ जनाले दुरी पार गरेको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा म्याराथुनका संयोजक विपिन पोखरेलले जानकारी दिए । खुल्ला तर्फको म्याराधुनको नारायणी नदी किनारका भरतपुर नगरपालिकाकी मेयर रेनु दाहालले र महिला तर्फको म्याराधुन टिकौलीमा रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले उद्घाटन गरेका थिए ।

दुबै विधाको प्रतियोगितामा ७६५ जनाले प्रतिस्पर्धा गरेका थिए । खुल्ला तर्फ ४९४ जना र महिला तर्फ २७१ जनाले प्रतियोगितामा सहभागिता जनाएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा म्याराथुनका संयोजक विपिन पोखरेलले जानकारी दिए । खेलकुदको माध्यमबाट चितवनको पर्यटन विकास र प्रर्वधन गर्ने उद्देश्यले म्याराथुन प्रतियोगिता गरिएको उनले बताए । उद्घाटन कार्यक्रममा मेयर रेनु दाहालले भरतपुर भ्रमण बर्ष उत्सवको रुपमा मनाउने बताए । भ्रमण बर्षले जिल्लाको पर्यटन विकासमा योगदान गर्ने भन्दै उनले पर्यटक भित्र्याउन प्रर्वधनात्मक कार्यक्रम सञ्चालन गर्ने बताइन । निपनी स्थित होटल स्टार चितवनमा क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजु प्रमुख अतिथि रहेका थिए ।

चितवन, फागुन १८ ।

चितवन, फागुन १८ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । रोल.........

घुमौँ भरतपुर भन्ने नाराका साथ गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा सुधार भएको उहाको भनाइ छ । नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताउनुभयो ।

उहाले भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उहाँको भनाइ छ । उहाले गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै एकढिक्का भएर अघि बढ्ने जिकिर गर्नुभयो । 

त्यस्तै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर मानव र जंगली जनावरको गजबको मेल र अलि अलि संघर्ष समेत भएको ठाउँ भएको बताउनुभयो । आफूले पानी जहाजको कुरा गर्दा सुरुमा मानिसहरूले कुरा नबुझेका बताउँदै ओलीले अहिले कम्तीमा नारायणी नदीमा स्टिमर चल्न लागेका भन्दै खुसी व्यक्त गर्नुभयो । ओलीले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनु पर्ने बताउनुभयो । बाइट....................

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विकासका लागि सडक पूर्वाधार मात्र नभई अन्य सूचकसमेत उत्कृष्ट हुनुपर्ने भन्दै त्यसमा भरतपुरले ध्यान दिएको बताउनुभयो । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने बताउनुभयो । 

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने लगाएतले विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने धारणा राखेका थिए । उदघाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने ¥याली र झाँकीले बजार परिक्रमा गरेको थियो । पर्यटन विस्तारका लागि भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ आयोजना गरेको हो । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको महानगरले जनाएको छ । भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ ।

 

Subcategories