News

 
प्रेमचन्द्र झा
माघ २९ गते
 रौतहट ।  जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका छन्।
स्थानीय बासिन्दाका अनुसार दशगजा क्षेत्र आसपास कुनै किसिमको भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान रहे पनि दशगजादेखि करिब ३०/४० मिटर पर बाँध निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ। “मर्मतको बहानामा बाँध अझै अग्लो बनाइँदैछ र साइफनसमेत बन्द गर्ने काम भइरहेको छ। यसले पानीको निकास अवरुद्ध भई फेरि गौर डुबानमा पर्ने निश्चित छ,” राैतहटका समाजसेवी महमद अजादले भने।
अजादका अनुसार वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो छ। “हामीले सबैलाई जानकारी गरायौं, तर कसैले चासो देखाएन। यसले हामी थप मर्कामा परेका छौं,” अर्का स्थानीयले बताए।
स्थानीयको भनाइमा, यदि तत्काल उक्त कार्य रोकिने पहल नभए आगामी वर्षायाममा गौर पुनः गम्भीर डुबानको जोखिममा पर्नेछ। यस विषयमा सम्बन्धित सरकारी निकाय तथा राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोप पनि लगाइएको छ।
यस सम्बन्धमा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। स्थानीयले भने तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।
 

माघ २६, भरतपुर।

भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरती सुरु भएको छ ।
सनातन हिन्दुधर्मको संरक्षण र सम्बर्दनमा यस्ता महोत्सवले सचेतनामुलक काम गर्ने कार्यक्रमका प्रमुख अतिथी वडा नम्वर ११ का वडा अध्यक्ष कमल बहादुर मल्लले बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्वर ११ का लागि धार्मिक पर्यटन प्रर्वद्धनका लागि यो मन्दिरले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । वडा नम्वर ११ स्वयमले अपनत्व लिएर गर्नुपर्ने काम मन्दिर संरक्षण समिति र स्थानियको सहभागितामा संरक्षण गर्ने उदेश्यका साथ आयोजित सप्ताह ज्ञानमहायज्ञको सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रम एवं मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णु प्रसाद विडारीले महायज्ञ २०८२ माघ २५ गतेदेखि सुरु भएको फाल्गुन ३ गतेसम्म सञ्चालन हुने बताउनु भयो । कार्यक्रमको पुर्वसन्ध्यामा वडा नम्बर ११ का आमा समूहका आमा दिदी बहिनीहरुको शोभा यात्रामा सहभागिता रहेको थियो । कलश यात्रा मन्दिर परिसरबाट सुरु भई बसेनी, गौरेश्वर मन्दिर पोखरा वसपार्क हुदै नारायणीमा गएर कलशमा जल ल्याई गणेशधाम, कैलाशेश्वर मन्दिर, जखडी माई मन्दिर हुदै पुन मन्दिर परिसर आएर समापन भएको थियो । कलश यात्रामा करिब एक हजार जनाको सहभागिता रहेको थियो ।

महायज्ञमा सुप्रसिद्ध कथावाचक सम्राट गुरु पंण्डीत भीमकान्त भागवतले श्रीमद्भागवत कथा वाचन गर्नुहुने भएको थियो । महायज्ञ सत्संकल्पकर्ता तथा श्रृंगारिक महाआरती प्रमुखका रूपमा गुरु पंण्डीत पुरुषोत्तम भट्टराईको नेतृत्व रहेको आयोजक समितिका सचिव शोभा पोख्रेलले बताउनु भयो ।
कार्यक्रमको मुख्य उद्देश्य किरातेश्वर शिव मन्दिरको भौतिक पूर्वाधार विकास, पुजारी भवन निर्माण, हवनकुण्ड निर्माण, अक्षयकोष स्थापना तथा १०८ शिवलि∙ स्थापना रहेको आयोजक समितिका आर्थिक उप समितिका संयोजक मोहनिधी तिवारीले बताउनु भयो । यसका साथै मन्दिर क्षेत्रलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
महायज्ञ अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा भजन–कीर्तन, देवलिला झाँकी, चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने तिवारीको भनाई छ । फाल्गुन ३ गते महाशिवरात्रिको अवसरमा लाखबत्ती प्रज्वलन र विशेष महाआरती गरिने कार्यक्रम रहेको छ। आर्थिक उपसमितिका संयोजक तिवारीले धर्मप्रेमी संघ–संस्था, टोल सुधार समिति, आमा समूह, स्थानीयवासी तथा भक्तजनहरूलाई परिवारसहित उपस्थित भई तन, मन, धन र वचनबाट सहयोग गर्न अनुरोध गुर्नभएको छ। दानदाताहरूलाई सम्मानपत्र, रामनामी, शिलालेखमा नाम अंकित तथा पञ्चेबाजा सहित सम्मान गरिने व्यवस्था गरिएको संयोज तिवारीले बताउनु भयो । महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन, संस्कृतिको संरक्षण र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको रहेको छ।

 

माघ २६, चितवन । तस्विर कोमल चन्द्र भगत । चितवनको माडीमा आयोजना गरिएको बागमती सालक सम्मेलन ७ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । अवैद्य व्यापारका लागि चोरी शिकार र बासस्थान बिनासका कारण सालक संकटमा परेको भन्दै संरक्षणका लागि उक्त घोषणापत्र जारी गरिएको हो । घोषणापत्रको पहिलो बुँदामा सालक पाइने वन र संरक्षित क्षेत्रमा बासस्थान व्यवस्थापनका लागि सरोकारवाला निकायको पहलमा संरक्षण शिक्षा कार्यक्रम गर्ने उल्लेख छ ।

सम्मेलनमा दिएको जानकारी अनुसार विश्वमा ८ प्रजातीका सालक रहेका छन् । ती मध्ये एसिया महादेशमा ४ र नेपालमा कालो र तामे गरी दुई प्रजाती सालक पाइन्छन् । बागमती प्रदेशमा दूबै प्रजातिका सालक भेटिएका छन् । चोरी शिकार र अवैद्य व्यपार नियन्त्रणकालागि संघ, प्रदेश र स्थानीय सरकारका साथै संरक्षण साझेदार संस्थाको पहलमा स्थानीय समुदायलाई समेटेर कार्यक्रम गर्ने भनिएको छ । सालक संरक्षित वन्य जीव भएकाले यसको अवैद्य शिकार र व्यपार गरेको पाइएमा ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको सम्मेलन संयोजन गरेको चितवनका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताउनु भयो ।

स्थानीय समुदायलाई सहभागी बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, विश्वविद्यालय र तीन तहका सरकारको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्यय्न अनुसन्धान गरिने घोषणापत्रमा उल्लेख छ । स्थानीयको अपनत्व हुने गरी संरक्षण कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउने भनिएको छ । घोषणपत्रमा ७ प्रदेश र राष्ट्रियस्तरको सालक सम्मेलन गर्न आव्हान गरिएको छ । सम्मेलनकालागि लिखित शुभकामना पठाउँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सालकलाई प्रदेशको गौरवको प्राणी घोषणा गर्ने र संरक्षणकालागि नीति बनाएर बजेट व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयले सम्मेलन आयोजना गरेको थियो । प्रदेश वन तथा वातावरण मन्त्री भरत केसीले सम्मेलन उदघाटन गरेका थिए ।

Subcategories