News

पौष १४, चितवन । चितवनमा १३ औं राष्ट्रिय पोल्ट्री दिवस विविध कार्यक्रमका साथ नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा चितवनमा मनाईने भएको छ । नेपालमा आधुनिक कुखुरा पालन शुरु भएको दिन पुस १७ गते पोल्ट्री व्यवसायीहरुले नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गरेर दिवस मनाउन लागेका हुन् । नेपाल कुखुरा व्यवसायी मञ्चले २०८२ पौष १५ गते चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिइएको हो । मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा भएको कार्यक्रममा उहाँले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियोे । पुस १७ गते बिहान ७ः४५ बजे मञ्चको कार्यालय रहेको उद्योग संघ परिसरबाट बाजागाजा, प्लेकार्ड र झाकी सहितको प्रभातफेरी निकालिने छ । प्रभातफेरी चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः चितवन औद्योगिक प्रदर्शनी परिसरमा जम्मा भई समापन हुने कार्यक्रम रहेको छ । भट्टले अहिलेको अवस्थामा पोल्ट्री क्षेत्र चरम संकटमा रहेको भन्दै सरकारले किसानका मागलाई सम्बोधन गरेर यस क्षेत्रलाई आत्मनिर्भर बनाईराख्न आग्रह गर्नुभयो । उहाँले पोल्ट्री क्षेत्रका संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी पोल्ट्री विकास बोर्ड गठन गर्न, पोल्ट्रीजन्य उत्पादनका लागि विदेशबाट आयात गरिने कच्चा पदार्थमा लाग्दै आएको कृषि सुधार शुल्क र भन्सार महसुस छुट गर्न माग गर्नुभयो । यसैगरी पोल्ट्री क्षेत्रको प्रमुख चुनौतीको रुपमा रहेको अवैध रुपमा आयात हुने चल्ला, कुखुरा, मासु र अण्डा नियन्त्रण गर्न, रोगको प्रकृति अनुसारको भ्याक्सिनको आयातको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष श्री राजेन्द्र लामिछानेज्युले धेरै किसान विस्थापित भईसकेको र बाँकी रहेकाहरु बैंकको ऋण थप गर्दै अहिलेसम्म टिकेको गुनासो गर्नुभयो । कतिपयले आत्महत्या समेत गरेको भन्दै उहाँले बैंकको कालो सूचिको पीडामा रहेर पनि यो क्षेत्रलाई बचाउन लागिपरेको बताउनुभयो । नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटाले पछिल्ला वर्षहरुमा विदेशबाट आयात हुने मकै घट्दै गएको भन्दै सरकारले सहयोग गरेमा केही वर्षभित्रमा नेपाल भित्रिने कच्चा पदार्थको मात्रा निकै घट्ने बताउनुभयो । अहिले वर्षेनी रु. ४५ अर्बभन्दा बढीको पोल्ट्रीजन्य पदार्थ बाहिरबाट आउने गरेको भन्दै उहाँले यो रु.६० अर्बबाट क्रमशः घटेको बताउनुभयो ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष श्री विनोद पोखरेलज्युले किसान र व्यवसायीहरु संगठित भएर नलागेको भए अण्डामा अहिले आत्मनिर्भर हुने अवस्था नआउने भन्दै लागत मूल्य अझै किसानले पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अण्डाको मूल्य घट्दा कोही बोल्दैन, लागतमूल्य नजिक पुग्दा अस्वभाविक बृद्धि भयो भनेर प्रश्न उठ्छ ।” आठ सय किसान घटेर दुई सयमा झरेको भन्दै उहाँले पेशामा रहेकाहरुलाई टिकाउनु पर्ने बताउनुभयो ।

मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कोभिडपछि नेपालमा पोल्ट्रीजन्य उत्पादनमा ह्रास आएको बताउनुभयो । हाल जीपी फार्म तीन वटाबाट प्रती महिना एक लाख २० हजार माउ चल्ला उत्पादन भएको, सात वटा लेयर्स ह्याचरीबाट सातामा एक लाख २० हजार चल्ला उत्पादन भएको र १०९ ब्रोईलर ह्याचरीबाट सातामा २८ देखि ३० लाख चल्ला उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । दुई हजार लेयर्स फार्मबाट दैनिक ३५ देखि ३७ लाख अण्डा उत्पादन हुने गरेको, ३५ हजार ब्रोईलर फर्मबाट दैनिक आठ लाख मासु उत्पादन भएको र ११५ वटा दाना उद्योगबाट दैनिक दुई हजार सात सय मेट्रिकटन दाना उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा मञ्चका उपाध्यक्ष कृष्णहरि लोहनीले कार्यक्रममा धन्यवाद ज्ञापन र सभा विसर्जन गर्दैै नेपालमा कुखुराको मासु खपत प्रतिव्यक्ति प्रतिवर्ष १०.५ केजी र अण्डा प्रतिव्यक्ति ६१ वटा मात्रै भएको भन्दै उहाँले यसलाई बढाउनु पर्ने बताउनुभयो । साथै उहांले पोल्ट्री दिवसलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न संचारकर्मीहरु संग सहयोगको अपेक्षा गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पोल्ट्री कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल , महासचिव तुलसीप्रसाद (अमन) सुवेदी, नेपाल लेयर्स कुखुरा पालक संघका प्रथम उपाध्यक्ष जोतेन्द्र श्रेष्ठ, उपाध्यक्ष अमोद खनाल, सचिव मदन पोखरेल, मञ्चका सचिव डा विष्णुहरी पोखरेलज्यु लगायतको उपस्थिति थियो । मञ्चका सदस्यहरु शिव पौडेल, तुलसीप्रसाद सुवेदी, मन्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पौष १४, चितवन। चितवनका सामुदायिक वन उपभोक्ता समूहमा प्रतिनिधित्व गर्ने युवाहरुको संख्या न्युन देखिएको छ । वन उपभोक्ता समुहका १ हजार १०८ पदाधिकारी मध्ये ३० वर्षमुनिका युवा ६७ जना मात्र रहेका छन् ।

प्रतिशतमा हेर्दा यो संख्या ६ प्रतिशत मात्रै हो । कागजमा हेर्दा सानो देखिने यो आंकडाले वनको दीगो व्यवस्थापन र भविष्यको नेतृत्वमा ठूलो चुनौती संकेत गरेको छ। डिभिजन वन कार्यालय चितवनले पनि सामुदायिक वन उपभोक्ता समूहहरूलाई कार्यसमितिमा युवाको प्रतिनिधित्व बढाउन आग्रह गरेको छ ।उमेर समूहअनुसार हेर्दा ४१ देखि ५० वर्ष उमेर समूहका पदाधिकारी सबैभन्दा धेरै ३५ प्रतिशत अर्थात ३९० जना छन् । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहमा २७ प्रतिशत अर्थात ३०१जना, ५१ देखि ६० वर्ष उमेर समुहमा २३ प्रतिशत अर्थात २९५ जना रहेका छन् । ६१ देखि ७० वर्ष उमेर समूह ७ प्रतिशत अर्थात ७४ जना र ७० वर्षमाथिका २ प्रतिशत अर्थात १७जना रहेका छन् ।

हाल सामुदायिक वनको नेतृत्व मुख्यतः ४१–५० वर्ष उमेर समूहको वर्चस्वमा छ । वन व्यवस्थापनमा अनुभव महत्वपूर्ण भए पनि युवाको न्यून सहभागिताले दीर्घकालीन नेतृत्व विकासमा जोखिम बढेको छ । युवाशक्ति वन संरक्षण, व्यवस्थापन र नवप्रवर्तनका लागि महत्वपूर्ण आधार हुन् । तर हालको अवस्थाले युवा पुस्ता सामुदायिक वनको निर्णय तहमा पुग्न नसकेको देखाएको छ ।

जिल्लामा सामुदायिक वन मात्र नभई अन्य सामाजिक क्षेत्रमा समेत ३० वर्षमुनिका युवाको उपस्थिति कमजोर हुँदै जानु चिन्ताजनक विषय हो । वन कार्यालयले गरेको अध्ययन अनुसार आगामी केही वर्षभित्र सामुदायिक वनको नेतृत्वमा संक्रमणको संकट आउन सक्ने सम्भावना छ । यसको समाधानका लागि आगामी साधारण सभा तथा समिति बैठकहरूमा युवा सहभागिता विषयलाई प्राथमिक एजेन्डा बनाउन, युवालाई साधारण सभामा उपस्थित गराउन, वन व्यवस्थापन, भ्रमण, तालिम तथा अध्ययन कार्यक्रममा युवालाई सक्रिय रूपमा संलग्न गराउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

यस्तै, विधान संशोधन वा आपसी सहमतिमार्फत ३० वर्षमुनिका युवाका लागि निश्चित सिट सुरक्षित गर्ने, रिक्त पदमा युवालाई क्रमशः जिम्मेवारी दिने र आगामी १–२ कार्यकालभित्र कार्यसमितिमा उल्लेख्य युवा उपस्थिति सुनिश्चित गर्ने लक्ष्य लिन सुझाव समेत दिइएको छ ।
डिभिजन वन कार्यालयले चितवनलाई देशभर युवाशक्ति समावेशी सामुदायिक वन व्यवस्थापनको नमुना जिल्लाका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सबै उपभोक्ता समूह, महासंघ र सरोकारवालासँग आवश्यक समन्वय र सहकार्यको अपेक्षा गरेको छ । त्यस्तै सोमबार चितवनमा सामुदायिक वनमा युवाको कम्तीमा २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने घोषणापत्र जारी गरिएको छ । बागमती प्रदेश सरकार र वन तथा वातावरण मन्त्रालयका मन्त्री भरत बहादुर केसीको प्रमुख उपस्थितीमा डिभिजनस्तरीय युवा संवाद कार्यक्रममार्फत यस्तो प्रतिबद्धता सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका करिब ८० जना ४० वर्षसम्मका युवा सहभागी थिए । कार्यक्रममा युवाले वनमा आधारित उद्यम विकासका लागि सरल र युवा–मैत्री प्रक्रिया आवश्यक रहेको र उत्पादनमा आधारित अनुदानको व्यवस्था हुनुपर्ने माग उठाएका छन् ।

साथै, सामुदायिक वन उपभोक्ता समूहलाई विकास निर्माणमा प्रवेशद्वारको रूपमा संलग्न गराउने कानुनी व्यवस्था, ऐन र कानून निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता र भ्रष्टाचारमुक्त वन अभियानमा शून्य सहनशीलता नीतिको अठोट घोषणापत्रमा समावेश गरिएको छ ।

कार्यक्रममा मन्त्री केसीले युवाका सवाल सम्बोधनका लागि आवश्यक कानुनी र कार्यक्रमगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवाहरूको एकै स्वर थियो, “हामी नेतृत्वमा आउन चाहन्छौं, तर हामीलाई ‘तिमीहरू नयाँ छौ, पालो आउने छ’ भनी पन्छाइन्छ ।”

कार्यक्रम डिभिजन वन कार्यालयको आयोजना तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम, फेकोफन चितवन र चितवन गार्डेन रिसोर्ट टिमको सहकार्यमा सम्पन्न भएको थियो ।

 

पौष १२, चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा आयोजना गरिएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शनिबार राप्ती नदीमा डुङ्गा रेस प्रतियोगिता गरिएको छ । सौराहाको डुङ्गाघाटदेखि गाईघाटसम्म ५ किलोमिटरको दूरीमा गरिएको प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन प्रथम, रत्ननगर नगरपालिका द्वितीय र बाघमारा मध्यवर्ती सामुदायिक वन तृतीय भएका छन् । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । यसैबीच, तीन वर्षअघिदेखि रोकिएको हात्ती पोलो सुरू गरिएको छ । सौराहा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुको मागलाई ध्यानमा राखी हात्ती पोलो सुरू गरिएको महोत्सवका संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो ।

 

Subcategories