फागुन ६, चितवन । कोमल चन्द्र भगत ।
नेपालको बदलिँदो सन्दर्भमा सामुदायिक वनको सामाजिक पारिस्थितिक आयामहरू विषयक परिचयात्मक गोष्ठी डिभिजनल वन कार्यालय चितवनमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गतको उत्कृष्ट अनुसन्धान परियोजना अन्तर्गत सिन्धुपाल्चोकको ठोकर्पा र चितवनको बरण्डाभार क्षेत्रमा सञ्चालन भएको छ । अहिलेको बदलिँदो सामाजिक, राजनीतिक, र वातावरणीय अवस्था, मानिस र वनसँगको सम्बन्ध लाई मध्यनजर गर्दै , भविष्यको सामुदायिक वनको अवधारणा कस्तो हुनुपर्छ भन्ने हेतुले तीन वर्षका लागि यो परियोजना सुरु गरिएको हो । यो अनुसन्धानको बारेमा परियोजनाका प्रमुख अनुसन्धानकर्ता सहप्राध्यापक डा. सोनी बरालले प्रकाश पार्नुभयो। त्यस्तै प्राध्यापक डा. कृष्णराज तिवारीले यस अनुसन्धानको महत्त्व र यसको अवधारणामा थप प्रकाश पार्नुभयो। त्यस्तैगरी प्राध्यापक डा. वीरबहादुर खनाल क्षेत्रीले यस परियोजनाले भविष्यमा पुर्याउन सक्ने ठोस योगदानको बारेमा बताउनु भयो।
वन कार्यालयका वन अधिकृतहरू दिनेश हुमागाईं र तारा शिवाकोटीका साथ विभिन्न पदमा कार्यरत २३ जना कर्मचारीहरूले आफ्ना मन्तव्य राख्दै यो अनुसन्धान समय सापक्ष रहेको बताएका थिए । विगत धेरै समय देखि एउटै अवधारणामा जुनसुकै परिवेशमा पनि सामुदायिक वन हस्तान्तरण हुँदै आइरहेकोमा अब यस्तो स्थिति परिवर्तन हुनुपर्छ भन्ने कुरा स्वीकार गरी यो परियोजनालाई कार्यान्वयन गर्नुपर्छ भनेर कार्यक्षेत्र छनोटको लागि सहयोग गरेको बताए । यस परियोजनाको कार्यान्वयनको क्रममा विभिन्न खालका दृष्यहरु बनाउँदै सरोकारवालाहरूसँग यस सम्बन्धी छलफल गर्दै अगाडि बढ्ने बताइएको छ । परियोजनाले भविष्यमा वन संरक्षणमा मात्र केन्द्रित नभई सदुपयोग मुखी हुनुपर्ने भन्ने कुरालाई ध्यानमा राखी अर्थपूर्ण सुझावहरु दिदै तथ्यमा आधारित नीति बनाउन सहयोग गर्ने देखिएको छ । यसमा संलग्न अनुसन्धानकर्ताहरू सुषमा पौडेल, गंगामाया न्यौपाने र सम्राट सुवेदीको पनि सहभागिता थियो ।





