मंसीर १४, चितवन
पवित्रा ढकाल / कोमल चन्द्र भगत ।
चितवनको पर्यटकिय नगरी सौराहामा १९ औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ । आगामी पौष ११ गते देखि १३ गते सम्म महोत्सव गर्न लागीएको हो । ३ दिनसम्म संचालन हुने महोत्सवमा करीब ७० वटा हात्तीहरु सहित निकालिने शोभा यात्रामा विभिन्न जात जातिको सांस्कृतिक झाँकी प्रदर्शन गरी महोत्सवको उद्घाटन गरिने छ । महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगितामा हात्तीलाई चकले स्केच गरी माउतेले श्रृंगार गर्ने र उक्त प्रतियोगीता कार्यक्रम स्थलबाट प्रत्यक्ष प्रसारण गरीने आयोजकले जानकारी दिएको छ । यस वर्ष हात्ती बनभोजले पनि निरन्तरता पाएको छ । देशका विभिन्न क्षेत्रका प्रतिष्ठीत व्यक्तित्वहरुले प्रत्येक हात्तीहरुलाई आफ्ने प्रतिनिधि बनाएर स्वयं बनभोज गराउन पाउंने छन् । महोत्सवमा हात्तीको स्वास्थ्य शिबिर, हात्तिको दिनचर्या बारे जानकारी, पालिका स्तरीय, डुङ्गा रेस प्रतियोगिता, हात्तीमैत्री प्रतियोगिताहरु आयोजना गरिनुका साथै सफारी पर्यटन प्रबद्र्धनको लागि अतिथि पाहुनाहरुलाई हात्ती सफारी जीप सफारी डुङ्गा सफारी गराउने रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनु भयो ।

त्यस्तै महोत्सवकै अवसरमा परेर पर्यटन क्षेत्रमा महत्वपुर्ण योगदान दिनु भएका प्रमुख व्यत्तित्वहरु संग चितवनमा पर्यटनको सम्भावना तथा चुनौती सम्बन्धी बि.टु.बि अन्तरकृया कार्यक्रम, स्वदेशी तथा विदेशी ट्राभल एजेंन्सीहरु संग अन्तरक्रिया, हात्तीको महत्व, मानव वन्यजन्तु सह अस्तित्व र पर्यापर्यटन र संरक्षण सम्बन्धी प्रत्यक्ष चित्रकला प्रतियोगीता, मानव वन्यजन्तु सह अस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्व सम्बन्धी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता आयोजना हुनेछन् । त्यस्तै स्थानीय कलाकारहरु द्वारा विविध सांस्कृतिक कार्यक्रमहरु, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रबद्र्धन, मानव वन्यजन्तु सह अस्तित्व र पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्व बारे संरक्षणकर्मी, वातावरणविद् पुर्व संरक्षण अधिकृतहरुको सन्देशमुलक श्रव्यदृष्य सामाग्री निर्माण लगायत गतिविधीहरु पनि समावेश गरिएका छन् ।
महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको महोत्सव संयोजक गुणराज थपलियाले बताउनु भयो । चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको अतुलनीय सहयोग रहेको थपलियाको भनाइ छ ।

सफारी पर्यटनको रुपमा विकास भएको समग्र चितवनको पर्यटन हात्ती विना कल्पना गर्न नसकिने भन्दै पर्यटन व्यवसायी हरिभक्त घिमिरेले पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन महोत्सवले महत्वपुर्ण भुमिका खेलेको जिकिर गर्नु भयो ।
चितवन हात्ती तथा पर्यटन महोत्सवको अवसरमा पौष ११ देखि १३ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १०% छुट दिएको समेत घिमिरेले जानकारी दिनुभयो । महोत्सवको डिजिटल प्रविधिबाट प्रवद्र्धन गर्ने र यस वर्ष देखि वन्यजन्तु तथा वातावरण मैत्री प्रकृति अनुकुल स्टल र स्टेजहरु निर्माण गरिने जानकारी दिएको छ । सौराहाको हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सह–अस्तित्वको जीवित उदाहरण भएको हुंदा यसले परम्परा, जिविकोपार्जन र संरक्षण कार्यलाई सन्तुलनमा राखेको पर्यटन व्यवसायीहरुले बताउनु भयो ।
पछिल्लो समय पशु अधिकारकर्मीहरुले उठाउंदै आएका हात्तीमाथी क्रुरतापुर्ण व्यवहार गरियो भन्ने टिप्पणी र आवाजलाई ध्यानमा राखेर आयोजकले उच्च वन्यजन्तुमैत्री मापदण्ड, जिम्मेवार पर्यटन, सांस्कृतिक पर्यटन, जैविक विविधता र पर्यावरणीय सद्भाव प्रवद्र्धन गर्न सहज बनाउन पहल गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । हात्ती महोत्सवका गतिविधिहरूमा हात्तीमाथी कुनै पनि प्रकारको अत्याचार वा क्रुरता अनुमति छैन भन्ने विश्वास दिलाउन आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र पशु चिकित्सकहरूको सहकार्यमा कडा मापदण्डहरू बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । धारिलो वा हानिकारक उपकरणको प्रयोग कडाईका साथ निषेध गरिएको समेत कार्यक्रममा जानकारी दिएको छ । सबै हात्तीहरूलाई प्रतियोगिता अघि र पछि पशु चिकित्सकले परीक्षण गर्नेछन् । माहुतले मात्र दैनिक हात्तीको हेरचाह गर्ने मात्र महोत्सवमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । कार्यक्रमलाई प्रतिस्पर्धात्मक, नभई सद्भावमा केन्द्रित गरी पुनःरचना गरिएको आयोजकले जानकारी दिएको छ ।

रत्ननगर नगरपालिकाको संरक्षकत्वमा क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन गइरहेको उक्त महोत्सवमा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजक रहेका छन् भने सँस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, २. चितवन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्ड, भृकटीमण्डप र पर्यटन कार्यालय, सौराहा प्रवद्र्धक संस्था रहेका छन् ।
। महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले उद्घाटन गर्नेछन् । रत्ननगर वडा नं.–७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चउरमा महोत्सव आयोजना हुनेछ । ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न वि.सं. २०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सव १९ औं संस्करण हो ।




