News

चैत १, चितवन । चितवन, चैत १(

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिने छ ।” चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उहाँले बताउनुभयो । मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । रासस

 

चैत १, चितवन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । अस्पतालले आगामी चैत २५ गते आफ्नो ६० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । वार्षिकोत्सव अन्तर्गत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वार्षिक स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, प्रभातफेरी, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मानलगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए । जसको लागि अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाईएको छ ।

 

फागुन २९, भरतपुर ।

भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । सोमबार काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा देशकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गरे । भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासले गति लिएको छ । केही महिना अघि मात्रै भरतपुर महानगर ६ वटा महानगरपालिका मध्ये कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको थियो ।

 

 

Subcategories