News

चितवन, वैशाख २६ ।

चितवनको प्रतिष्ठित पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहनका आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले माग गरेको छ । मञ्चले आज चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । ज्ञापनपत्रमा कँडेललाई आत्महत्याको निर्मम निर्णय लिन बाध्य पार्ने परिवारबाट आत्महत्या दुरुत्साहनको किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुलाई पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ । संघ यस घटनाबाट मर्माहत भएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ज्ञापनपत्रमा परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरिएको छ ।

त्यसैगरी संघले देश आर्थिक मन्दीले आक्रान्त बनेको भन्दै उद्योगी व्यवसायीले आत्महत्याको बाटो रोज्न बाध्य भइरहेको अवस्थामा यस्ता घटना दोहोरिन नदिन विभिन्न सरोकारवाला निकायहरुको ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराएको छ ।

त्यस्तै संघले व्यवसायीहरुको घरभाडा दरलाई अधिकतम् घटाई व्यवसायी टिक्ने र घर तथा सटर खाली नहुने बातावरण पनि सिर्जना गर्न ज्ञापनपत्रमा संघले माग गरेको छ । व्यवसाय सामान्य अवस्थामा नआउदासम्म व्यवसायीबाट लिने व्यवसाय कर, घरधनीबाट लिने घरबहाल करमा अधिकतम छुटको माग पनि संघले गरेको छ । संघले ज्ञापनपत्रको बोधार्थ जिल्ला समन्वय समिति चितवन, भरतपुर महानगरपालिका र सबै स्थानीय तहहरुलाई बुझाएको छ ।

 

चितवन,बैशाख २१ ।

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै चितवनका व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् । कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै कांग्रेस चितवन पनि आन्दोलनमा छ । कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व पश्चिम राजमार्गको चौबिस कोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

बैशाख १८, चितवन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरेसँगै मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार गैडाकोट–१ मा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको उद्घाटन गरिएको हो । यस्तै उद्घाटन समारोमा आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालिका जस्ता धार्मिक पर्यटकीय पूर्वाधारको महत्व हुने बताउनुभयो । यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्ने उहांको भनाइ छ ।

 

Subcategories