News


जेठ १८, भरतपुर
चितवन जिल्लाका ३० दम्पतीलाई आदर्श दम्पतीको रुपमा सम्मान गरिएको छ । आदर्श नारी बिकास केन्द्रले आफ्नो ३२ औं स्थापना दिबसको अबसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरुलाई आज एक कार्यक्रमका बिच सम्मानीत गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी बिकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी वन्ने बताउनुभयो । केन्द्रले समाज बिकासका लागि खेलेको योगदानको सबैले सह्राना गर्नुपर्ने बताउनुभयो । सरकार अहिले देशको बिकास गर्न लागि परेको भन्दै उहाँले देश परिवर्तन गर्न कुनै वहान गर्ने छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो “जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हामीले काम गर्ने समय आएको छ ।” सिमित स्रोत साधन र असिमित चाहनाका बीच परिवर्तन देखिने गरी काम गर्नु पर्ने उहाँको भनाई थियो ।
बागमती प्रदेश सरकार सिमान्तकृत वर्गलाई समेत संरक्षण गर्ने गरि कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “युवालाई नेपालमानै बस्ने बातावरण बनाउँदै शिक्षा स्वास्थ्यमा सबैको पहुँच पुग्ने गरी काम गर्ने योजनामा प्रदेश सरकार रहेको छ ।”
कार्यक्रममा पाँच जना आदर्श आमा र पाँच जना आदर्श सन्ततिलाई सम्मान गरिएको केन्द्रकी अध्यक्ष मिना खरेलले जानकारी दिनुभयो । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबि शर्मा, साहित्यकार एवम चराविद ईश्वर कंडेल, पत्रकार शान्ता अधिकारी, सामाजिक अभियान्ता सरस्वती बिष्ट लगाएतले बोल्नुभएको थियो ।

जेठ १५ काठमाण्डौं ।
सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ करोड विनियोजन रहेको अर्थमन्त्री महतले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु. ४९ अर्ब ९४ करोड व्यहोर्दा रु. ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री महतले जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठूलो बजेट प्रस्तुत गर्नुभएको हो । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रुपमा लिएको महतले बताउनुभयो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनुभयो ।

जेठ १५ काठमाण्डौं ।
सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु ७ अर्ब २४ करोड विनियोजन गरेको छ ।
सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रताको लक्ष्य सहित उक्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाले केही समयदेखि रोक्का रहेको जग्गा कित्ताकाट फुकुवा गरिने, ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने जानकारी दिनुभयो । उहाले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाले बताउनुभयो । अर्थमन्त्री महतले सहकारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने समेत बताउनुभयो ।

त्यस्तै सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने मन्त्री महतले बताउनुभयो । उहाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताउनुभयो ।

Subcategories