News

जेठ २४, भरतपुर । 

समाजवादी प्रेस संगठन नेपाल चितवनको जिल्ला अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन भएका छन् । भरतपुरमा बुधवार सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामु आचार्य, महिला उपाध्यक्षमा सरस्वती लामा, सचिवमा विशाल आलेमगर, कोषाध्यक्ष बविलाल तामाङ, सह–सचिवमा विजय चौधरी चयन भएका छन् । सदस्यहरूमा उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन भएका छन् । संगठनको केन्द्रीय महाधिवेशन जेठ २६ र २७ गते काठमाडौंमा हुँदैछ । त्यसका लागि सरस्वती लामा, रामु आचार्य, दिलु नेपाल र विशाल आलेलाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरि पराजुलीले मुलुक संकटपूर्ण अबस्थामा रहेको बताएका छन् । गणतन्त्र स्थापनापछि पनि जनताको जीवन स्तरमा परिबर्तन आउन सकेन भन्दै उनले नागरिकले गणतन्त्रको अनुभूति गर्न नसकेको बताए । गठबन्धनको सरकारले जनपक्षीय बजेट ल्याउन असफल भएको उनको भनाई छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, जिल्ला सचिव कुलप्रसाद लामिछाने, पार्टीका जिल्ला सहसचिव नरेन्द्र कन्दवाङ, सुचना पुनराबेदन समितिमा अध्यक्ष हरि अधिकारी, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, प्रेस युनियन चितवनका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष देउजा, क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रेम कँडेल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष होमनाथ न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष ज्ञानेन्द्र तामाङले स्वागत मन्तब्य राखेको सो कार्यक्रम सचिव रामु आचार्यले सञ्चालन गरेका थिए ।

भरतपुर, २३ जेठ


चितवनमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ । विशेषगरी विद्यार्थीहरूले सम्पदा सरसफाइ र वृक्षरोपण गरेर यो दिवस मनाएका छन् । अत्यधिक गर्मीका कारण यतिबेला चितवनका सबैजसो विद्यालयमा बिदा छ । केही विद्यालयले बिहानी समयमा केही विद्यार्थीको उपस्थितिमा वातावरण संरक्षण र जगेर्नाका सन्दर्भमा कार्यक्रम आयोजना गरेका हुन् । नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

यसैक्रममा चितवनका स्रस्टाहरूको समूह अक्षर समूह चितवनले पर्या–कविता वाचन कार्यक्रम गरेको छ । सोमबार साँझ ५ बजे नारायणी नदी किनारमा आयोजना गरिएको कार्यक्रममा १६ जना कविले कविता प्रस्तुत गरेका छन् । कविता सुन्न र सुनाउन नारायणी किनारमा बाक्लो उपस्थिति देखिएको थियो । विश्व वातावरण दिवसका सन्दर्भमा कविहरूले पर्यावरण सम्बन्धि कविता वाचन गरे ।

कार्यक्रमको सुरुवातमामा कवि भूपिनले विश्व वातावरण दिवसका सन्दर्भमा प्रकाश पारे । उनले अक्षर समूहले यही दिवसका सन्दर्भमा आयोजना गरेको पर्या–कविता वाचन कार्यक्रमको औचित्यमाथि पनि टिप्पणी गरेका थिए । भूपिनले संरक्षण कविता आन्दोलनका अगुवा सरुभक्त र प्राध्यापक सञ्जीव उप्रेतीले पठाएका शुभकामनालाई पढेर सुनाएका थिए । त्यसैगरी कवि कल्पना आचार्यको ‘प्रकृतिको अदालतमा’ कविता पनि भूपिनले सुनाए ।

त्यसपछि वातावरण विज्ञानकी विद्यार्थी सुप्रदीप्ती भण्डारीले कविता सुनाइन् । उनको कविताले प्रकृतिको लय नै जीवनको लय हो भन्ने भाव बोकेको थियो । कवि एवं पत्रकार सूर्यप्रकाश कँडेलले बञ्चरो, बिँड र हात शीर्षकको कविता सुनाउँदै अहिले मानव जातिलाई आधुनिकताले छोपेकोले आधुनिकताभित्र रुमल्लिन नहुने सन्देश कवितामार्फत दिएका थिए । कार्यक्रममा कवि राजेन्द्र घायल र भागीरथ ठाकुरले गीति लयमा आफ्ना सिर्जना सुनाए ।

स्मल हेभन मोडल स्कुल आँपटारीकी छात्रा प्रसंशा पराजुलीले प्रकृति र वातावरणलाई हामी आफैले बिगार्दै गइरहेको भावको कविता सुनाइन् । कार्यक्रममा कविहरू अञ्जान प्रदीप, विद्या भण्डारी चिराग, गायत्री अधिकारी, प्रभाकर पण्डित, उपेन्द्र त्रिपाठी, परिवेश मुन्छे, सरला जोशी, उदय अधिकारी, ईश्वर कँडेल, भूपिन र गोविन्दराज विनोदीले कविता सुनाएका थिए ।

समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

जेठ २३, भरतपुर ।

बाँदरमुढे घटना भएको आज १८ वर्ष पूरा भएको छ । माडीबासीले दिन कालो दिनको रुपमा सम्झिदै आएको आजको दिन १८ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाले सोही घटनाबाट घाइते भएकाहरुको पीडा अहिले पनि उस्तै छ । बाँदरमुढे घटना पिडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘दोषीलाई कारबाही गर, पिडितको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित पिडितले कार्यक्रम गर्न लागेका हुन् । १८ वर्षसम्म पनि आफुहरुले न्याय नपाएको उनीहरुको गुनासो छ । तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानको पनि उक्त घटनामा मृत्यु भएको थियो । १५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भइ घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

Subcategories