News

 

जेठ २६, भरतपुर ।

चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार जेठ २८ देखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए । यसअघि महानगरले जेठ २१ देखि आज २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उनले बताए । यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

 

जेठ २६, भरतपुर । हानामी अन्तर विद्यालय फुटबलमा सनराइज इंग्लिस स्कुल र जनप्रिय स्कुल विजयी भएका छन् ।

भरतपुर १० स्थित गेस्ट हाउस चौरमा आज भएको आजको पहिलो खेलमा सनराइजले अर्बिट स्कुललाई ३(० ले पाखा लगायो । सनराइजको जितमा विलिभ भट्टराईले दुई गोल गरे । सनराइजले एक गोल उपहार पायो ।

पहिलो हाफको दोस्रो मिनेटमा नै विलिभले गोल गर्दै सनराइजलाई अग्रता दिलाए । पाचौं मिनेटमा सनराइजले उपहार गोल पायो । अर्विटका खेलाडी बारमा लागेर फर्किएको बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरे ।

दोस्रो हाफमा सनराइजले एक गोल थप्यो । दोस्रो हाफको १२ औं मिनेटमा विलिभले व्यक्तिगत दोस्रो गोल गरेपछि सनराइज ३(० ले विजयी भयो । विलिभ नै म्यान अफ दि म्याच चुनिए ।

आजको दोस्रो खेलमा जनप्रिय स्कुलले डन एकेडेमीलाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा जन प्रियले डन एकेडेमीलाई ४(२ ले पराजित गर्‍यो ।

त्यस अघि पहिलो हाफको १० औं मिनेटमा एन्जिल तामाङले गोल गर्दै जनप्रियलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्त्य तिर सम्पन्न राउतले गोल गर्दै डन एकेडेमीलाई खेलमा फर्काए । तर टाईब्रेकरमा जन प्रियसँग डन एकेडेमी निराश भयो । जनप्रियका एन्जिल म्यान अफ दि म्याच भए ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो ४ बजे बालकुमारी इंग्लिस स्कुल र ग्राण्डी स्कुल भिड्नेछन् । यस्तै दोस्रो खेलमा अपरान्ह ५ बजे ब्राइट स्टार र नारायणी पब्लिक स्कुल भिड्नेछन् ।

भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

जेठ २४, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगाएतका बिषयमा जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम भएकाले संकट उत्पन्न भएको भन्दै अहिलेको सरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वभाविक भएको बताउनुभएको हो ।

उहाले राष्ट्रपतिले प्रक्रिया पु¥याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुन्छ भन्ने संविधानबाट स्पष्ट हुन नसक्दा समस्या भएको बताउनुभयो । विधेयक उत्पति भएको ठाउँ खोज्दै जाँदा सरकार नै हो भन्ने निष्कर्षमा पुगेर राष्ट्रपतिलाई जानकारी गराएको र विधेयक प्रमाण्ीकरण भएको उहाले बताउनुभयो । उहाले यस बिषयमा अदालतमा मुद्धा परिसकेको अवस्थामा अदालतले दिने आदेश स्वीकार्य हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सीमा नाकामा देखिएको समस्या दुईदेशीमिलेर समाधान गर्ने बिषयमा सकारात्मक वातावरण बनेको जिकिर गर्नुभयो । उहाले भूमि सट्टा पट्टाका बारेमा कुनै कुरा नराखेको र यस बिषयमा आवश्यक परे प्रमाण देखाउन पनि तयार रहेको बताउनुभयो । मुलुकको हितको पक्षमा भारत भ्रमणका क्रममा विवेकले भ्यायसम्म प्रयास गरेको र आफु सम्मानीत भएको महशुस भएको उहाको भनाइ छ । उहाले आफ्नो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रहेको बताउनुभयो । 

नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य शहरमा दुई तर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको उहाले बताउनुभयो । त्यसैगरी, जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबूत बनाउन भ्रमणले योगदान गरेको उहाको भनाइ छ । त्यस्तै उहाले गत वर्ष सम्पन्न आम निर्वाचनपश्चातको पहिलो विदेश भ्रमणको रूपमा रहेको यो भारत भ्रमण विगतका भ्रमण भन्दा फरक पाएको र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत कोरेको जिकिर गर्नुभयो ।

Subcategories