News

१८ कात्तिक, काठमाडौं । भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा बालबालिकाहरु धेरै छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक गरेको विवरण अनुसार आठबिसकोट नगरपालिका १२ साबार्को बस्ने १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ११ गैरीकी ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ । यसैगरी पूर्वी रुकुम घर भई हाल आठबिसकोट नगरपालिका १४ बस्ने कृष्ण जैसीको घरका भाडामा बस्ने पुन निर्माण कम्पनीका गाडी चालक ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको छ । यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका २ परियार टोल बस्ने महाबिर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरकी ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निामा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ । यसैगरी सानीभेरी गाउँपालिका ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ । सानीभेरी गाउँपालिकामा २८ र आठबिसकोटमा २५ जना घाइते भएका छन् ।

हेर्नुहोस् नामावली–

 

कात्तिक १८, काठमाडौँ ।

उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट र रुकुम पश्चिम प्रभावित क्षेत्रमा उडिसकेको बताए । त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् । त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एक हेलिकप्टर पठाएको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए । त्यस्तै सरकारले घाइतको उपचारका लागि चौरजहारी अस्पताल र विमानस्थललाई फोकल स्थल बनाई काम गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कार्तिक १८, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले  बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

Subcategories