News

चितवन, पुस १६ । चितवन। पोल्ट्रीजन्य वस्तु उत्पादनको हिसाबमा अब्बल साबित हुँदै गएको चितवनमा ११औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइने भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो । मञ्चको मङ्सिर १९ गते भएको कार्यसमितिको बैठकले मञ्चले सरकारी, निजी क्षेत्र, शैक्षिक क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरी यही पुस १७ गते ११औँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा सप्ताहव्यापीरुपमा मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए ।

राष्ट्रिय पोल्ट्री दिवसका दिन अण्डा र मासुको उपयोगिताबारे स्कुल शिक्षा कार्यक्रम, विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रम, चिकेन एण्ड एग फेस्टिबल, खुल्ला भिडियो प्रतिस्पर्धा, प्रभातफेरी र रक्तदान, चितवन प्रवेश गर्ने ३ वटा नाकामा होर्डिङ बोर्ड राखिने मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले जानकारी दिए । कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरिएको छ । नेपाल सरकारले २०७० सालदेखि हरेक बर्ष पुस १७ गते राष्ट्रिय पोल्ट्री दिवस मनाउने परम्पराको थालनी गरेको छ । यसवर्षको राष्ट्रिय पोल्ट्री दिवस मनाउन सरकारी निकाय, स्थानीय निकाय, निजी क्षेत्र, पशु चिकित्सक, शैक्षिक संस्था, पोल्ट्री व्यवसायीहरुबीच सहकार्य गरी आमउपभोक्ताहरुमा मासु र अण्डाको मह¤व बुझाउन समुदायकेन्द्रित कार्यक्रम आयोजना गरिएको महासचिव बिसुरालले बताए ।

चितवन, पुस १६ ।

होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा आइतबार (हिजो) दर्शकहरु स्वप्न सुमनसँग झुमेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय व्याण्ड र कलाकारहरुको प्रस्तुतीसँग पनि दर्शकले भरपूर मनोरञ्जन लिए । आजदेखि नयाँ वर्ष २०२४ सुरु भएको छ । फुड फेस्टिबलमा गएराति १ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । आइतबार ३०० रुपैयाँको टिकट काटेरै हजारौँ दर्शक फुड फेस्टिबलमा पुगेको होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिए । दर्शकले क्याम्पाचौर भरिभराउ भएको थियो । हामीले गरेको अपेक्षा भन्दा धेरै नै दर्शक आउनुभयो’, उनले भने । फुड फेस्टिबलमा आज द स्याडोज व्याण्डको टिम आउँदै छ । आयोजकले आज पनि ३०० रुपैयाँको टिकटको व्यवस्था गरेको छ । पुस १८ गतेसम्म हुने फुड फेस्टिबलमा भोलि र पर्सीका लागि भने टिकट राखिएको छैन । व्याण्डहरुलाई पारिश्रमिक दिएर ल्याइएकाले दुई दिन टिकटको व्यवस्था गर्नुपरेको होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले बताए । फुड फेस्टिबलमा साना ठूला गरी ३९ वटा स्टलको व्यवस्था गरिएको छ । करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिबलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । 

 

पुस १४, भरतपुर ।

चितवनको नारायणगढको क्याम्पाचौरमा शनिवारदेखि रैथाने फुड फेस्टिबल एवम् वृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा भएको फुड फेस्टिबलको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । फुड फेस्टिबलको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले अर्थतन्त्र सुधारको लागि फुड फेस्टिबल पनि कोषे ढुंगा हुने बताए । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महानगरले भ्रमण वर्ष मनाउन लागेको भन्दै उनले स्थगित भएको भ्रमण वर्ष सन् २०२४ भित्र उद्घाटन गरिने बताए । सडक स्तरोन्नती सकिएपछि भ्रमण वर्षको उद्घाटन गरिने उनको भनाइ थियो ।


फुड फेस्टिबलको उद्घाटनका दिन कलाकारहरु सागर लम्साल ‘बले’, पशुपती शर्मा, प्रिती आले र ढाकाराम पौडेलले प्रस्तुती दिए । पुस १८ गतेसम्म चल्ने फुड फेस्टिबलको शनिबार उत्साहका साथ उद्घाटन गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) ले बताए । फुड फेस्टिबल नाफा कमाउनका लागि नभई होटल व्यवसाय क्षेत्रको प्रबद्र्धन एवम् अर्थतन्त्रलाई चलायमान बनाउन आयोजना गरिएको अध्यक्ष भट्टको भनाइ छ । फुड फेस्टिबलमा साना ठूला गरी ३९ वटा स्टल रहेका छन् । करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिबलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ । फुड फेस्टिबलमा भोलि पुस १५ गते स्वप्न सुमन र पुस १६ गते द स्याडोज ब्याण्डको विशेष प्रस्तुती रहनेछ । यी दुई दिन ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । फुड फेस्टिबल परिसरमा खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिनुको साथै फ्रि वाइफाई र निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Subcategories