News

भरतपुर,पुस २४ ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा मंगलबारदेखि सुरु भएको छ । बुधवारसम्म चल्ने महाधिवेशनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै दाहालले कृषि क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । देशको मेरुदण्ड नै कृषि भएको भन्दै उहाँले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले सहजीकरण गर्ने बताउनुभयो । पशुपन्छी सम्बन्धि औषधी व्यवसाय दर्ता तथा नवीकरणका लागि परेको नीतिगत समस्या समाधानको लागि पनि सहजीकरण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । औषधी व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद ढकालले व्यवसायीको लागि समयमा तालिम आयोजना गर्न नसक्नु आफुहरुको कमजोरी भएको स्वीकार गर्दै झुटा विवरण दिएर लाइसेन्स लिनेहरुको लाइसेन्स नवीकरण नहुने स्पष्ट पार्नुभयो । व्यवसायीले एन्टिवायोटिक प्रयोग नगरेको दाबी गर्दै आएपछि किसानसम्म एन्टिवायोटिक पुगिरहेको उहाँले बताउनुभयो । नेपाल पशुपंक्षी औषधी पैठारी कर्ता संघको अध्यक्ष रेवती रमण निरौलाले पशुपंक्षी व्यवसायीलाई हरेक दुई वर्षमा पुर्नताजगी कोर्षको तालिम दिनुपर्ने बताउनुभयो ।


महाधिवेशनमा भोलि बन्दसत्र हुँदैछ । महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला सदस्य, चार खुल्ला सदस्य, सातै प्रदेशबाट एक÷एक जना सदस्य, मनोनीत एक जना सदस्य र निवर्तमान अध्यक्ष पदेन रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति दुईवर्षे कार्यकालका लागि निर्वाचित हुने छ ।


पौष २३, भरतपुर– शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम भरतपुर १६, विजयनगरमा सोमबार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाकी सचिव शरद शर्मा पौडेलले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताईन । सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सदस्यहरुले पनि आफू मालिक हो भन्ने कुरा विर्सन नहुनेमा उनले जोड दिईन। संस्थाले सदस्यहरुको हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामजिक क्रियाकलाप पनि गर्दै आएको बताइन।  सहकारी शिक्षाको कमी हुँदा सहकारी अघि बढ्न नसक्ने भएकोले आफ्ना सदस्यलाई सहकारी सम्बन्धी प्रर्याप्त ज्ञान हुन आवश्यक रहेको र पछिल्लो पटक केही सहकारीमा वेथिति हुँदा सहकारीको बदनाम भईरहेको उल्लेख गर्दै उनले सहकारीका सञ्चालकहरुको बारेमा बुझेर मात्र सहकारीमा आवद्ध हुन आग्रह गरिन।
सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीले जानकारी दिए । संस्थाको स्थापना र उद्देश्यबारे जानकारी गराउँदै संयोजक अधिकारीले सहकारीले सदस्यहरुको हितमा समान ढंगले सेवा प्रदान गरिरहेको स्पष्ट परेका थिए।
उक्त कार्यक्रमको सहजीकरण हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्धक नारायण प्रसाद सापकोटाले  गरेका थिए। संस्थाको विजयनगर सेवाकेन्द्र अन्तर्गतका नयाँ सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संस्थाका संचालक सदस्य एवं सेवाकेन्द्र उपसमिति संयोजक ध्रुबकुमार ओझा, सदस्यहरु शंकर अधिकारी, इश्वरी देवी घिमिरे, रमा ढुंगाना, सेवाकेन्द्र प्रमुख श्रीकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। 

शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसमिति सदस्य नेत्रबन्धु पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षा उपसमितिका सदस्य बिदुर केसीले गरेका थिए। 

पौष २३, रत्ननगर । रत्ननगर नगरपालिका–१३ को पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत बिपन्न र जेहन्दार विद्यार्थीलाई जाडोको पोशाक सहयोग भएको छ । पञ्चकन्या मावि भूतपूर्व विद्यार्थी समाजले झण्डै एक लाख रुपैयाँ बराबरको जाडोको पोशाक सहयोग गरेको हो । पोशाक बितरण कार्यक्रमको अवसरमा विद्यालयमा तीनवटा अक्षयकोष स्थापना पनि भएको छ । जसमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय ठाकुरप्रसाद तिवारीको सम्झनामा उनकी धर्मपत्नी नारायणी तिवारीले ५५ हजार ५५५ रुपैयाँ, पूर्वविद्यार्थी यशोधा देवकोटाले आफ्नी छोरीको जन्मदिनमा ५० हजार रुपैयाँ र पूर्वप्रधानाध्यापक मेघनाथ दूवाडीको नाममा ५० हजार १५१ रुपैयाँको अक्षयकोष स्थापना भएका छन् । पूर्वविद्यार्थी समाजकी अध्यक्ष सम्झना भट्टले विद्यालयमा विद्यार्थीहरुको शैक्षिक उन्ननयनका लागि सहयोगलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेकी छन् । अहिले जाडो मौसमको लागि विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग गरेको उनले बताइन्। आगामी दिनमा पनि समाजको सहयोग निरन्तर रहने उनको भनाइ छ ।’

 

 

 

 

Subcategories