News

भदौ ३०, चितवन । तस्विर :  कोमल चन्द्र भगत । जेनजी आन्दोलनका क्रममा चितवनमा मात्र ९८ वटा भवन संरचनाहरूमा क्षति पुगेको छ भने एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको प्रारम्भिक विवरणअनुसार प्रदर्शनकारीहरूले ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी घर तथा प्रतिष्ठान र ३ वटा पार्टी कार्यालय गरी कुल ९८ वटा संरचनामा तोडफोड र आगजनी गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रमका क्रममा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको जानकारी दिएको छ । प्रशासनले प्रदर्शनको समयमा एक युवकको मृत्यु भएको जानकारी दिएको छ ।

प्रदर्शनले हिंसात्मक रूप लिँदा भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । सो झडपमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । जसमध्ये ४ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ ।
जेनजी आन्दोलनको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले २०० राउन्ड हवाई फायर र ३५० सेल अश्रुग्याँस प्रहार गरेको चितवन प्रशासनको विवरणमा उल्लेख छ । जिल्लामा उत्पन्न असहज स्थितिको मौका छोपी जिल्ला कारागार भरतपुरबाट सबै ७४२ जना कैदीबन्दी भागेका थिए । प्रशासनका अनुसार हालसम्म ३२७ जना कैदीबन्दी मात्र कारागारमा फिर्ता भएका छन् भने भागेका मध्ये ५ जनालाई रुपन्देही र तनहुँबाट पक्राउ गरिएको छ । फरार रहेका अन्य कैदीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ । घटनापछि हाल जिल्लाको जनजीवन सामान्य बन्दै गएको र सार्वजनिक यातायात तथा विद्यालयहरू पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

क्षतिको यकिन विवरण सङ्कलन गर्न समिति गठन गरी काम अगाडि बढाइएको छ र यथाशीघ्र पूर्ण विवरण सहितको श्वेतपत्र सार्वजनिक गरिने उहांले बताउनु भयो । प्रशासनले विभिन्न कार्यालय परिसरको सरसफाइ सुरु गर्नुका साथै क्षतिग्रस्त संरचनाहरूको मर्मत सम्भार र न्यूनतम सेवा प्रवाह सुचारु गर्न एकद्वार प्रणालीमार्फत विभिन्न सङ्घ संस्थासँग समन्वय गरिरहेको उहांको भनाई छ । एक हप्ताभित्र सबै कार्यालयबाट न्यूनतम सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उहांले बताउनु भयो ।

 

२५ भदौ, चितवन ।
पोखराको लेकसाइडमा प्रदर्शनकारीले जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ। लेकसाइडमा रहेको अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। जलेर हड्डी मात्र रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। लेकसाइडमा भेटिएको शव पनि अंशुभरा ग्रुपमा कार्यरत युवतीको हुन सक्ने प्रहरीको आशंका छ। यसअघि पोखराकै नयाँबजारमा रहेको अटो स्वरुमको आगो निभाउने क्रममा अर्की युवतीको शव भेटिएको थियो। शव भेटिएका यी दुवै युवतीको सनाखत हुन सकेको छैन। यी दुवै व्यवसायिक भवन गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको हो। प्रदर्शनकारीले मंगलबार यी दुवै भवनमा तोडफोड गरेर आगजनी गरेका थिए। जलेको अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।  मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार शव पुरूषको हो। तर शव पहिचान हुनसकेको छैन। ‘शव पुरूषको हो। घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं।’

Subcategories