News

 

चितवन  ।  एटुजेड समाचार डटकमद्वारा आयोजित दोस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा “मौलिक तीज पर्व र यसका चुनौती” बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त लेखन आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्।

त्यस्तै पत्रकार चाँदनी हमाल तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने बिष्णु गौतम सान्त्वना पुरस्कार जित्न सफल भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।

आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दिवा भट्टराई, दुर्गा कुमारी रेग्मी, सुधा देवकोटा, निरु लामिछाने, करुणा देवकोटा, केशु लामिछाने, बिनिता कडेल, सबिता श्रेष्ठ, चाँदनी हमाल, रेखा देवकोटा, कल्पना आचार्य, सर्मिका ढुवाडी, सुरक्षा बराल, पूजा लम्साल, गीता घिमिरे, श्रीजा थापा, सुजिता हमाल, रबिना पौडेल, बिष्णु गौतम, सुनिता सुवेदी, सविता महतो, बसुन्धरा गौतम, निरुता बिक, संगिता आचार्य र सिम्रन क्षेत्री रहेका थिए ।

सो कार्यक्रममा निर्णायक संयोजकमा भरतपुर प्रज्ञा प्रतिष्ठानका सचिव बालकृष्ण थपलिया, निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभाग डा। एकनारायण पौडेल, नेपाल संस्कृत विश्वविद्यालय, कालिका विद्यापिठ गैंडाकोट नेपाली विभाग डा। केशव चालिसे र नेपाल साहित्य परिषद् सचिव शान्ती शर्मा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहेकी थिईन् । उनले महिला पत्रकारलाई सम्मान गर्दै चितवनमा नै पहिलो पटक यस्तो खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गरिन् ।

भरतपुर महानगरपालिकामा महिला नेतृले नेतृत्व गर्दै गर्दा चितवनका महिला पत्रकारहरुसँग हातेमालो गरेर सहकार्य गर्न सधैं तयार रहेको बताईन् । उनले पत्रकार देशको चौथो अङ्ग भएकाले समाजमा नयाँ ढङ्गले लेखन कार्यलाई अगाडी बढाउन यस्तो खालको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

कार्यक्रममा विशिष्ट अतिथी पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी रहेका थिए । उनले यस्ता खालका कार्यक्रम पत्रकारहरुको साझा संगठनले गर्नुपर्नेमा प्राईभेट मिडिया कम्पनीले गतबर्षदेखी शुरु गरी निरन्तरता दिईरहेको अवस्थामा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै उनले नेपाल सरकार एवम् भरतपुर महानगरपालिकाबाट पत्रपत्रीका एवम् रेडियोहरुले लोक कल्याणकारी बिज्ञापन पाईरहँदा छिटो छरितो समाचार सम्प्रेशण गर्ने अनलाइन मिडियाहरुले नपाएकोमा चिन्ता व्यक्त गर्दै भरतपुर महानगरले अनलाइन मिडियाहरुलाई पनी लोक कल्याणकारी बिज्ञापनको व्यवस्था मिलाईदिनुहुन महानगर प्रमुखसँग आग्रह समेत गरे ।

कार्यक्रमका सभापती एवम् एटुजेड समाचारका अध्यक्ष किशोर चन्द्र सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसंग जोड्ने र मौलिक कलारसंस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले आर्टिकल लेखन प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गरे । गत बर्ष देखि शुरु भएको आर्टिकल लेखन प्रतियोगितालाई अगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने उनको भनाई थियो ।

उक्त प्रतियोगिता एटुजेडले समाचारले शुरुवात गरेता पनि आगामी बर्षदेखि अझै परिस्कृत रुपमा सम्पूर्ण सन्चार क्षेत्रकै साझा कार्यक्रमको रुपमा अगाडि बढाउने योजना रहेको समेत बताए ।

कार्यक्रममा अतिथी प्रेस चौतारी चितवनका अध्यक्ष सुबास पण्डित, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, संचारिका महिला समुहका अध्यक्ष अजिता अधिकारी, वरिष्ठ फिजिसियन तथा समाजसेवी डा। भोजराज अधिकारी लगायत बोलेका थिए ।

साथै कार्यक्रममा कार्यक्रमको अतिथी टाईटल स्पोन्सर निप्पोन एजुकेशनल सेन्टरका प्रबन्ध निर्देशक रुकु काफ्ले भट्रराई, टाटा पेन्टेनस प्रालिका निर्देशक आगमन आचार्य, गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल प्रालिका अध्यक्ष प्रकाश रिजाल विभिन्न मिडियामा आबद्द पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सन्चालन पत्रकार बाल गोबिन्द न्यौपानेले गरेका थिए ।

चितवन, असोज १ ।  तस्विर: कोमल चन्द्र भगत । 

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छ वटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोज भित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उहाँले बताउनुभयो । उहाँका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् । प्रमुख चौधरीले भन्नुभयो “एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।” यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् । विसं २०७९ मा ६ छावा जन्माएका थिए । बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने जनाइएको छ । उहाँका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, ध्रुवे र मकुनाका हुन् । खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उहाँले जानकारी दिनुभयो । जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।रासस

 

असोज १ , चितवन । भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो । जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन राखिएको अस्पतालका प्रमुख एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेले बताउनु भयो । स्क्रीन हरेर विरामीलाई समय कटाउन सहज हुने उहांको भनाइ छ ।

साथै सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते बिरामीको उपचारमा सहज हुने उहांले बताउनु भयो। यसअघि सिटि स्क्यान नहुँदा गम्भिर प्रकृतिका विरामीको सिटि गर्न बाहिर लैजानुपर्ने बाध्यता यसले हटाएको छ । त्यस्तै अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अनिल भट्टराईले अस्पतालमा सिटी स्क्यान जडान भए संगै ट्रमा सेन्टर पूर्ण भएको बताउनु भयो । यस मेशिनले चोटपटक र दुर्घटनाका बिरामीको उपचारमा सहज हुने उहांको भनाइ छ ।

Subcategories