News

 

फागुन १४, तनहुं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिनुभयो।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।

 

 

फागुन १४, चितवन । अखिल नेपाल किसान महासंघ चितवनको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष सुरेन्द्र मोहन शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ वागमती प्रदेशका संयोजक कृष्ण प्रसाद अधिकारी, नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका इन्चार्ज शम्भु सुवेदी, कृषि तथा पशुपंक्षी विभाग चितवनका प्रमुख कृष्ण प्रसाद तिवारी मन्तव्य राख्नु भएको थियो । समितिका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम समितिका सचिव सिपी अधिकारीले सञ्चालन गर्नु भएको थियो । त्यस्तै अधिवेशनले सिपी अधिकारीको अध्यक्षतामा ६५ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनको सभाहलमा भएको अधिवेशनले सर्वसम्मत नयां कार्य समिति चयन गरेको हो ।

फागुन १४, रत्ननगर । 
पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको छ । नारायणगढ निवासी स्वर्गीय रुकमणि प्रधानको पुण्यतिथिमा संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको हो । प्रधानका श्रीमान केएल भूषण प्रधान, जेठा छोरा गगन प्रधान, चितवन उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा कान्छा छोरा सहन प्रधान, छोरीहरु शशी श्रेष्ठ , डा।सन्जु लाल, वर्षा प्रधान, नाति प्रियनलाल केन्द्रमा पुगेर खाद्यान्न तथा स्टेशनरी हस्तान्तरण गरेका थिए । संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले आर्थिक मन्दीको प्रभाब संरक्षण केन्द्रमा परेको भन्दै सहयोग गर्न दाँताहरुलाई आग्रह गरेका छन् ।

Subcategories