News

साउन २८, चितवन । तस्विर : कोमलचन्द्र भगत । 

चितवन उद्योग संघ अन्तरगतको महिला उद्यमी मञ्चले तीजलाई नै लक्षित गरी ‘तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला २०८२’ आयोजना गर्ने भएको छ । यही साउन ३० गतेदेखि भाद्र १ गतेसम्म संचालन हुने मेला चितवन औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा हुनेछ । उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने, उत्पादनको प्रदर्शनी मार्फत महिला उद्यमशिलताको प्रबर्द्धन गर्ने र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यले विगत ३ वर्षदेखि यो मेला गर्दै आइरहेको मञ्चकी अध्यक्ष सृजना सोतीले जानकारी दिनुभयो । मेला विहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्ने अध्यक्ष सोतीको भनाइ छ ।

एक्स्पो अन्तर्गत हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी) हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन तथा विभिन्न परिकारका खानाका स्टलहरु, नवप्रवर्तनका स्टलहरु लगायत मेलामा तीजका लागि उपयोगी हुने उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणका लागि ३५ भन्दा बढी स्टलहरु रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार बढीले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । यस्तै मेलामा ‘मानसिक स्वास्थ्य हाम्रो सरकार, जागरुक उद्यमी समृद्ध परिवार’ विषयमा तीज गीत प्रतियोगिता समेत आयोजना गरिएको छ । ३० भन्दा बढी समूह सहभागि हुने प्रतियोगिताको विजेता समूहले २० हजार, द्धितीय हुनेले १५ हजार, तृतीय हुनेले १५ हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । महिला उद्यमी मञ्चले विभिन्न समयमा रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । हाल मञ्चमा २५० भन्दा बढी महिला उद्यमीहरु जोडिएका छन् । पछिल्लो एक वर्षमा १५ जना नयाँ महिला उद्यमी जोडिएको अध्यक्ष सोतीले बताउनुभयो । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज पर्व नजिकिदै छ । बजारमा तीजको चहलपहल पनि बढ्दै गइरहेको छ । तिजलाइ नै लक्षित गरी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

 

साउन २७, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अवसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाले जानकारी दिए ।

हात्तीको पर्वको रुपमा लिएर सौराहाका व्यवसायीहरुले हात्ती दिवस मनाएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा।गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोजको उद्घाटन गरेका थिए । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्थाका अध्यक्ष खतिवडाले बताए । ‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मन पर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’ उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए ।

मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको अध्यक्ष खतिवडाले बताए । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा।गणेश पन्तले जंगली हात्ती र निजी हात्तीको अन्तरसम्बधले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उनले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताए । कार्यक्रममा राष्ट्रिय पंछीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा।विजय कुमार श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ७ का वडाध्यक्ष सजना महतो लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्क्ष तथा कार्यक्रम संयोजक शम्भू प्रसाद मालीले स्वागत मन्तव्य राखेका थिए ।

नेपालमा करिब ४०० को हाराहारीमा हात्ती रहेको अनुमान छ । चितवनमा सरकारी ६० वटा र निजी स्तरमा ४५ वटा हात्तीहरु छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वन, क्षेत्रीय होटल संघ चितवन सौराहा, रेवान सौराहा, ग्रिन सोसाइटी नेपाल र रत्ननगर वडा नं ४,५,६,७ र ८ वडा कार्यालयको सहयोगमा हात्ती दिवन मनाइएको हो । बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वनका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको कार्यक्रम संयोजक मालीले जानकारी दिए ।

साउन १८, चितवन । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

 

Subcategories