चितवन, असार २१ । तस्विर कोमल चन्द्र भगत ।  चितवनलाई लगातार दोस्रोपटक पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । आज (शनिबार) एक कार्यक्रमका बीच बागमती प्रदेश खोप समन्वय समितिले चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ । बागमती प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । १५ महिना उमेर भित्रका बालबालिकालाई सबै (१३ वटा रोगविरुद्धको) खोपहरु लगाएपछि पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरिएको छ । पूर्ण खोप सुनिश्चितता गर्न १६ देखि २३ महिनासम्मका बालबालिकाहरुमा सर्वेक्षण गर्ने गरिएको छ । वैशाखसम्म थप ५०४ जना बालबालिकालाई पूर्ण खोप लगाईएको छ । पहिलो चरणमा २०८१ माघदेखि चैतसम्ममा ४४८ जना छुट बालबालिकालाई खोप लगाएको थियो भने यही वैशाख महिनामा खोज र खोप अभियान चलाउँदा थप छुट भएका ५६ जना बालबालिकालाई खोप लगाएसंगै चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

चितवनमा जन्मदेखि १५ महिनासम्मका ९ हजार ७९ जना बालबालिका रहेका छन् भने १६ महिनादेखि ५ वर्षसम्ममा २५ हजार ४५२ जना बालबालिका रहेको तथ्यांक छ । स्वास्थ्य कार्यालयका अनुसार ती सबै बालबालिका अब पूर्ण खोप लगाउन सफल भएका छन् । चैतसम्म गरिएको घरधुरी सर्वेक्षणमा १६ जनाले कुनै पनि खोपको डोज नलगाएको र ४३२ जनाले खोप छुटेको बालबालिका फेला परेको थियो । वैशाखमा थप अभियान चलाउँदा २ जना कुनै पनि खोप नलगाएको र ५४ जना खोप छुट भएको बालबालिका फेला परेको थियो । अहिले ती सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ । चितवनलाई पहिलोपटक २०७५ जेठमा २५ गते पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण अभियान रोकिदा गतवर्ष पुनः चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको थियो ।

 


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष एवं जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले चितवनलाई यो उपलब्धि हासिल गराउन सफल भएकोमा सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई धन्यवाद दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार नेपालमा हाल ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन् भने ४ प्रतिशत बालबालिका कुनै पनि खोप नलगाएको भेटिएका छन् । यस्तै बागमती प्रदेशमा ९.३ प्रतिशत बालबालिका अझै पनि कुनै पनि खोपको डोज लगाउन नपाएको तथ्यांक छ ।