News

सरकारले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकले परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने , इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय भएको उहाले बताउनुभयो । त्यस्तै बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा नेपालीहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि पहलकमदी भइरहेको जानकारी दिनुभयो । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने उहाले बताउनुभयो । मन्त्रिपरिषद्ले इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय गरेको छ भने यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेको छ ।

चितवन, असोज २१ ।

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरु सकुसल रहेकोले स्थानान्तरणको प्रयास भइरहेको जनाएको छ । विश्वविद्यालयकी रजिष्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुसल रहेको जनाएकी हुन् । उनले इजरायलमा भएको अतंककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुसल रहेको जनाएकी छन् । उनले विभिन्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरेकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरु इजरायलमा सकुसल रहेको जानकारी मिलेको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल स्थित इजरायलको राजदूतावास एवम् इजरायल स्थित नेपाली राजदूताबासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ । यस अवस्थामा हामी विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरु अपनाउन र सजक रहन अनुरोध गरिरहेका छौं ।’

२१ असोज, काठमाडौं । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर) को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।राजदूत रिजालले जानकारी दिए अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

राजदूत रिजालले मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका बताइन । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत उनको भनाइ छ।’

आइतबार बिहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार सम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

 

Subcategories