News

रत्ननगर, बैशाख २ ।

तस्विर कोमल चन्द्र भगत ।

३०औं वन्यजन्तु सप्ताह २०८२ को दोस्रो दिन मंगलवार पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति, टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा रत्ननगर वडा नं ९ र १० अन्तर्गत पर्ने वरण्डाभार क्षेत्रको जैविक राजमार्ग सरसफाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं। ९ का वडाध्यक्ष अनन्त अधिकारीले टिकौली जंगलदेखि गोन्द्रङ सम्मको क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग रहेको भन्दै यस क्षेत्रमा फोहोर फाल्नेले कानुन वमोजिक कारबाही हुने बताए । वन्यजन्तु ओहोर दोहोर गर्ने, पर्यटक आउँने जाने र हेर्ने भएकाले राजमार्ग छेउछाउमा फालेको फोहोरले सोभा नदिने बताए ।

कार्यक्रमको उद्घाटन गरेलगतै संरक्षणकर्मी र सुरक्षाकर्मीहरुले वरण्डाभार क्षेत्रको राजमार्ग छेउछाउ सरसफाई गरेका थिए । कार्यक्रममा सहभागी संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरसफाई अभियान्ताहरुले राजमार्गको वरिपरी जथाभावी फालेका प्लाष्टिक र सिसा जन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

सो अवसरमा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले मानिसहरुले आफ्नो आनिबानिमा सुधार गर्न सकेमा फोहोर कम हुने बताए । टिकौलीमा हुने फोहोरले दुर्लभ वन्यजन्तुमा गम्भीर असर परेको भन्दै उनले जनस्तरमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

घिमिरेले टिकौली जंगलमा जथाभावि फालेको फोहोरले वन्यजन्तुलाई गम्भीर असर परेको भन्दै जैविका विविधताको संरक्षणको लागि सरसफाई गरिएको बताए ।
उनले सप्ताहमा संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका कार्यक्रमहरु आयोजना गरिएको बताए ।

वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य बिन्दा कार्की, सरस्वती लामा, समुदायमा आधारित चोरी शिकार नियन्त्र युवा जागरण अभियानका अध्यक्ष बसन्त राना मगर, सामाजिक तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाली सेना लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन टिकौली मध्यवर्ती सामुादायिक वनका सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए ।

बैशाख ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानीः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया, ४ गते बुढीराप्ती खोला सरसफाई र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

पर्यटन विकास, वातावरण संरक्षण, वन तथा वन्यजन्तु संरक्षण, पत्रकारिता र सामुदायिक वनमा उत्कृष्ट कार्य गर्ने कार्यालय सचिवलाई सम्मान गरिने छ ।

बैशाख १, चितवन ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल चयन भएका छन् । मुक्ति समाज भरतपुर महानगर कमिटीको सम्मेलनले छिनालको नेतृत्वमा सर्वसम्मतबाट २३ सदस्यीय महानगर कमिटी चयन गरेको हो । अध्यक्ष मण्डलको अध्यक्ष श्याम लाल बिक र सदस्यहरु कृष्ण नेपाली, सहदेव लकान्द्री, मिन बहादुर परियार, भुवन नेपाली प्यासी, विजय बिक, टेकलाल बिक रहेका थिए । अध्यक्ष मण्डलले सर्वसम्मतबाट नयाँ कमिटी चयन गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । सम्मेलन उद्घाटन सत्रमामा नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, मुक्ति समाजका केन्द्रीय नेता श्याम लाल बिक, मुक्ति समाज चितवनका अध्यक्ष मिन बहादुर परियारले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुक्ति समाजका केन्द्र, प्रदेश र जिल्ला नेताहरुका साथै नेकपा एमालेका प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियोे । सम्मेलनको उद्घाटन सत्र गुन्जमान बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बाबुराम छिनाल र स्वागत मन्तव्य कर्ण सिंह बिकले राखेका थिए ।

वैशाख १, चितवन । 

पवित्रा ढकाल / कोमल चन्द्र भगत । 

नेपालको अग्रणी हस्पिटालिटी चेन ब्राण्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । आज पत्रकार सम्मेलन मार्फत सेवा विस्तार गरेको जानकारी दिनु भएको हो । नयां वर्ष २०८२ को अवसर पारेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेको भनाइ छ । करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन् । साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ । जंगल सफारीको रमाइलोका साथै सुपारी र नरिवल लगायतका फलको बगैँचासमेत रहेको यो होटल नारायणघाट पुल्चोकबाट करिब ५०० मिटर दुरीमा रहेको छ । बजार नजिक भएर पनि शान्त वातावरणमा समय बिताउन चाहनेका लागि ‘सिद्धार्थ होटेल चितवन’ भरपर्दो होटल हुने न्यौपानेले बताउनु भयो ।


नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उहांको भनाइ छ । “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको उहांले बताउनु भयो । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको न्यौपानेको भनाइ छ । होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि रहेको छ । कम्पनीले हाल भएको पूर्वाधारमा १६ करोड लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने बताउनु भयो । अहिले होटलमा हाल ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीन वटा सम्मेलन हलका साथै स्वीमिङ पुलको पनि स्तरोन्नति गरिने उहांले बताउनु भयो । होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बारको पनि सुविधा थप हुनेछ । सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटी अन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिका अन्तर्गत विभिन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन् । सन् २०३० सम्ममा प्रत्यक्ष रोजगारीको संख्या वृद्धि गरी पाँच हजार बनाउने लक्ष्य लिइएको सिइओ न्यौपानेले बताउनु भयो । कम्पनीले नेपाल चेनलाई अन्तराष्ट्रियकरण गरी म्यारीज डेस्टिनेसन थलो बनाउने तयारी गरिरहको पनि न्यौपानेले बताउनु भयो । कैलालिको टिकापुरबाट कम्पनीले पहिलो सेवा शुरु गरेको हो ।

Subcategories