News

बैशाख १२, चितवन ।
पूर्वी चितवनको रत्ननग वडा नं १३ स्थित असहाय बृद्ध कल्याण समाज परिसर भोली बैशाख १३ गते शनिवार बृहत निस्शुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर विहान ७ बजेबाट सुरु हुने छ । अमिलिया टोल विकास संस्थाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा हुने बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र सेवाहरू प्रदान गरिने संस्थाका अध्यक्ष केशवराज पाठकले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट सुगर, प्रेसर, महिलाको स्तन, पाठेघर, हाड जोर्नी तथा नसा र बालबालिकाको रोग सम्बन्धी परीक्षण र अन्य नसर्ने रोगको परीक्षण हुने अध्यक्ष पाठकले जानकारी दिए ।अध्यक्ष मेघनाथ पौडेलले सञ्चालन गरेका थिए ।

 

बैशाख १२, चितवन ।

भरतपुर महानगरपालिका वडा नं २७ मेघौलीमा शुक्रबार होमस्टे प्रर्वद्धन सम्बन्धी प्रशिक्षणात्मक अन्तत्र्रिmया कार्यक्रम गरिएको छ । बागमती प्रदेश सरकार अन्तर्गत पर्यटन कार्यालय सौराहाको आयोजनामा सुरु भएको कार्यक्रममा चितवनको होमस्टेको अबस्था, विकास, पूर्वधार निर्माण तथा गुणस्तरीय सेवाको विषयमा छलफल गरिएको कार्यालयका प्रमुख प्रेमप्रसाद ढकालले जानकारी दिए । दुई दिन सम्म चल्ने सो कार्यक्रममा पर्यटन विज्ञ डा. विश्वराज सुवेदीले चितवनको पर्यटन र होमस्टेले ग्रामिण पर्यटनको विकासमा खेलेको भूमिका, सहजकर्ता सुवास शर्माले चितवनमा होमस्टेको संख्या र अबस्था तथा मेघौली घटगाई नेचर गाइड एशोसियसनका अध्यक्ष मनिष लिम्बुले जैविक विविधता र चितवनको पर्यटनको सम्बन्धको विषयमा सहजीकरण गरेका छन् । कार्यक्रममा सहभागीहरुको समुह विभाजन गरी होटस्टेको स्तरोन्नतीको लागि स्थानीय सरकार, होमस्टे सञ्चालक र सहयोगी संस्थाले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरिएको थियो । समुहको नेतृत्व गरेका व्यक्तिहरुले होमस्टेको वर्तमान अबस्था र पर्यटकलाई प्रदान गर्ने सेवाको विषयमा लिखित रुपमा जानकारी गराएका थिए । होमस्टेमा विद्यमान समस्याको पहिचान गरी सामधानको खोजीका लागि समुहगत छलफल गरिएको पर्यटन कार्यालय सौराहाका प्रमुख ढकालले बताए । कार्यक्रममा पर्यटन विज्ञ सुवेदीले चितवनका स्थानीय तहहरुले अहिले सम्म होमस्टे कार्यविधि बनाउन नसकेको बताए । भरतपुर महानगरपालिका यस तर्फ अग्रसर भएको भन्दै प्रदेश सरकारको निर्देशन अनुसार होमस्टे कार्यविधि बनाउनु पर्ने बताए । चितवनमा करिब ३०० वटा होमस्टेमा ५०० मात्र बेड क्षमता रहेको छ । चितवनमा बार्षिक ३ लाख ५० हजार पर्यटक भित्रिने गरेका छन् । त्यसको ५ प्रतिशत अतार्थ १५ हजार पर्यटकको मात्र होमस्टे रोजाइमा पर्ने गरेको सुवेदीले जानकारी दिए । ग्रामिण पर्यटन विकासको आधार होमस्टे भएपनि राज्यले ध्यान दिन नसकेको उनको भनाई छ । दैनिक ५०० को हाराहारीमा होमस्टेमा पर्यटक आउछन् । ९० प्रतिशत स्वदेशी र १० प्रतिशत मात्र विदेशी पर्यटक आउने गरेका छन् । पर्यटन कार्यालय सौराहाका प्रमुख ढकालको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य मिठु विक, मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोतिप्रसाद भूषाल, थारु सामुदायिक होमस्टे मेघौलीका अध्यक्ष सोमलाल महतो लगायतको उपस्थिति रहेको थियो ।

बैशाख ११, चितवन । तस्विर कोमल चन्द्र भगत ।   चितवन सहित सौराहाको पर्यटन विकास तथा स्थानीय समुदायको जीवनस्तर उकास्न पाँचवटा सामुदायिक वनलाई जोडेर जिप सफारी शुरु गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिद्वारा टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर खगेरी राप्ती मध्यवर्ती जिप सफारी सुरू गरिएको हो । खोरसोर संरक्षित वनबाट सुरू भएको जिप सफारी टिकौली हुँदै बिसहजारी तालसम्म पर्यटकलाई वन, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराइने मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको निकटका सामुदायिक वनमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जिप सफारीको उद्घाटन गरेका छन् । सो अवसरमा उनले वनको समुचित उपयोग गर्ने नीति सरकारले लिएको बताए । वन, वन्यजन्तु र वनस्पतिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको जीवनस्तर उकास्ने गरी राष्ट्रिय वनहरुको उपयोग गर्ने नीति सरकारले लिएको उनले स्पष्ट पारे । वनलाई संरक्षणमात्रै गर्ने नभई संरक्षित वनको समुचित प्रयोग गर्नुपर्ने भन्दै वन ऐन, नियमावलीले गरेको बन्देज फुकुवा गरी वनको उपयोग र पर्यटनमार्फत जीविकोपार्जन तथा जीवनस्तर उकास्ने सरकारको उद्देश्य रहेको उनले बताए । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको भन्दै उनले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताए । निकुञ्ज, नेपाली सेना र समुदायको त्रिपक्षीय सहकार्यले चितवन निकुञ्जको संरक्षणको काम उदाहरणीय साबित भएको भन्दै उनले वन उपयोगको नीतिले यसलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री ठकुरीले सौराहामा सफारीमा प्रयोग हुने निजी हात्तीको एकीकृत व्यवस्थापनका लागिसमेत सरकारले प्रक्रिया अगाडि बढाएको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य संयोजक रहेको कार्यदल बनेर काम सुरू भइसकेको भन्दै उनले हात्तीको एकीकृत व्यवस्थापन छिटै हुने विश्वास दिलाए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगरमा पहिलोपटक जिप सफारी सुरू भएको भन्दै खुसी व्यक्त गरे । हालसम्म निकुञ्ज र कुमरोज सामुदायिक वनमा मात्रै जिप सफारी सञ्चालनमा रहेको भन्दै उनले रत्ननगरमा पहिलोपटक नयाँ पर्यटकीय गन्तव्यको रुपमा जिप सफारी सुरू भएको बताए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवनमा नयाँ पर्यटकीय गन्तव्यको थालनी भएको बताए । वन्यजन्तुको महत्वपूर्ण करिडोर क्षेत्रमा सुरू भएको जिप सफारीले चितवनमा पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुङ्गानाले जिप सफारीले पर्यापर्यटनको विकास गर्ने बताए । जिप सफारीले सौराहाका व्यवसायीलाई मात्रै नभई स्थानीय समुदायलाई झन् बढी फाइदा हुने उनले बताए । मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सामुदायिक वनहरुलाई सौराहाको पर्यटनसँग जोड्न नयाँ गन्तव्यको रुपमा जिप सफारी सुरू गरिएको बताए । खोरसोरदेखि टिकौलीसम्म २९ किलोमिटरको करिडोर सडकमा दैनिक ६० टिप जिप सफारी गर्ने गरी सुरू गरिएको उनको भनाइ थियो ।
सामुदायिक वनमा जिप सफारीका लागि मध्यवर्तीले बनाएको कार्यविधि निकुञ्जले स्वीकृतसमेत गरेको छ । मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा. रामचन्द्र कँडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललगायतको उपस्थिति रहेको थियो । चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई मिलीजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेलले सञ्चालन गरेका थिए ।

Subcategories