चितवन , साउन १२ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख. २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय पैदलयात्री आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ गनौरियाका करिब ४५र४६ वर्षीय विजयकुमार गुप्ता र सोही वडाका करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन्। दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको छ। घटनापछि ट्रक र चालक मोरङको विराटनगर महानगरपालिका–४ निवासी ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको बहादुरगञ्ज–तौलिहवा सडकखण्ड हाल सञ्चालनमा आएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।