News

चितवन जेठ १ ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि आज बहस पूरा हुन सकेन । सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।

चितवन जेठ १ ।
सरकारले नारायणी नदीमा जल यातायात सुरू गर्ने घोषणा गरेको छ । मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । उहांले सुनकोशी तथा नारायणी नदीमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गर्नुभयो । उहांले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गर्नुभयो । सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने पनि राष्ट्रपति पौडेलले घोषणा गर्नुभयो ।

चितवन जेठ १ । सविना लामिछाने ।

भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि आह्वान गरिएको बोलपत्र आह्वान रद्द भएको छ। भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको जानकारी दिएको हो। भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियम संगत नभएको उल्लेख गरे संगै ठेक्का रद्द भएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले एउटा मात्रै कम्पनीको टेण्डर परेको र अन्य ठेक्का प्रक्रिया नियम संगत नभएकाले टेण्डर रद्द गरिएको जानकारी दिनुभयो । महानगरका अनुसार भोलि ( बुधबार ) नै नयाँ ठेक्का आह्वान हुनेछ । भरतपुर महानगरले पहिलो चरणको निर्माणका लागि १ अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो। भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरि ठेक्का आव्हान भएको थियो। गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए। गत कात्तिकमा यो रंगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो । विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड बढी ऋण लागेपछि रंगशालाबाट हात झिकेको थियो ।

 

Subcategories