News

चितवन,२८ वैशाख ।

भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ । महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् । सडकमा ब्रुमर चलेको तस्बिरसहित प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्–निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ ।

चितवन,२८ वैशाख । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ । कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताउनुभयो । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे उल्लेख गर्नुभयो । पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।

चितवन, वैशाख २५ ।

चितवन राष्ट्रिय निकुञ्जमा आज ( मंगलबार ) बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन । यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ ।

Subcategories