साउन २८, चितवन । तस्विर : कोमलचन्द्र भगत । 

चितवन उद्योग संघ अन्तरगतको महिला उद्यमी मञ्चले तीजलाई नै लक्षित गरी ‘तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला २०८२’ आयोजना गर्ने भएको छ । यही साउन ३० गतेदेखि भाद्र १ गतेसम्म संचालन हुने मेला चितवन औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा हुनेछ । उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने, उत्पादनको प्रदर्शनी मार्फत महिला उद्यमशिलताको प्रबर्द्धन गर्ने र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यले विगत ३ वर्षदेखि यो मेला गर्दै आइरहेको मञ्चकी अध्यक्ष सृजना सोतीले जानकारी दिनुभयो । मेला विहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्ने अध्यक्ष सोतीको भनाइ छ ।

एक्स्पो अन्तर्गत हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी) हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन तथा विभिन्न परिकारका खानाका स्टलहरु, नवप्रवर्तनका स्टलहरु लगायत मेलामा तीजका लागि उपयोगी हुने उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणका लागि ३५ भन्दा बढी स्टलहरु रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार बढीले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । यस्तै मेलामा ‘मानसिक स्वास्थ्य हाम्रो सरकार, जागरुक उद्यमी समृद्ध परिवार’ विषयमा तीज गीत प्रतियोगिता समेत आयोजना गरिएको छ । ३० भन्दा बढी समूह सहभागि हुने प्रतियोगिताको विजेता समूहले २० हजार, द्धितीय हुनेले १५ हजार, तृतीय हुनेले १५ हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । महिला उद्यमी मञ्चले विभिन्न समयमा रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । हाल मञ्चमा २५० भन्दा बढी महिला उद्यमीहरु जोडिएका छन् । पछिल्लो एक वर्षमा १५ जना नयाँ महिला उद्यमी जोडिएको अध्यक्ष सोतीले बताउनुभयो । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज पर्व नजिकिदै छ । बजारमा तीजको चहलपहल पनि बढ्दै गइरहेको छ । तिजलाइ नै लक्षित गरी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।