पौष १, चितवन । चितवन–पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत चितवनबाट आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय बाघ गणनामा एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्नुका साथै एक सय क्यामेरा जडान गरिने भएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्म एउटै क्षेत्र मानेर बाघ गणना गरिनेछ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघ देखिएका ठाउँमा क्यामेरा ट्रयापिङ्ग विधिबाट गणना गरिने बताए । उनले बाघका पाइला भेटिएका, पर्याप्त घाँसे मैदान र आहारा प्रजाति भएको ठाउँमा पनि क्यामेरा जडान गरिने जानकारी दिए ।
‘पुसको पहिलो हप्ता फिल्डमा क्यामेरा जडान गरी गणनाको क्रममा एउटै क्यामेरालाई दुई हप्तासम्म एक ठाउँमा राखिने प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए । बाघ गणना गर्न करिब ८० देखि ९० दिन लाग्ने हुंदा गणनामा चितवन–पर्सा मा मात्रै प्राविधिक, कर्मचारी सामुदायिक वन समूहहरू गरी १ हजारभन्दा बढी जनशक्ति खटिनेछन् ।
बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा १२ वटा क्याम्प राखिनेछ । एउटा क्याम्पमा १० देखि १२ जनाको प्राविधिक टोली रहनेछ ।
एक पटक गणना भएको बाघ नदोहोरियोस् भन्नका लागि सफट्वेयरको माध्यमबाट परीक्षण गरिने छ । ‘बाघ कहिल्यै पनि प्रत्यक्ष गणना गरिँदैन । अप्रत्यक्ष गणना गर्दा कम र बढीको तथ्याङ्कलाई राखेर औसत तथ्याङ्क सार्वजनिक गर्ने गरिन्छ । गणनामा २ वर्ष मुनिका बघिनीसँगै रहेका डमरुलाई उल्लेख गरिँदैन ।’ आमासँगै रहेका २ वर्ष मुनिका डमरु सिकार खेल्न सक्षम हुँदैनन् भने भाले बाघले मार्ने जोखिम बढी भएकाले जोगाउन मुस्किल हुने गर्दछ । आफैँ सिकार खेल्न सक्ने र स्वतन्त्र ढंगले बाँच्न सक्ने भएर आमाबाट छुट्टिएका बाघमात्रै गणनामा उल्लेख हुने निकुञ्जले जनाएको छ । बाघ गणनामा राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, डब्लुडल्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोग रहनेछ । राष्ट्रिय बाघ गणना हरेक ४ वर्षमा हुने गर्दछ । सन् २०२२ देखि २०२५ सम्म आइपुग्दा मानव–बाघ द्वन्द्व, मानवीय प्रतिशोध, जंगलमा द्वन्द्वमा परेर निकुञ्जले खोरमा राखेका घाइते बाघ गरी करिब ६ देखि ८ वटा बाघले अकालमा ज्यान गुमाएका छन् ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जका बाघ नयाँ बासस्थानको खोजीमा पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्ने गर्दछन् । पर्सा राष्ट्रिय निकुञ्जले बाघ गणनापछि आउने तथ्याङ्कको आधारमा मानव र बाघ बिचको द्वन्द्व न्यूनीकरणका लागि जनतासँग जोडिएका कार्यक्रम ल्याउने जनाएको छ ।




