News

चितवन, पुष २६ 

१५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ । महोत्सवको तेश्रो दिन भोलि पुष २७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदै छ । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ११ः३० बजे म्याग्नेट सोलको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको जादु देखाइने छ । त्यसैगरी २ बजेबाट कलाकारहरु हेमन्त शर्मा र एलिना चौहानको प्रस्तुती रहने छ ।
यससँगै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, तमु विद्यार्थी छोंज धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवन, चितवन डान्स सेन्टर नारायणगढ, नेपाल कुमाल समाज चितवनको प्रस्तुती र रो। प्रज्जु पौडेलको एकल नृत्य समेत रहने छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।


पौष २६, चितवन । तस्विर कोमल चन्द्र भगत ।  नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको केन्द्रीय अध्यक्षमा डेकनाथ गौतम चयन भएका छन् । नवलपुरको गैंडाकोटमा सम्पन्न सो संगठनको तेस्रो राष्ट्रिय महाधिवेशनले गौतम अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको बरिष्ठ उपाध्यक्षमा भरत तिमिल्सिना, उपाध्यक्षमा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका यातायात व्यवसायी शंकर गिरी, नवराज सिंह, जगन्नाथ प्रसाद कलवार, सन्तप्रसाद तिमिल्सिना, भिम बहादुर बस्नेत, महासचिवमा बसन्त भण्डारी, उपमहासचिवमा देविन श्रेष्ठ, भरत नेपाल, इन्द्रबहादुर पुन चयन भएका छन् । त्यसैगरी संगठनको सचिवमा लब कुमार केसी, नारायण घिमिरे, ज्ञानबहादुर केसी, राजन कँडेल, मन्जु बस्नेत, लब केसी, बल बहादुर भण्डारी र कोषाध्यक्षमा ज्ञानेन्द्र हुमागाई चयन भएका छन् ।

त्यसैगरी अनुसासन आयोगको संयोजकमा केशब नेपाल, लेखा परीक्षण संयोजकमा यादवलाल श्रेष्ठ र निर्बाचन आयोज संयोजकमा योगकुमार यादव चयन भएका छन् । कार्यक्रममा महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका शंकर गिरी सहित संगठनका संस्थापक अध्यक्ष कृष्ण अधिकारी, व्यवसायीहरु सरोज श्रेष्ठ, कृष्ण सुवेदीलाई सम्मान गरिएको थियो । यातायात क्षेत्रको विकासमा योगदान गरेको भन्दै गिरी सहित अधिकारी, श्रेष्ठ र सुवेदीलाई सम्मान गरिएको हो । वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गरेको उक्त महाधिवेशनमा ७०० बढी व्यवसायीहरु सहभागी थिए । कार्यक्रम संगठनका निर्वतमान अध्यक्ष श्रीप्रसाद मैनालीको अध्यक्षतामा भएको थियो ।

 

चितवन, पुष २५ ।
१५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो ।

महोत्सवको आज संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । राबोटिक प्रणालीबाट महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले महोत्सवको सफलताको कामना गरे । महोत्सवले आर्थिक चलायमान गराउन सहयोग पु¥याउने बताउँदै मन्त्री भण्डारीले स्थानीय तथा स्वदेशी उत्पादनको प्रदर्शन र बिक्रीलाई महोत्सवमा प्राथमिकता दिन आग्रह गरे । उनले स्वदेशी उत्पादनलाई बढाउनका सरकारले नयाँ केही गर्न खोजिरहेको बताए । यसका विविध विषयमा केन्द्रीत रहेर अहिले सरकारले छलफल गरिरहेको मन्त्री भण्डारीको भनाइ छ । नीजि क्षेत्रलाई व्यावसाय गर्न थप सहज बनाउन र विदेशी लगानी कर्तालाई आकर्षित गर्ने वातावरण तय गर्नतर्फ सरकार विशेष ध्यान दिएर लागिरहेको उनले बताए ।

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले चितवन महोत्सवमा चितवनका उत्पादन छन् वा छैनन् भन्ने कुरा बढी महत्वपूर्ण हुने बताउँदै यसतर्फ सचेत हुन आयोजकलाई आग्रह गरे । चितवनका स्थानीयको जीवनस्तर उकास्न र यहाँको आर्थिक उन्नती गर्न यस महोत्सवले भूमिका खेलोस् भन्ने कामना गर्दै मन्त्री सिलवालले चितवनको महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले उद्घाटनको सुरुमा बोल्दै महोत्सवका विविधि विषयमा जानकारी गराएका थिए ।

महोत्सवले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको श्रेष्ठले बताए । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको उनले उद्घाटन समारोहमा जानकारी गराए ।

‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइएको श्रेष्ठले बताए । यस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने श्रेष्ठले जानकारी गराए ।

अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने श्रेष्ठको भनाइ छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठ बताउँछन् स्वदेशी र विदेशी उत्पादक तथा बिक्रेतासहित महोत्सवमा अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहको छ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिएको छ । महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहेका छन् ।

महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । उद्घाटन अवधिभर निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । चितवन महोत्सव प्रत्येक दुई वर्षमा आयोजना गरिँदै आइएको छ ।

उद्घाटन समारोहमा चितवनका पालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, चितवनका पूर्व सांसद, राजनैतिक दलका जिल्ला नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

आज महोत्सवको उद्घाटन अघि बिहान ७ बजेबाट शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा विभिन्न जातजातीहरु आआफ्ना भेषभुषामा सजिएका थिए । विभिन्न सामाजिक संघ संस्था, जाती निकट संघसंस्था, विद्यालय, सुरक्षा निकायसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको थियो । घोडा, हात्ती, बाजा गाजासहित निकालिएको शोभा यात्रा करिब २ किलोमिटरसम्म लामो बनेको थियो । नारायणगढको मेनरोड, मिलन रोड र बजारमा र्याली निकालिएको थियो ।

Subcategories